क्रिकेट: पन्ध्र वर्षीय शेफाली वर्माले सचिन तेन्दुलकरको कीर्तिमान तोडिन्

शेफाली वर्मा
Published

भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोहोर्‍याएकी छन्।

शनिवार शेफाली वर्माले वेस्ट इन्डिज विरुद्धको टी-२० क्रिकेट खेलमा ४९ बलमा ७३ रन बनाएर सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी थिइन्।

पाँच खेलको श्रृङ्खलाको दोस्रो खेलमा आइतवार उनले ३५ बलमा ६९ रन बनाउँदै भारतलाई १० विकेटको जीत दिलाइन्।

शनिवार उनले ३० वर्षदेखि क्रिकेट उत्कृष्ट खेलाडी मानिने तेन्दुलकरको नाममा रहेको सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान तोडेकी थिइन्।

त्यस्तो कीर्तिमान बनाउँदा तेन्दुलकरको उमेर १६ वर्ष २४१ दिन थियो। सन् १९८९ मा फैसलावादमा भएको खेलमा पाकिस्तान विरुद्धको टेस्ट श्रृङ्खलामा उनले अर्धशतक प्रहार गरेका थिए।

वर्माले भने सो कीर्तिमान १५ वर्ष २८५ दिनमा बनाएकी हुन।

गत अक्टोबरमा दक्षिण अफ्रिका विरुद्धको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेकी थिइन।

टी-२० क्रिकेटमा खेल्ने उनी सबैभन्दा कम उमेरकी भारतीय खेलाडी हुन्। उक्त खेलमा वर्माले ४६ रन बनाएकी थिइन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान यूएईका काविसा इगोडाबेको नाममा छ जसले १५ वर्ष २६७ दिन हुँदा अर्धशतक बनाएकी थिइन्।

रोतक गाउँमा हुर्केकी वर्मा महिलाहरूका लागि क्रिकेट खेल्न आवश्यक व्यवस्था नभएको हुँदा पुरुषको पोसाक लगाएर क्रिकेट एकेडेमी जान्थिन।

उनले आफू तेन्दुलकरबाट प्रभावित भएर क्रिकेट खेल्न थालेको बताएकी छन्।