कठुआ घटना: कश्मीरी बालिकाको बलात्कारपछि हत्यामा तीन जनालाई आजीवन कारावास

कठुआ
Published

भारतप्रशासित कश्मीरमा एक आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा ६ जना दोषी पाइएकामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ।

पठानकोटको फास्ट ट्र्याक अदालतले पूर्वसरकारी अधिकारी सन्जी रामलाई पनि आजीवन कारावासको सजाय सुनाएको हो।

प्रमाणको अभावमा उनका छोरालाई चाहिँ अदालतले रिहा गरेको छ भने दुई जना प्रहरीलाई पाँच-पाँच वर्षको सजाय सुनाएको छ।

सन्जी राम बाहेक परवेश कुमार, दुई विशेष प्रहरी अधिकारी दीपक खजुरिया र सुरेन्द्र वर्मा, प्रमुख कन्स्टेबल तिलक राज र सब-इन्स्पेक्टर आनन्द दत्तालाई पनि दोषी पाइएको छ।

प्रमाण नष्ट गरेको भन्दै अदालतले प्रहरी अधिकारीहरूलाई दोषी ठहर गरेको हो।

सन्जी राम राजस्व विभागका अवकाशप्राप्त अधिकारी हुन् भने दीपक खजुरिया विशेष प्रहरी अधिकारी हुन्। ती दुई बाहेक सन्जी रामका साथी परवेश कुमारलाई पनि आजीवन कारावासको सजाय सुनाइएको छ।

नाबालक पनि दोषी

गत वर्ष कश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी ती बालिकाको शव जङ्गलनजिकै भेटिएको थियो।

उनको बलात्कार र हत्या गरेको आशङ्कामा आठ व्यक्तिलाई पक्राउ गरिएको थियो।

सो कदमको विरोधमा दक्षिणपन्थी हिन्दू समूह तथा वकिलहरूले प्रदर्शन गरेपछि सो विषयले ठूलो चर्चा पाएको थियो।

जम्मू निर्भया

ती बालिकाकी आमाले दोषीमध्ये दुई जनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेकी थिइन्। अभियुक्तहरूले आफू दोषी नभएको दाबी गरेका थिए।

दोषी ठहर हुनेहरूमा एक नाबालक पनि छन्। ती नाबालकलाई भारतको कानुन अनुसार छुट्टै मुद्दा चलाइनेछ।

बालिकाकी आमाले सन्जी राम र प्रहरी अधिकारी दीपक खजुरियाले घटना गराएको भन्दै उनीहरूलाई फाँसी दिनुपर्ने माग राखेकी थिइन्।

बीबीसीसँग कुरा गर्दै उनले भनिन्, "छोरीको अनुहार सम्झेर म अहिले पनि बिथोलिन्छु, त्यो पीडाले मलाई कहिल्यै छोड्ने छैन। उसको उमेरका अरू केटाकेटी खेलेको देख्दा मेरो मुटु चिरिन्छ।"

ती बालिकामाथि भएको अत्याचारको विवरणले धेरैलाई विचलित बनाइदिएको थियो।

बलात्कारको विरोध

सत्तासीन भारतीय जनता पार्टीबाट मन्त्री रहेका दुई नेताहरूले आरोपितहरूको समर्थनमा निकालिएको र्‍यालीमा सहभागिता जनाएपछि भारतमा आक्रोश बढेको थियो।

सामाजिक सञ्जाल ट्विटरमा त्यसको र मूल घटनाको विरोधमा व्यापक निन्दा भयो। नेता, कलाकार, खेलाडी र सामाजिक जीवनमा ख्याति कमाएका धेरैले त्यस विषयमा टिप्पणी गरेका छन्।

कतिपयले ती बालिकाको मृत्युलाई केही वर्षअघि दिल्लीमा भएको २२ वर्षीया युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरेका थिए।

जग्गा विवाद

अभियुक्तहरू सबै घुमन्ते मुस्लिम समुदायसँग भूमिविवाद भएको स्थानीय हिन्दू समुदायका सदस्य हुन्।

पीडित बालिकाको परिवार हिमाली क्षेत्रमा आफ्नो भेडीगोठ राख्ने घुमन्ते समुदायको हो।

हिउँदमा उनीहरू प्राय: जम्मू उपत्यका हुँदै अन्यत्र जान्छन्। उनीहरूले सार्वजनिक वनलाई चरनका रूपमा प्रयोग गर्ने हुँदा स्थानीयवासीसँग द्वन्द्वको स्थिति उत्पन्न हुने गरेको छ।

आरोपित व्यक्तिहरूले भेडीगोठालाको सो समुदायलाई लखेट्न खोजेको हुनसक्छ।

जम्मूका वकिलहरूले ती आरोपितविरुद्ध मुद्दा दर्ता हुन नदिन प्रहरीलाई स्थानीय अदालतमा प्रवेश गर्न लाग्दा छेक्ने प्रयास गरेका थिए।