नेपाली कांग्रेस संसदीय दल: देउवा नेता, गच्छदार उपनेता

नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठक
Published

नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

उनले प्रकाशमान सिंहलाई पराजित गरेका हुन्।

देउवाले ४४ र सिंहले १९ मत पाएको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए।

प्रत्यक्ष निर्वाचनबाट चुनिएका २३ र समानुपातिक निर्वाचनबाट चुनिएका ४० गरी प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।

मनोनयन

आजै देउवाले संसदीय दलको विधानअनुसार संसदीय दलको उपनेतामा सांसद विजयकुमार गच्छदारलाई मनोनीत गरेका छन्।

देउवाको अध्यक्षतामा संसदीय दलको पहिलो बैठक संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको छ।

प्रकाशमान सिंह

पहिलो संविधानसभाको निर्वाचनअघि कांग्रेस परित्याग गर्दै गच्छदार मधेशी जनाधिकार फोरममा लागेका थिए।

संसदीय निर्वाचनअघि आफ्नो दल नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा समाहित गराउँदै उनी नौ वर्षपछि घर फर्किएका हुन्।

दबाब

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई संसदीय दलको नेता नबन्न दबाब दिएको थियो।

गत निर्वाचनमा कांग्रेसले हार बेहोरेको विषयलाई लिएर उक्त समूहले देउवाको आलोचना गर्दै आएको थियो।

नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठक
तस्बिरको क्याप्शन, प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्

तर देउवाले त्यसको बचाउ गर्दै आएका छन्।

दुवै पक्षबाट सर्वसम्मतिको प्रयास भएपनि त्यो सफल हुन नसकेपछि मतदानद्वारा संसदीय दलको नेता छान्नुपरेको हो।

निर्वाचनमा देउवा र सिंहको उम्मेदवारी परेको थियो।