त्रिशूली-३ 'बी' सुरुङमा फसेकाको उद्धार सम्भाव्यता हेर्न चिनियाँ टोली रसुवामा
रसुवाको माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका निम्ति चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको सरकारले जनाएको छ।
दुई दिनदेखि जारी प्रयासमा सरकारको अनुमतिमा ६ जना सम्मिलित चिनियाँ विज्ञ खटाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
"चिनियाँ हेलिकप्टरमार्फत् सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्ने छ," सचिवालयले जनाएको छ।
संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्ने बताइएको छ।
"प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम्तयार अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने छ," सचिवालयले थप भनेको छ।

















