ट्रम्पः हामी ब्रिटिश राजदूतसँग व्यवहार गर्दैनौँ

ट्रम्प
तस्बिरको क्याप्शन, ट्रम्प
Published
पढ्ने समय: १ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कप्रति थप आक्रामक बन्दै उनीसँग आफूहरूले व्यवहार नगर्ने बताएका छन्।

ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले ब्रिटिश प्रधानमन्त्री टरिजा मेको पनि आलोचना गरेका छन्।

ब्रिटेनले छिट्टै नयाँ प्रधानमन्त्री पाउने कुरा "सुखद समाचार" भएको टिप्पणी पनि उनले गरेका छन्।

आइतवार चुहावट भएको आफ्नो इमेलमा सर किमले ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम रहेको बताएका थिए।

अस्वीकार्य

प्रधानमन्त्री मेले आफूलाई सर किममाथि "पूर्ण विश्वास" रहे पनि उनीसँग सहमत हुन नसकिने बताएकी छन्।

मेका प्रवक्ताले इमेल चुहावट प्रकरण "एकदमै अस्वीकार्य" भएको बताएका छन् र प्रधानमन्त्रीको कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जनाएका छन्।

इमेल चुहावटप्रति यसअघि नै प्रतिक्रिया जनाइसकेका ट्रम्पले "आफूहरू ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले यूकेको पनि राम्ररी सेवा नगरेको" भनी टिप्पणी गरेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सोमवार शृङ्खलाबद्ध ट्वीटहरू गर्दै ट्रम्पले सर किमलाई "अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको" भनेका छन्।

राजदूतलाई समर्थन गरेकोमा मेप्रति पनि आक्रोश पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको बताएका छन्।

महत्त्वपूर्ण

बीबीसीका कूटनीतिक संवाददाता जेम्स लेन्डेल आफ्नो विश्लेषणमा भन्छन्, सर किम डार्कसँग व्यवहार नगर्ने भनेर ट्रम्पले खासमा ब्रिटिश राजदूत स्वीकार्य व्यक्ति नभएको बताइरहेका छन्।

त्यो भनेको औपचारिक कानुनी प्रक्रियामार्फत् कुनै पनि देशले राजदूतलाई उसको मुलुक फिर्ता पठाउन खोज्नु हो।

तर "व्यवहार" नगर्ने भनेर ट्रम्पले खासमा के भन्न खोजेका हुन् भन्ने कुरा महत्त्वपूर्ण प्रश्न हो।

सर किम
तस्बिरको क्याप्शन, सर किम

यदि उनले "हामी" भन्ने शब्द आफू र आफ्नो समग्र प्रशासनका लागि प्रयोग गरेका हुन् र अब उनीहरूले सर किमसँग व्यवहार गर्ने छैनन् भन्न खोजेका हुन् भने ब्रिटेनले द्रुत प्रक्रियामार्फत्‌ आफ्ना राजदूतलाई बिदा गर्नुपर्ने हुन्छ।

सर किम एक सम्मानित व्यक्ति हुन् र प्रधानमन्त्री मेको राजीनामा आइसकेको पृष्ठभूमिमा उनले केही महिनाभित्र राजीनामा दिन सक्छन्।