कोरोना भाइरस महामारीः ब्रजिलका राष्ट्रपति बोल्सोनारूले गरेका केही विवादास्पद टिप्पणी यस्ता छन्

बोल्सोनारू
Published

कोरोनाभाइरस महामारीको फैलिन थालेदेखि नै ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारूले कोभिड-१९ ले निम्त्याएको खतरालाई कम आँक्दै आएका थिए।

ब्रजिलमा बिहीवार बिहानसम्म कोरोनाभाइरसका कारण झन्डै ६८,००० व्यक्तिले ज्यान गुमाइसकेका छन् भने १७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

बोल्सोनारूले स्वास्थ्य अधिकारीहरूले जारी गरेका निर्देशिकासँग बाझिने खालका सार्वजनिक अभिव्यक्ति दिने गरेका छन्।

त्यसका साथै सामाजिक दूरीसम्बन्धी सुझावको पनि उनले पटकपटक उल्लङ्घन गरेका छन्।

चरम दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार एउटा पत्रकार सम्मेलनमार्फत् घोषणा गरे।

कोरोनाभाइरस महामारीबारे ब्राजिलका यी राष्ट्रपतिले दिएका केही विवादास्पद अभिव्यक्तिहरू यस्ता छन्

'बढाइचढाइ'

कोरोनाभाइरस महामारीबारे दिएका प्रारम्भिक अभिव्यक्तिमध्ये संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा उनले सञ्चारमाध्यमहरूले कोभिड-१९ बारे बढाइचढाइ गरेको आरोप लगाए।

माईयामीमा आयोजित एउटा कार्यक्रममा उनले भने, “कोरोनाभाइरससम्बन्धी विषय पनि छ जसबारे मेरो विचारमा बढाइचढाइ गरी प्रस्तुत गरिँदैछ।”

बोल्सोनारू र ट्रम्प दुवैले कोरोनाभाइरस महामारीबारे विवादास्पद टिप्पणी गरेका छन्
तस्बिरको क्याप्शन, बोल्सोनारू र ट्रम्प दुवैले कोरोनाभाइरस महामारीबारे विवादास्पद टिप्पणी गरेका छन्

त्यसको दुई दिनपछि सङ्घीय सरकारका २० जना अधिकारीमा कोरोनाभाइरस सङ्क्रमण भएको देखियो।

तीमध्ये अमेरिका भ्रमणका लागि उनीसँग गएका केही व्यक्ति पनि थिए।

‘सामान्य रुघाखोकी’

दुई हप्तापछि विश्वका धेरै मुलुकहरू लकडाउनमा हुँदा बोल्सोनारूले विद्यालय तथा व्यापार-व्यवसायहरू बन्द गरिएकोमा आलोचना गरे।

कोरोनाभाइरसलाई ‘सामान्य रुघाखोकी’ भन्दै उनले आफूलाई सङ्क्रमण हुने कुराबाट डर नभएको बताए।

“आक्रमण गर्दैमा यो सामान्य रुघाखोकीले मलाई ढाल्न सक्दैन,” सन् २०१८ को अर्को चरणको राष्ट्रपतीय चुनावका बेला गरिएको चक्कु आक्रमणसँग जोड्दै उनले भने।

‘हामीभन्दा अरूलाई बढी असर’

अरू ठाउँका तुलनामा वृद्धवृद्धाको जनसङ्ख्या कम भएकोले ब्रजिललाई यो महामारीलाई नछुने बोल्सोनारूले दाबी गरे।

“अरू मानिसहरू हामीभन्दा बढी प्रभावित हुनेछन्। युरोपमा हामीभन्दा वृद्धवृद्धाको जनसङ्ख्या बढी छ,” उनले भने।

बोल्सोनारूले समर्थकहरूलाई अस्पतालमा भएर सघन उपचार कक्षमा बिरामीहरू भरिएको वा नभरिएको हेर्न भनेका थिए
तस्बिरको क्याप्शन, बोल्सोनारूले समर्थकहरूलाई अस्पतालमा भएर सघन उपचार कक्षमा बिरामीहरू भरिएको वा नभरिएको हेर्न भनेका थिए

जुलाई ८ तारिखसम्मको कुरा गर्दा कोरोनाभाइरसबाट मर्ने र सङ्क्रमित हुनेको सङ्ख्याको हिसाबले ब्रजिलभन्दा अमेरिका मात्र अगाडि छ।

‘भित्र गएर भिडिओ खिच्नू’

जुन १९ १२ तारिखमा बोल्सोनारूले विवादास्पद रूपमा आफ्ना समर्थकहरूलाई क्यामरासहित अस्पतालभित्र छिरेर सघन उपचार कक्षहरूको अवस्थाबारे भिडिओ बनाउन भने।

“भित्र पस्ने बाटो खोज्नुहोस् र भिडिओ खिच्नुहोस्,” एउटा लाइभ स्ट्रीमका क्रममा उनले भने।

“ती शय्याहरूको उपयोग भइरहेको छ वा छैन भन्ने हामीले हेर्नुपर्छ।”

मार्च महिनादेखि बोल्सोनारूले कमजोर स्वास्थ्य अवस्था भएकाहरूलाई मात्रै आइसोलेशनमा राख्नुपर्ने बताउँदै आएका छन्।

ब्रजिल अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा छ
तस्बिरको क्याप्शन, ब्रजिल अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा छ

गत एप्रिल महिनामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या चीनमा भन्दा ब्रजिलमा बढी भयो।

'जीवन चलिरहन्छ'

त्यो दिन देखिएको सङ्क्रमितको सङ्ख्याबारे पत्रकारले सोध्दा उनले भने, “उसोभए के त? मलाई माफ गर्नुहोस्। तपाईँ मबाट के चाहनुहुन्छ? म मसीहा त हुँ, तर कुनै जादु गर्न सक्दिनँ।”

उनको पूरा नाम जाइर मसीहा बोल्सोनारू हो।

बोल्सोनारू प्रायः मास्क लगाउँदैनथे
तस्बिरको क्याप्शन, बोल्सोनारू प्रायः मास्क लगाउँदैनथे

राष्ट्रपति बोल्सोनारूले मे ७ तारिखका दिन ब्राजिलियास्थित आफ्नो घरमा ३० जना व्यक्तिलाई सेकुवा खुवाउने घोषणा गर्दै गर्दा ब्रजिलमा करिब ९,००० को ज्यान गइसकेको थियो भने १,३५,००० जना सङ्क्रमित भएका थिए।

“मैले अपराध गरिरहेको छु किनकि म सेकुवा खाइरहेको छु,” पत्रकारहरूलाई उनले भने।

त्यसको दुई दिनपछि उनले बोली फेरेको देखियो। बोल्सोनारूले त्यो ठट्टा भएको बताए।

आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको घोषणा गरेको दिन बोल्सोनारूले “थकान, छटपटी तथा मांसपेशीमा दुखाइ” महसुस भएको बताए।

त्योसँगै उनले भने, “तर आत्तिनुपर्दैन। जीवन चलिरहन्छ।”

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर