थाईल्यान्ड: गुफामा फसेका किशोरहरू जीवितै, उद्धार प्रयास जारी

बालक
Published

थाईल्यान्डमा उद्धारकर्ताहरूले पानीको भेल पसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन्।

ती स्कूले विद्यार्थी र तिनका प्रशिक्षकको समूह गत नौ दिनदेखि सम्पर्कविहीन भएको थियो।

फुटबल प्रशिक्षकले स्कूले विद्यार्थीहरूलाई घुमाउन गुफा लगेका थिए।

थाई सेनाका अनुसार अब तिनले अब बाहिर निस्किन कि पौडी खेल्न सिक्नुपर्ने कि पानीको सतह घट्न महिनौँ कुर्नुपर्ने हुनसक्छ।

पानीले घेरिएको चट्टानमाथि बसिरहेको अवस्थामा दुई जना ब्रिटिश गोताखोरहरूसँग उनीहरूको जम्काभेट भएको नाटकीय दृश्य भिडिओमा देखिन्छ।

थाईल्यान्ड

पानी बढ्दै गर्दा उद्धारकर्ताहरूले सो समूहलाई आवश्यक सामग्री पुर्‍याउने प्रयास गर्दैछन्।

आह्लादित

फसेकाहरूको उद्धार गर्न लागिएको खबरसँगै उनीहरूको परिवारका सदस्यहरू आह्लादित भएका छन्।

गुफामा फसेका किशोरहरूमध्ये एक जनाकी आमाले उनीहरूबारे सुनेर आफू औधी प्रसन्न भएको बताइन्।

फाइल तस्वीर
तस्बिरको क्याप्शन, फाइल तस्वीर

उनले भनिन्, "आज सबैभन्दा राम्रो दिन हो। म धेरै दिनदेखि आफ्नो छोरालाई कुरिरहेकी छु। म उसलाई भेट्ने बित्तिकै अङ्गालो मार्नेछु।"

गुफामा किशोरहरू जीवितै पाइएपछि अब उनीहरूलाई निकाल्ने चुनौती छ।

कठिन

गुफाको मुखैमा पुगेका बीबीसी सम्वाददाता जोनाथन हेड भन्छन्, "थाई अधिकारीहरूले औषधि र चिकित्सकलाई गुफाभित्र पुर्‍याउने सोच बनाएका छन्।"

सबैभन्दा पहिला फसेका स्कूले किशोरहरूलाई बलियो बनाउन आवश्यक छ। तर पानीको भेल पसेको गुफाभित्रबाट उनीहरूलाई निकाल्ने काम निकै कठिन छ।

खुशी

उद्धारकर्ताहरूले गोता लगाउने उपकरणको प्रयोगमार्फत् फसेकाहरूलाई निकाल्ने या उनीहरूमा शक्ति आएपछि र त्यहाँको पानी तानेपछि मात्रै निकाल्नेबारे अब निर्णय गर्नुपर्ने हुन्छ।

हराइरहरेका किशोरहरू र उनीहरूका प्रशिक्षकसम्म पुग्न ब्रिटिश गोताखोरहरूलाई घण्टौँ लागेको थियो।