नेपाली कांग्रेसका नेत्रीहरू पुरुष नेताहरूसँग क्रुद्ध हुनुको कारण के हो

Published

नेपाली कांग्रेसमा ३३ प्रतिशत महिला सदस्य पुग्ने सुनिश्चित भएसँगै पदाधिकारीमा पनि महिलाहरूका लागि सुनिश्चित गरिनु पर्ने माग अहिले जारी महासमिति बैठकमा उठिरहेको छ।

नेताहरू

तर केन्द्रीय समितिमा भएको छलफल त्यसतर्फ केन्द्रित नभएको आरोप महिला नेत्रीहरूको छ।

राजनीतिक दल सम्बन्धी व्यवस्था गर्न बनेको कानूनमा दलको सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नु पर्ने छ भन्ने उल्लेख गरिएको छ।

जस अनुसार नेपाली कांग्रेसले आफ्नो विधानको मस्यौदामा हाल केन्द्रीय समितिमा रहेको झन्डै २० प्रतिशत महिलाको संख्यालाई ३३ प्रतिशत पुर्‍याउने गरी प्रस्ताव गरेको बताइएको छ।

जसलाई सकारात्मक कदम भन्ने महिला नेत्रीहरूले पदाधिकारीमा पनि महिलाका लागि सुनिश्चित गरिनु पर्ने आवाज उठाएका छन्।

महासमिति बैठक

'शब्दजाल'

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले भनिन्न, "हामीले पदाधिकारीहरू लगायतका निर्णायक ठाँउहरू संसदीय बोर्ड अनुशासन समिति, केन्द्रिय कार्य सम्पादन समिति लगायतका महत्त्वपूर्ण स्थानमा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी विधान लेखिनु पर्छ भन्ने आवाज उठाएका छौं।"

हाल कांग्रेस पदाधिकारीमा एकजना मात्रै पहिला सितादेवी यादव कोषाध्यक्षका रूपमा छन्।

हालको पदाधिकारी संख्या बढाएर २ उपाध्यक्ष २ महामन्त्री २ सहमहामन्त्री बनाउने नेताहरूबीच करिब सहमति भएको बताइएको छ।

ती पदहरूमा सभापतिले मनोनित गर्ने वा निर्वाचनबाट आउने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ।

आक्रोश किन

तर पद सिर्जना गरिए पनि महिलालाई माथिल्लो पदमा पुग्नलाई रोक्न शब्दजालमा फसाउने गरिएको भनाइ छ कांग्रेस नेत्री अनिता देवकोटाको।

उनले भनिन्, "नेताहरूले सिधै हामी सक्दैनौं भनेर भन्नु हुन्न भाषामा र, आदी, भने पनि, यद्यपी जस्ता शब्दहरू राखेर अल्झाउने गरिन्छ त्यही भएर हामीहरू सचेत भएर लागी रहेका छौं।"

महिला नेत्रीहरू

हाल मस्यौदा माथि केन्द्रिय समितिमा भइरहेको छलफल भने समावेशी तर्क केन्द्रित नभएको भनाइ छ केन्द्रिय सदस्य लक्ष्मी परियारको।

उनले भनिन्न, "अहिल सम्म भइरहेको छलफलले समावेशीलाई सम्बोधन गर्ने अवस्था देखिएको छैन। नेताहरूका बीचमा ती पदमा म कहाँ पर्छु भन्ने जस्तो तरिकाले छलफल भइरहेको छ।"

महिलाको रणनीति के?

केन्द्रीय समितिको बैठक र महासमितिमा हुने छलफलमा निरन्तर दबाव दिइने नेत्रीहरूको भनाइ छ।

कांग्रेसमा महत्त्वपूर्ण मानिने सक्रिय सदस्यमा महिलाको संख्या करिब १० प्रतिशतको हाराहारीमा रहेको छ।

जसलाई बढाउनु पर्ने आवाज पनि कांग्रेस भित्र उठिरेहको छ।

त्यो संख्या नबढे सम्म नेतृत्व तहमा महिला पुग्न कठिन हुने तर्क महिला नेत्रीहरू गर्छन्।

ती सबै बाटो महासमिति बैठकले खोज्ने विश्वास उनीहरूको छ।