कश्मीरमा सात तीर्थयात्रीको मृत्यु

हिन्दू तीर्थयात्री
तस्बिरको क्याप्शन, कश्मीरको अमरनाथ गुफामा बर्सेनि हिन्दू तीर्थयात्रीको भिड लाग्ने गर्दछ
Published

भारत-प्रशासित कश्मीरमा दुई पक्षबीच गोली हानाहान भइरहेका बेला विद्रोहीको हमलामा परी सातजना हिन्दू तीर्थयात्री मारिएका छन्।

ज्यान गुमाउनेमध्ये ६ जना महिला रहेका छन्।

कश्मीर भारतको एक मात्र मुस्लिम बहुल राज्य हो।

त्यहाँको अनंतनाग जिल्लामा विद्रोही आक्रमणकारीहरूले सुरक्षाकर्मीहरू चढेको गाडीमाथि हमला गरेका थिए।

बर्सेनि

उक्त स्थान बर्सेनि लाखौँ हिन्दू तीर्थयात्रीहरूले मेला भर्न जाने गरेको अमरनाथ गुफाभन्दा ८० किलोमिटर वरै पर्छ।

एक प्रहरी अधिकारीले बीबीसीसँग भने, "तीर्थयात्रीलाई आक्रमण गर्ने उद्देश्यले हमला गरिएको होइन जस्तो देखिन्छ। तर दुईतर्फी गोली हानाहानको बीचमा तीर्थयात्री चढेको बस पनि फसेको थियो।"

प्रहरीले उक्त बसले तीर्थयात्री बोक्ने अनुमति नलिएको र नियम विपरीत रातिको समयमा चलिरहेको जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त आक्रमणलाई "लज्जाजनक" भन्दै त्यसलाई जति भर्त्सना गरे पनि कम हुने बताएका छन्।

उक्त हमलामा अन्य १९ जना घाइते भएका छन्। तीमध्ये केही प्रहरी रहेको बताइएको छ।

आक्रमणमा परेको बसमा कूल ५६ जना यात्रु सवार थिए र उनीहरूमध्ये धेरै गुजरात र केही महाराष्ट्र राज्यबाट आएको बताइएको छ।