ओराङ्उटन तस्करी गर्न खोज्दा एक रुसी इन्डोनेशियाको बाली विमानस्थलमा पक्राउ

तस्करी हुन लागेको ओराङ्उटन
तस्बिरको क्याप्शन, भाले ओराङ्उटनलाई औषधि दिएर लट्ठ्याइएको थियो
Published

इन्डोनेशियाबाट एउटा ओराङ्उटन तस्करी गरेर बाहिर लैजान लागेको आशङ्कामा एक रुसी नागरिकलाई बालीमा पक्राउ गरिएको छ।

सुरक्षाकर्मीहरूले आन्द्रेई जेस्ट्कोभ नाम गरेका ती सन्दिग्ध व्यक्तिलाई बालीको डेन्पसार विमानस्थलमा शुक्रवार राति नियन्त्रणमा लिएका हुन्।

उनले बन्द गर्न मिल्ने एउटा डालोमा लट्ठ्याइएको एउटा भाले ओराङ्उटन लुकाएर लैजाने प्रयास गरेका थिए। सो भाले ओराङ्गुटन दुई वर्षे भएको बताइएको छ।

जेस्ट्कोभले अधिकारीहरूलाई आफूलाई सो ओराङ्उटन एकजना साथीले दिएको बताएका थिए। उनका अनुसार ती साथीले चाहिँ सो जनावर तीन हजार डलरमा किनेका थिए।

ओराङ्उटन संरक्षित जीव हो।

तस्करीको अभियोग प्रमाणित भए जेस्ट्कोभलाई पाँच वर्ष कारावासको सजाय हुन सक्छ।

बाली प्राकृतिक स्रोत संरक्षण निकायले सो ओराङ्उटनको हेरविचार गर्दैछ
तस्बिरको क्याप्शन, बाली प्राकृतिक स्रोत संरक्षण निकायले सो ओराङ्उटनको हेरविचार गर्दैछ

विमानस्थलस्थित क्वरन्टिन कार्यालयका एक अधिकारीका अनुसार ती सन्दिग्ध व्यक्तिले आफ्नो झोलामा अरू लट्ठ्याउने औषधि पनि बोकेका थिए।

ती अधिकारीलाई उद्धृत गर्दै जाकार्ता पोस्टले आफ्नो समाचारमा लेखेको छ - उनले दक्षिण कोरिया पुगेपछि उनी फेरि लट्ठ्याउने ओषधि दिने योजना भएको बताए।

उनको झोलामा दुईवटा जीवित गेको र पाँचवटा जीवित छेपारा पनि भेटिएको थियो।

आफूलाई अर्का रुसी साथीले ओराङ्उटन लगेर रुसमा पाल्न पाइने भनेर विश्वस्त पारेको जेस्ट्कोभले अधिकारीहरूलाई बताएका छन्।

अहिले बाली प्राकृतिक स्रोत संरक्षण निकायले सो ओराङ्उटनको हेरविचार गर्दैछ।

डालोमा ओराङ्उटन

इन्डोनेशियामा अवैध सिकार र किसानहरूका कारण ओराङ्उटन सङ्कटमा परेको छ।

सुमात्राका अनकन्टार जङ्गलमा पाइने तापानुनी ओराङ्उटन 'ग्रेट एप' वर्गका जीवमध्ये अतिसङ्कटापन्न प्रजाति भएको संरक्षणकर्मीहरू बताउँछन्।

ग्रेट एप वर्गमा ओराङ्उटन, गोरिल्ला, चिम्पान्जी र मानव पर्छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line