इन्डोनेशियाको टापुमा लोप भएको भन्ठानिएको सबैभन्दा ठूलो मौरी फेला पर्‍यो

वालिसज् जाइअन्ट बी
Published

लोप भएको भन्ठानिएको संसारकै सबैभन्दा ठूलो मौरी फेरि भेटिएको छ।

वयस्क मानिसको बूढी औँलाजत्रो ठूलो सो मौरी इन्डोनेशियाको एउटा टापुमा फेला परेको हो।

धेरै दिनको प्रयासपछि वन्यजन्तुविज्ञहरूले एउटा पोथी मौरी भेटेका हुन्। उनीहरूले उसको तस्बिर र भिडिओ पनि खिचेका छन्।

'वालिसज् जाइअन्ट बी' भनिने सो मौरीको वर्णन सर्वप्रथम सन् १८५८ मा ब्रिटिश अन्वेषक अल्फ्रिड रसल वालिसले गरेका थिए। पछि वालिसकै नामबाट सो मौरीको नामकरण गरियो।

वैज्ञानिकहरूले सन् १९८१ मा इन्डोनेशियाका तीन टापुहरूमा सो जातका मौरीका विभिन्न नमुना सङ्कलन गरेका थिए। त्यसपछि सो मौरी देखिएन।

तर गत वर्ष सोही जातको मौरीका दुईवटा नमुना अन्लाइनमा बेच्न राखिएको विवरण प्रकाशित भएको थियो।

वालिसज् जाइअन्ट बी
तस्बिरको क्याप्शन, सो प्रजातिको मौरीको एउटा नमुना देखाउँदै वाइमन

सो मौरी खोज्ने र तस्बिर खिच्ने उद्देश्य लिएर गत महिना एउटा टोलीले वालिसको पदचिह्न पछ्याउँदै इन्डोनेशियाको यात्रा गर्‍यो।

लोप भइसकेको भन्ठानिएको भीमकाय मौरी उडिरहेको देख्न पाउँदा अद्भुत अनुभूति भएको क्ले बोल्ट बताउँछन्।

उनी सो मौरीको जीवित अवस्थामै तस्बिर र भिडिओ खिच्ने अवसर पाउने पहिलो व्यक्ति हुन्।

"त्यो प्रजाति जिउँदो हुँदा कति सुन्दर र ठूलो हुन्छ भन्ने देख्न पाउनु, मेरो टाउको माथिबाट उड्दा उसले आफ्ना विशाल पखेटा फटफटाएको सुन्न पाउनु अविश्वसनीय लाग्छ।"

line

वालिसज् जाइअन्ट बी

  • यो मौरीको वैज्ञानिक नाम मेगकाइल प्लुटो हो
  • यसको पखेटाहरूको कुल लम्बाइ ६ इन्च हुन्छ र यो संसारकै सबैभन्दा ठूलो मौरी हो
  • पोथी मौरीले धमिराको गोलोमा गुँड बनाउँछे। त्यसका लागि उसले आफ्नो ठूलो थुतुनो प्रयोग गरेर रूखबाट चोप सङ्कलन गर्छे र धमिराबाट हुने सम्भावित आक्रमणबाट जोगाउँछे
  • चोप सङ्कलन गर्न यो प्रजाति समथर भूमिमा भएको जङ्गलमा भर पर्छ र उसले रूखमा बस्ने धमिराको गोलोमा आफ्नो वासस्थान बनाउँछ
  • चार्ल्स डार्विनसँग विकासक्रमको सिद्धान्त प्रतिपादन गरेका वालिसले यो मौरीलाई "स्ट्याग बीटलको जस्तो विशाल थुतुनो भएको एउटा ठूलो कालो अरिङ्गालजस्तो कीरा" भनेर वर्णन गरेका छन्
line

नर्थ मोलुक्कास भनिने इन्डोनेशियाली टापुमा यो मौरी फेरि फेला परेपछि सो क्षेत्रमा अन्य प्रजातिका दुर्लभ कीटपतङ्गहरू भएको हुन सक्ने आशा जागेको छ।

अहिले यो प्रजातिको मौरीको बेचबिखन रोक्न कुनै कानुनी प्रावधान छैन।

प्रिन्स्टन विश्वविद्यालयका कीटविज्ञ इलाइ वाइमनले अब सो मौरीको जीवनचक्रबारे विस्तृत अध्ययन गर्न सकिने र यसलाई कसरी लोप हुनबाट जोगाउन सकिन्छ त्यो पत्ता लगाउन सकिने अपेक्षा व्यक्त गरेका छन्।

इन्टर्न्याश्नल युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार वालिसज् जाइअन्ट बीलाई अहिले लोपोन्मुख जीवको सूचीमा राखिएको छ।

वालिसज् जाइअन्ट बी र साधारण मौरीको तुलना

तर साइटिसले यसको बेचबिखनमा रोक लगाएको छैन।

पर्यावरणको क्षेत्रमा काम गर्ने ग्लोबल वाइल्ड कन्जर्भेशन (जीडब्ल्यूसी)ले "हराएको प्रजाति" को खोजी गर्न गरिएको यात्राका लागि सहयोग गरेको थियो।

जीडब्ल्यूसीका रोबिन मोरले भने, "थाहा नपाउनेगरी सङ्कलन गरेरभन्दा सो मौरीलाई संरक्षणको प्रतीक बनाएर हामी सो प्रजातिको भविष्य सुरक्षित गर्न सकिनेमा विश्वस्त छौँ।"

गत महिना सो समूहले बोलिभियामा एउटा दुर्लभ प्रजातिका भ्यागुताहरू भेटेको थियो।

त्यसभन्दा अघि सो प्रजातिको एउटा मात्रै भाले भ्यागुतो बाँकी भएको ठानिएको थियो।