यमन युद्धः ब्रिटेनले साउदी अरबलाई कति हतियार बेच्छ र यो विषय किन विवादित छ

साउदी अरबको नेतृत्वमा हुने आक्रमणहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन नगर्ने ब्रिटेनको मान्यता छ
तस्बिरको क्याप्शन, साउदी अरबको नेतृत्वमा हुने आक्रमणहरूले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन नगर्ने ब्रिटेनको मान्यता छ
Published

यमनमा जारी युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेको र सर्वसाधारणहरूको मृत्युको सङ्ख्या बढिरहेका बेला साउदी अरबलाई हतियार बेचेका कारण यूकेमा दबाव बढेको छ।

यो विवादबारे जानकारी दिन सात महत्त्वपूर्ण प्रश्नका उत्तर यहाँ प्रस्तुत गरिन्छ।

यी तीन देशलाई के कुराले एक ठाउँमा ल्याउँछ?

साउदी अरब विश्वको सबैभन्दा ठूलो हतियार खरिदकर्ता हो। उसले छिमेकी राष्ट्र यमनका विद्रोहीहरूलाई परास्त गर्न हवाई आक्रमण गरिरहेको छ।

यमन अरब राष्ट्रमध्ये सबै भन्दा गरिब राष्ट्र हो।

एउटा प्रतिवेदनमा आफूलाई विश्वको दोस्रो ठूलो हतियार विक्रेताका रूपमा व्याख्या गरेको यूकेले साउदी अरबलाई ४० प्रतिशतभन्दा बढी हतियार बेच्ने गरेको अनुमान गरिएको छ।

राष्ट्रसङ्घले यमनमा सबैभन्दा नराम्रो मानवीय सङ्कट भएको बताएको छ
तस्बिरको क्याप्शन, राष्ट्रसङ्घले यमनमा सबैभन्दा नराम्रो मानवीय सङ्कट भएको बताएको छ

यमनको अवस्था कस्तो छ?

ब्रिटेनका विपक्षी दलका नेता तथा अभियानकर्ताहरूले निकै लाभजनक यो कारोबारले यमनमा पारेको प्रभावबारे प्रश्न गरिरहेका छन्।

यमनमा निकै गम्भीर मानवीय सङ्कट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसङ्घले बताइरहेको छ।

मार्च २०२० सम्ममा त्यहाँ ७,७०० सर्वसाधारण नागरिकले ज्यान गुमाएको राष्ट्रसङ्घले पुष्टि गरेको छ।

उनीहरूको मृत्यु साउदी अरब नेतृत्वमा भएको गरेको गठबन्धनले गरेको हवाई हमलाका कारण भएको उसको भनाइ छ।

अन्य निकायहरूको तथ्याङ्कले मृतकको सङ्ख्या अझ बढी देखाउँछ। यमनको ८० प्रतिशत जनसङ्ख्यालाई मानवीय सहायता र सुरक्षाको आवश्यकता भएको बताइएको छ।

ब्रिटिश सरकारको भनाइ के छ?

केही समयअघि अधिकारवादीहरूले ब्रिटिश सरकारविरुद्ध ठूलो जित हात पारेका थिए।

उनीहरूले अदालतको निर्णयका आधारमा साउदी अरबलाई हात हतियार निर्यातमा रोक लगाएका थिए र यमनमा अन्तर्राष्ट्रिय कानुनको "गम्भीर उल्लङ्घन" बारे समीक्षा गर्न दबाव दिएका थिए।

त्यसको करिब एक वर्षपछि ब्रिटेनको सरकारले त्यसबारे आफ्नो मूल्याङ्कन सम्पन्न गर्‍यो र हतियार विक्री पुनः सुरु गर्ने घोषणा गर्‍यो।

आलोचकहरू के भन्छन्?

विपक्षी लेबर दलकी एमली थोर्न्बेरीले सरकारको निर्णयले "ब्रिटेनको मानव अधिकारको रक्षक" भनिने दाबी को अवमूल्यन गरेको भन्दै पछिल्लो निर्णय "नैतिक रूपमा अनुचित" रहेको बताइन्।

तर यूकेको रोयल एअर फोर्सले भने आफ्ना कारण एउटा मात्रै मानवीय क्षति भएको बताएको छ।

मध्यपूर्वमा हवाई आक्रमणमा पर्ने सर्वसाधारणहरूबारे जानकारी राख्ने यूकेस्थित एउटा अनुगमन समूहले ८,००० देखि १३,००० मानिसको मृत्यु भएको अनुमान गरेको छ।

उसले सर्वसाधारणको मृत्युबारे ब्रिटेनको विवरण राख्ने पद्धति "असङ्गत" रहेको बताएको छ।

ब्रिटेनले साउदी सरकारलाई सैन्य परामर्श र तालिम पनि दिन्छ
तस्बिरको क्याप्शन, ब्रिटेनले साउदी सरकारलाई सैन्य परामर्श र तालिम पनि दिन्छ

कति रकमको कुरा हुँदैछ?

द क्याम्पेन अगेन्स्ट आर्म्स ट्रेडका अनुसार यूकेले सन् २०१५ यता ५.३ अर्ब पाउन्ड बराबरको हतियार साउदी अरबलाई बेचेको छ।

उक्त समूहका अनुसार त्यही समयमा साउदी गठबन्धनमा रहेका मुलुकहरूलाई अर्बौँ पाउन्ड बराबरको हतियार बेचबिखनबारे सम्झौता गरेको छ।

तर उक्त संस्थाका अनुसार यो अङ्कमा मर्मत र प्राविधिक सहायता लगायतका विभिन्न विषयबाट हुने नाफा जस्ता विषय समाविष्ट छैन।

साउदी अरबले नेतृत्व गरेको गठबन्धनलाई युद्ध सुरु हुँदादेखि हालसम्म गरिएको हतियार विक्री "कम्तीमा १६ अर्ब पाउन्ड" (२० अर्ब अमेरिकी डलर भन्दा बढी) रहेको द क्याम्पेन अगेन्स्ट आर्म्स ट्रेडले अनुमान गरेको छ।

के यूकेले मात्रै हतियार बेचिरहेको छ?

ब्रिटेनका सहयोगी राष्ट्रहरूले साउदी अरबलाई बेच्ने हतियारको सङ्ख्याका तुलनामा यूकेले पाएको ठेक्का भने कम हो।

हूथी विद्रोहीहरूले युद्धविराम नमान्ने बताएका छन्
तस्बिरको क्याप्शन, हूथी विद्रोहीहरूले युद्धविराम नमान्ने बताएका छन्

सन् २०१५ देखि २०१९ सम्म साउदी अरबले खरिद गरेको हतियारमध्ये ७३ प्रतिशत अमेरिकाबाट आयात गरिएको स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिट्यूटले जनाएको छ।

दोस्रो स्थानमा ब्रिटेन छ जसले १३ प्रतिशत हतियार बेचेको छ भने ४.३ प्रतिशत हतियार बेचेको फ्रान्स तेस्रो स्थानमा छ।

उक्त संस्थाका एक वरिष्ठ शोधकर्ताका अनुसार विगत पाँच वर्षमा अमेरिकाले गरेको हतियार निर्यातको आधा मध्यपूर्वी राष्ट्रहरूमा गरिएको छ भने आधा साउदी अरबमा।

यमनमा २० लाख बालबालिक कुपोषणको सिकार भएको अनुमान छ
तस्बिरको क्याप्शन, यमनमा २० लाख बालबालिक कुपोषणको सिकार भएको अनुमान छ

भविष्य कस्तो देखिन्छ?

फाइन्यान्शल टाइम्समा प्रकाशित लेखमा ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले ब्रिटेनले यमनमा शान्ति ल्याउने प्रयास गरिरहेको र मानवीय सहायताका कोसिसमा सहयोग गरिरहेको उल्लेख गरेका छन्।

यमनमा युद्धविरामको आह्वान गर्दै ब्रिटेन, जर्मनी र स्वीडनले राष्ट्रसङ्घको कार्यलाई सहयोग गर्न थप ३६.५ करोड अमेरिकी डलर दिने वाचा गरेको राबले उल्लेख गरेका छन्।

अहिले हैजाबाहेक यमन कोभिड-१९ महामारीसँग जुझिरहेको छ।

गत एप्रिलमा साउदी अरबले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण एकपक्षीय युद्धविरामको घोषणा गरेको थियो।

साउदी अरब ब्रिटेनको एउटा महत्त्वपूर्ण साझेदार हो
तस्बिरको क्याप्शन, साउदी अरब ब्रिटेनको एउटा महत्त्वपूर्ण साझेदार हो

तर हूथी विद्रोहीहरूले त्यसलाई मानेनन्।

यति बेला गतिरोध जारी छ र राष्ट्रसङ्घले युद्धबाट हुने क्षति अन्य क्षतिको तुलनामा कम देखिन सक्ने जनाएको छ।

राष्ट्रसङ्घका अनुसार महामारीका कारण हुने मृत्यु "पछिल्लो पाँच वर्षमा युद्ध, रोग र भोकमरीका कारण भएका कुल मृत्यु सङ्ख्याभन्दा बढी हुनसक्छ।"

कोरोनाभाइरसका कारण ठूलो सङ्ख्यामा मान्छे मर्ने राष्ट्रसङ्घको आकलन छ
तस्बिरको क्याप्शन, यमनमा कोरोनाभाइरसका कारण ठूलो सङ्ख्यामा मान्छेहरूको मृत्यु हुने राष्ट्रसङ्घको आकलन छ