नाइरोबी होटल: केन्याका राष्ट्रपति भन्छन्, 'आक्रमण सकियो, सबै आक्रमणकारीहरू मारिए'

नाइरोबी होटल
तस्बिरको क्याप्शन, गोली लागेका मानिसहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ
Published
पढ्ने समय: ३ मिनेट

केन्याका राष्ट्रपति उहुरु केन्याट्टाले सन्दिग्ध लडाकुहरूले नाइरोबीमा गरेको एउटा आक्रमण टुङ्गिएको र सबै आक्रमणकारीहरू मारिएको बताएका छन्।

बन्दुकधारीहरूले मङ्गलवार राजधानीको वेस्ट्ल्यान्ड्स क्षेत्रमा एउटा होटल र कार्यालयहरू रहेको हातामा आक्रमण गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

यसअघि पनि सरकारी पक्षले आक्रमण टुङ्गिएको घोषणा गरेका थिए। तर बुधवार बिहान फेरि गोली चलेको र विस्फोट भएको सुनिएको थियो।

सोमालियामा सक्रिय रहेको लडाकु समूह अल‍-शबाबले आक्रमण गराएको बताइएको छ। आक्रमणकारीहरूको सङ्ख्या भने स्पष्ट छैन।

आक्रमण भएको हातामा डुसिटडीटू होटल र अन्य कार्यालयहरू छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आक्रमण अल-शबाब समूहले गराएको आशङ्का छ

टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति केन्याट्टाले सो घटनामा १४ जनाको ज्यान गएको र सात सय जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।

केन्याको रेडक्रसले भने आक्रमणमा २४ जनाको मृत्यु भएको बताएको छ।

घटनामा एक अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकाको विदेश मन्त्रालयले पुष्टि गरेको छ। एक ब्रिटिश नागरिक पनि परेको आशङ्का गरिएको छ।

नाइरोबीमा आक्रमण भएको होटलबाट फर्किँदे सुरक्षाकर्मीहरू, जेनुअरी १६
तस्बिरको क्याप्शन, आक्रमण भएको होटलबाट फर्किँदे सुरक्षाकर्मीहरू

केन्याली राष्ट्रपतिले आफ्नो सम्बोधनमा भने, "डुसिटमा भएको सुरक्षा कारबाही सकिएको र सबै आतङ्कवादीहरूलाई निमिट्यान्न पारिएको म पुष्टि गर्छु।"

सो "निन्दनीय काममा आर्थिक सहयोग गर्ने, योजना बनाउने र कार्यान्वनय गर्ने सबै व्यक्तिलाई" जसरी पनि पत्ता लगाउने उनले उद्घोष गरे।

"हामी नियम र कानुनले शासित देश हौँ जहाँ शान्तिपूर्ण सहअस्तित्व अङ्गीकार गरिएको छ... म के पनि भन्न चाहन्छु भने हामी आफ्ना बालबालिकालाई चोट पुर्‍याउनेलाई कहिल्यै क्षमा नदिने राष्ट्र हौँ।"

नाइरोबी हमलास्थल

आक्रमण कसरी भयो?

आक्रमण स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु भयो।

पार्किङ क्षेत्रमा राखिएका सवारीसाधनमा बम हानेर चारजना सशस्त्र आक्रमणकारीहरू होटलभित्र छिरे। त्यहाँ एक जनाले आत्मघाती विस्फोट गरेको प्रहरीले बताएको छ।

नजिकैको एउटा भवनमा काम गर्ने एक महिलाले रोयटर्सलाई भनिन्, "मैले गोली चलेको सुन्न थालेँ। त्यसपछि मान्छेहरूको हात माथि उठाएर भागेको देखेँ। केही मानिसहरू लुक्न ब्याङ्कमा छिर्न थाले।"

सुरक्षा निगरानीका लागि राखिएका क्यामेराले खिचेको दृष्यमा हतियार बोकेका कम्तीमा चार व्यक्ति छिरेको र गोली हान्दै गरेको देखिएको छ।

उनीहरूले केही दिनदेखि सो हातामा आउनेजाने गरेको विवरणहरू पनि प्रकाशित भएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

राति ११ बजे गृहसचिवले सो हातामा रहेका सबै भवनहरूमा सुरक्षाकर्मीहरू पुगेको बताएका थिए।

"स्थिति नियन्त्रणमा छ र देश सुरक्षित छ," सम्वाददाताहरूला उनले भनेका थिए, "आतङ्कवादले हामीलाई कहिल्यै परास्त गर्न सक्दैन।"

तर त्यसको एक घण्टापछि नै गोली चलेको र विस्फोटनहरू भएको विवरण आउन थाल्यो। बुधवार बिहान सात बजेतिर अझ बढी गोली चल्यो।

सुरक्षाकर्मीहरू भवन भित्र पसे जहाँ डराएका कर्मचारीहरू टेबलमुनि वा शौचालयमा लुकेर बसेका थिए।

बिहान सबेरै सय जनाभन्दा बढीको उद्धार गरिएको थियो।

आक्रमणकारी

झन्डै ३० जना व्यक्तिलाई अस्पतालन भर्ना गरिएको समाचार प्रकाशित भएको छ।

आक्रमणहरू होटल भएको भवनको सातौँ तलामा गएको बताइएको छ। त्यहाँ धेरै मानिसहरू लुकेर बसेको हुनसक्ने भन्ठानिएको छ।

एक सय एकवटा कोठा भएको डुसिटडीटू पाँचतारे होटल हो। राजधानी नाइरोबीको व्यस्त व्यापारिक क्षेत्रनजिकै अवस्थित सो होटलमा एउटा स्पा र रेस्टुराँहरू छन्।

केन्यामा केही वर्षयता आतङ्कवादी आक्रमणहरू भएका छन्।

प्राय: आक्रमणहरू सोमालियासँगको सीमानजिकै रहेका क्षेत्र र राजधानी नाइरोबीमा हुनेगरेका छन्।

अल-शबाब के हो?

अल-शबाब इस्लामवादी लडाकु समूह हो। सोमालियाको सरकारको विरोध गर्ने समूहले पूर्वी अफ्रिकाभरि आक्रमण गर्दै आएको छ।

सोमाली सरकारलकाई अल-शबाबसँगको सङ्घर्षमा सघाउने क्षेत्रीय शान्तिस्थापना अभियानमा केन्या पनि सहभागी छ।

सन् २०१३ को सेप्टेम्बरमा अल-शबाबका लडाकुहरूले एउटा शपिङ मलमा आक्रमण गरेका थिए। असी घण्टासम्म चलेको सो घटनामा ६७ जनाको ज्यान गएको थियो।

दुई वर्षपछि सो समूहले १५० जनाको ज्यान जानेगरी केन्यामा आजसम्मकै सबैभन्दा घातक आक्रमण गर्‍यो। सो आक्रमण एउटा विश्वविद्यालयमा भएको थियो।