'बाढी आउनुअघि रसुवागढीमा ९० जनाले तिब्बत प्रस्थान गर्ने अनुमति लिएका थिए', तीमध्ये ५७ जना विदेशी नागरिक

तस्बिर स्रोत, Reuters
नेपालको अध्यागमन विभागले बुधवार बिहान बाढी आउनुअघि रसुवास्थित नेपालको अध्यागमनबाट झन्डै ९० जनाले प्रस्थानको अनुमति लिएको र त्यसमा ५७ जना विदेशी नागरिक रहेको जनाएको छ।
अध्यागमन विभागको सूचनामा चार जनाले अध्यागमन कार्यालयबाट नेपालतर्फ आगमन गरेको देखिन्छ। तीमध्ये एक जना भारतीय नागरिक छन्।
विभागका प्रवक्ता शिवप्रसाद लम्सालले बीबीसीसँग भने, “त्यो दिन बिहान ८:३५ बजेसम्म हाम्रो अध्यागमन कार्यालयबाट उहाँहरू ‘एक्जिट’ हुनुभएको देखिन्छ।”
“चिनियाँ अध्यागमन कार्यालय केही ढिला खुल्छ। हाम्रो कार्यालयभन्दा उता पनि नेपाली भूभाग छ।”
प्रस्थान गर्नेहरूको सूचीमा ३२ जना भारतीय र १२ जना चिनियाँ नागरिक छन्। त्यसमा संयुक्त राज्य अमेरिकाका ९ अनि यूके, क्यानडा, अस्ट्रेलिया र इटलीका एक-एक नागरिक छन्।







