नेपालमा भन्दा पछि मताधिकार पाएका स्विट्जरल्यान्डका महिला फेरि किन आए सडकमा?

Published

स्विट्जरल्यान्डका महिलाहरूले "समानतातिरको धीमा गति" विरुद्ध सडकमा प्रदर्शन गरेका छन्।

जुलुश
तस्बिरको क्याप्शन, राजधानी बर्न लगायतका शहरमा शुक्रबार समानताका लागि प्रदर्शन भएका थिए

२८ वर्ष अघि सन् १९९१ मा यस्तै 'कारवाही'का लागि महिलाहरू सडकमा निस्केका थिए।

स्वीस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन्।

सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका थिए। तर उनीहरूले सन् १९७१ मा मात्र त्यो अधिकार प्राप्त गरे। नेपालमा भने २००७ सालको परिवर्तन पछि नै महिलाहरूले मतदानको अधिकार पाएका थिए।

सन् १९९१ को हडतालका बेला स्वीस सरकारमा कोही पनि महिला थिएनन् र त्यहाँ सुत्केरी बिदाको कानुनी व्यवस्था पनि थिएन।

र स्विट्जरल्यान्डको सर्वोच्च अदालतले 'अप्पेनजेल क्यान्टन'लाई महिलाहरूलाई मतदानको अधिकारको रोक फुकाउन आदेश दिएको थियो।

कति प्रगति भयो स्विट्जरल्याण्डमा?

महिला प्रदर्शन

केही परिवर्तन भएको छ: अहिलेसम्म आठजना महिला मन्त्री बनेका छन्। सुत्केरी बिदाको कानुनी व्यवस्था गरिएको छ।

तर अहिलेपनि स्विट्जरल्यान्डमा पुरुषको तुलनामा महिलाहरू २० % कम तलब पाउँछन्। व्यवस्थापकीय ओहोदामा उनीहरूको प्रतिनिधित्व कम छ। बच्चाहरूको हेरचाह महँगो छ र सेवा दिने मानिसहरू पनि कम छन्।

गत महिना आइएलओले गरेको सर्वेक्षणमा महिला र पुरुषबीचको तलबबारे सूचीको अन्त्यतिर राखेको थियो।

सन् १९२० को प्रदर्शन
तस्बिरको क्याप्शन, सन् १९२० मा पनि काममा समान अधिकारका लागि महिलाहरूले विरोध गरेका थिए

पत्रकार बीटराइस बोर्नले सन् १९९१ मा सडकमा जाँदा ६ महिनाकी गर्भवती थिइन्। उनी फेरि सडक प्रदर्शनमा सहभागी बन्नुपरेको छ।

उनले भनिन्, "म बच्चा जन्माएर काममा फर्कँदा सबैजना स्तब्ध भए। कसैले पनि पूर्णकालीन काम गर्ने गरि म फर्कुँला भन्ने सोचेको थिएन जस्तो थियो।"

सन् १९९१ र अहिलेको दुवै प्रदर्शनमा सहभागी पाओला फेरोले गत २८ वर्षमा केही प्रगती भएको तर तलबमा भेदभाव रहेको बताइन्। त्यहाँ पुरुषले भन्दा महिलाले ३७ प्रतिशत पेन्सन कम पाउँछन् किनभने महिलाले काम छोडेर बच्चा हुर्काउने काममा लाग्दा पेन्सनमा उनीहरूको योगदान नै कम हुन जान्छ।

गत वर्ष त्यहाँको संसद्‍ले समान ज्यालामा थप कडाइ गर्ने भनेपछि विरोध गर्ने कुरा उठेको थियो।

सन् १९२० को प्रदर्शन

सामाजिक सञ्जालको प्रयोग

सामाजिक सञ्जाल पछिल्ला वर्षहरूमा शक्तिशाली र छिटो कुरा उठाउने माध्यमका रुपमा प्रयोग हुँदै आएका छन्। विरोध प्रदर्शनको सूचना प्रवाहका लागि पनि सामाजिक सञ्जाल प्रयोग हुँदै आएका छन्।

उनको देशमा पहिलो विरोध प्रदर्शन हुँदासम्म नजन्मेकी नादिन कानुनकी विद्यार्थी हुन्।

उनी भन्छिन्," यसरी हडताल हुनु राम्रो कुरा हो । किनभने मानिसहरूले महिलाहरूले अहिलेको समयमा पनि भोग्नुपरेका असमानताबारे थाहा पाउनेछन्। जस्तो कि हामी समान ज्याला पाउँदैनौँ। अझै पनि कति कामको प्राथमिकतामा पुरुषलाई राखिएको छ। "

विरोध प्रदर्शनमा सहभागी २५ वर्षीया आइदाले भनिन्, "यो जे भइरहेको छ त्यसप्रति हामी सन्तुष्ट छैनौँ भनेर देखाउने बेला पनि हो।"

प्रदर्शन

महिलाहरू विरोध प्रदर्शनबाट केही उपलब्धि हुने ठान्छन् त?

"हामीसँग सुत्केरी बिदा छ। पुरुषमात्र रहेका सरकारमा अहिले महिला पनि आउन थालेका छन्। अहिले राजनीतिमा महिला स्वाभाविक भइसकेको छ। त्यसैले अहिले उठाइएको मुद्दा पनि सम्बोधन होलान्," पत्रकार बोर्नको विश्वाश छ।