कोरोना भाइरस नेपाल: जेठ ५ सम्म लकडाउन लम्बियो, उडान र सीमा जेठ १८ सम्म बन्द

लकडाउनका बेला पोखराको सभागृहचोकबाट ठेलामा तरकारी लिएर बेच्न लगिँदै
तस्बिरको क्याप्शन, लकडाउनका बेला पोखरामा ठेलामा तरकारी बेच्न लगिँदै
Published

सरकारले थप १० दिन देशव्यापी लकडाउन बढाउने निर्णय गरेको छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ५ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बीबीसी न्यूज नेपालीलाई बताइन्।

कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले चैत ११ देखि देशभरि अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाएको थियो।

त्यसपछि लकडाउनको अवधि पटकपटक थप गरिएको थियो। यसअघि १० दिन थपिएको लकडाउनको अवधि बिहीवार मध्यरातसम्म कायम थियो।

सरकारले आगामी बुधवार (वैशाख ३१) सम्म अन्तर्राष्ट्रिय सीमा बन्द राख्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो।

अहिले सरकारले सबै अन्तर्राष्ट्रिय सीमा तथा व्यावसायिक उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

थप कडाइ गरिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार सरकारले लकडाउनमा अझै कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ।

लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो अवधिमा कस्ता व्यवसाय गर्न पाइने र कस्ता सवारीसाधनलाई सञ्चालन गर्ने दिने भन्ने विषयमा सूची पनि तयार पारिएको उनले बीबीसी न्यूज नेपालीलाई बताए।

केपी शर्मा ओली
तस्बिरको क्याप्शन, बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो

सरकारले पाँचौँ पटक लकडाउनको अवधि बढाएको हो।

छिमेकी देश भारतले लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्‍याएको छ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढिरहेको छ। मङ्गलवार भारतमा झन्डै ४,००० नयाँ सङ्क्रमित फेला परेका थिए।

एकै दिनमा सङ्क्रमित पुष्टि भएको त्यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो। केही राज्यले ढिलो तथ्याङ्क दिएकाले सङ्ख्या बढेको बताइएको छ।

नेपाल कोरोानाभाइरस

नेपालमा लकडाउन लगाइएपछि धेरै कोरोनाभाइरस सङ्क्रमित व्यक्ति फेला परेका हुन्।

तातोपानी
तस्बिरको क्याप्शन, अहिले भारत र चीनसँगका सीमानाका पनि बन्द छन्

मन्त्री अर्यालले बिहीवार साँझ देशभरि दीप प्रज्वलन गर्ने निर्णय गरिएको जानकारी दिइन्।

बुद्ध जयन्तीको अवसर पारेर कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गर्न परिचालित सबैप्रति सम्मान प्रकट गर्न, बिरामीको स्वास्थ्यलाभको कामना गर्न तथा दिवङ्गत व्यक्तिको आत्माको शान्तिका लागि बिहीवार साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारले आह्वान गरेको हो।

सरकारले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपालको अवस्था

अहिलेसम्म नेपालका सातमध्ये छवटा प्रदेशमा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्।

बुधवार थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको कुल सङ्ख्या ९९ पुगेको छ।

Coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस

वैशाख २४ बुधवार अपराह्ण ४:३० बजेसम्म प्राप्त तथ्याङ्क

  • ९९कुल सङ्क्रमित

  • ‌‌+१७अघिल्लो दिनबाट वृद्धि

  • ३जना निको भएका व्यक्तिमा फेरि भाइरस देखियो

  • १४,०९६वटा परीक्षण - पीसीआर विधिबाट

  • १९,७३४जना देशभरि क्वारन्टीनमा

  • १३६जना चिकित्सकीय निगरानीमा अलग्गै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

रोगमुक्त भएको बताइएका २२ मध्ये तीन जनामा पुनः परीक्षण गर्दा कोरोनाभाइरस देखिपछि उनीहरूलाई फेरि अस्पताल भर्ना गरिएको छ।

विराटनगरस्थित कोशी अस्पतालमा राखिएका ३१ सङ्क्रमितमध्ये छ जना निको भएपछि बुधवार बिहान अस्पतालबाट बिदा भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभरि १९,७३४ व्यक्ति क्वारन्टीनमा छन्।

बुधवार अपराह्णसम्म पीसीआर विधिबाट १४,०९६ वटा परीक्षण गरिएको थियो।

कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: मानिसमा किटनाशक छर्ने कार्यको आलोचना
कोरोनाभाइरस ब्यानर