तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, सरकारद्वारा 'दाता सम्मेलनको प्रारम्भिक तयारी सुरु'

रसुवाको भोटेकोशी नदी र तलपट्टि त्रिशूलीमा आएको बाढीपछि झन्डै २५०० मानिस बेपत्ता रहेका विवरणमाझ अन्तर्राष्ट्रिय सहायता संस्थाहरू र विभिन्न सरकारहरूले आपत्कालीन सहायता प्रयासलाई तीव्र बनाएका छन्।

सारांश

  • भोटेकोशी-त्रिशूली बाढीका कारण मृत्यु भएका ६२६ जनाभन्दा बढीको शव विभिन्न स्थानमा फेला परेको प्रहरीद्वारा पुष्टि
  • बाढीप्रभावित स्थानहरूमा खोज र उद्धारकार्य जारी
  • नेपालमा विनाशकारी बाढीबाट कम्तीमा ६२६ जनाको मृत्यु भएको र २४०० भन्दा बढी हराइरहेको अधिकारीले बताएका छन्
  • तिब्बतमा मृत्यु हुनेको सङ्ख्या बढेर पुगेको र ५५४ जना हराइरहेको चिनियाँ राज्य नियन्त्रित मिडियाले जनाएको छ
  • युरोपियन कमिसन अध्यक्ष उर्सुला फन डर लाएनले युरोपले २० लाख यूरो नेपालमा मानवीय सहायताका लागि प्रदान गर्ने घोषणा गरेकी छन्
  • चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली समकक्षीलाई समवेदना सन्देश पठाउँदै आफू दुवै देशका मानिसहरू यो मुस्किलबाट बाहिर निस्कन हातेमालो गर्नेछन् र आफ्ना घर सकेसम्म छिटो पुनर्निर्माण गर्नेमा विश्वस्त रहेको बताएका छन्
  • बाढी अघि र पछि लिइएका स्याटलाइट तस्बिरमा ठूलो तहमा विनाश भएको स्पष्ट देखिएको छ

लाइभ कभरेज

  1. त्रिशूली-३ 'बी' सुरुङमा फसेकाको उद्धार सम्भाव्यता हेर्न चिनियाँ टोली रसुवामा

    रसुवाको माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका निम्ति चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको सरकारले जनाएको छ।

    दुई दिनदेखि जारी प्रयासमा सरकारको अनुमतिमा ६ जना सम्मिलित चिनियाँ विज्ञ खटाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    "चिनियाँ हेलिकप्टरमार्फत् सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्ने छ," सचिवालयले जनाएको छ।

    ​संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्ने बताइएको छ।

    "प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम्तयार अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने छ," सचिवालयले थप भनेको छ।

  2. दाता सम्मेलनबारे 'प्रारम्भिक तयारी सुरु' - परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री शिशिर खनालले पुनर्निर्माणका लागि सहायता जुटाउने विषयमा सोधिएको प्रश्नमा विपद्पछिको आवश्यकता आकलन सम्बन्धी प्रतिवेदन तयार पार्ने काम "सक्दो छिटो" गरिने बताए।

    त्यसपछि उक्त प्रतिवेदनका आधारमा "सम्भवत: गरिने दाता सम्मेलन"मा काम गर्ने आफूहरूको योजना रहेको उनले बताए।

    त्यससम्बन्धी "प्रारम्भिक तयारी सुरु भएको" बताउँदै सरकारको ध्यान अझै "सक्दो धेरैको जीवन बचाउनेतर्फ केन्द्रित रहेको" मन्त्री खनालले बताए।

    उनले यी कामबारे अहिल्यै कुनै समय सीमा बताउन सकिने अवस्था नरहेको बताए।

  3. मित्रराष्ट्रसँग विशिष्ट सहयोगको अपेक्षा छ - परराष्ट्रमन्त्री खनाल

    शव पहिचानमा भइरहेको समस्याबारे सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालसँग "सीमित फरेन्सिक सुविधा रहेको" भन्दै त्यसको पहिचानमा विदेशी सहयोगको "अपेक्षा" राखेको बताए।

    उनले "भारी सामान उठाउने ड्रोन"को पनि आवश्यकता महसुस भएको बताए।

    हामी "आफ्नो परिवेश बुझ्दै त्यसबारे प्रस्ट भइरहेका" छौँ। त्यसो भन्दै उनले "मित्रराष्ट्रहरूसँग विशिष्ट सहायता अपेक्षा गरिरहेको" बताए।

  4. 'चीनसँग निकट समन्वयमा छौँ' – मन्त्री खनाल

    नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले तत्कालीन परिस्थितिमा चीनबाट समयमै सूचना नआएको भन्ने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा "घटनाको प्रकृतिअनुसार सम्भवतः चीनलाई पनि स्पष्ट थाहा नभएको हुन सक्ने" बताए।

    "अहिले चीनबाट आवश्यक सूचना र विवरण आइरहेको छ," खनालले भने। "यस घटनापछि हामी चीनसँग निरन्तर समन्वयमा छौँ।"

    हिमचट्टान खसेको ठाउँमा बनेको तालबारे चीनले समेत निगरानी गरिरहेको र सम्भावित जोखिमबारे जानकारी गराइरहेको उनले बताए।

  5. तत्कालको प्राथमिकता हराइरहेकाको 'जीवन रक्षा' - परराष्ट्रमन्त्री खनाल

    नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले सरकारको तत्कालको प्राथमिकता सम्पर्कविहीन बनेकाको ‘जीवन रक्षा गर्नु’ रहेको बताएका छन्।

    जस क्रममा खोज तथा उद्धार कार्यका लागि आवश्यकता अनुसार सबै खाले प्रयास जारी रहेको मन्त्रालयमा जारी पत्रकार सम्मेलनमा उनले बताए।

    "नदी प्रणाली र तटीय क्षेत्रहरू निरन्तर रूपमा निगरानी भइरहेको छ," मन्त्री खनालले भने।

    उनले सुरुङमा फसेकाको उद्धारका लागि ११ सदस्यीय भारतीय निरीक्षण टोली परिचालन भएको र चीनबाट आउने क्रममा रहेको बताए।

    विनाशको तह "निकै उल्लेख्य" रहेको भन्दै उनले पुनर्निर्माणका क्रममा मित्र राष्ट्र तथा दातृ निकायहरूबाट सहायता आवश्यक पर्ने बताए।

    महत्त्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिको मूल्याङ्कन भइरहेको बताए।

  6. हालसम्म १८४ जना पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहीन

    नेपाल पर्यटन बोर्डले रसुवा बाढीमा बेपत्ता बनेका विदेशी पर्यटकहरूमध्ये हालसम्म १८४ जनाको उद्धार भएको जनाएको छ।

    शनिवार दिउसो १:३० मा जारी सूचनामा त्यसबाहेक अन्य ३ जना पर्यटक अधिकारीहरूको सम्पर्कमा रहेको बताइएको छ।

    बोर्डको विवरण अनुसार अझै ४२० जना सम्पर्कविहीन छन्।

  7. पुनर्निर्माणका लागि अर्बौं डलर आवश्यक पर्ने - अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवाको विनाशकारी बाढीपछि पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्न सक्ने बताएका छन्।

    "यो एक अनुमान मात्र हो। क्षति र नोक्सानीको विवरण सङ्कलन गर्ने काम जारी छ," वाग्लेले रोएटर्स समाचार संस्थासँग भने।

    बाढीले कैयौँ घरहरू बगाउनुका साथै सडक तथा पुलजस्ता महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको छ। विभिन्न जलविद्युत आयोजनाहरू समेत प्रभावित बनेका छन्।

    भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा एउटा व्यापारिक क्षेत्र लगभग पूर्ण रूपमा नष्ट भएको देखिन्छ।

  8. फसेकाको उद्धार प्रयासमा त्रिशूली-३ 'ए' मा 'सुरुङको मुख खोल्ने प्रयास जारी'

    रसुवाको त्रिशूली-३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धार प्रयासका क्रममा शनिवार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    त्यहाँ दुई दिनदेखि उद्धार प्रयास भइरहेको बताइएको छ।

    सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यमा अघि बढेको सचिवालयको भनाइ छ।

    त्यहाँ उद्धार सहायताका लागि रेकी गर्न आएको भारतीय टोली समेत हाल त्रिशूली पुगेको बताइएको छ।

  9. प्रधानमन्त्रीलाई भेटेका प्रमुख प्रतिपक्षी दलका नेताले के भने?

    केही बाढी प्रभावित क्षेत्र अवलोकन गरेर फर्केका प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले शनिवार मध्याह्न प्रधानमन्त्रीसँग छलफल गरेका छन्।

    आफूले लिखित रूपमै उद्धार, सडक पुन सञ्चालन र शव व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेस सांसद आङ्देम्बेले बताएका छन्।

    क्षतिग्रस्त बनेका कैयौँ पुलहरूमध्ये 'तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गरियोस्' भन्ने उनको एउटा सुझाव छ।

    "रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस्," उनले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रको एउटा बुँदामा उल्लेख छ।

    सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन समेत उनले माग गरेका छन्।

  10. बाढीबाट मृत्यु हुनेको सङ्ख्या ६२६ पुग्यो

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा ज्यान गुमाएका ६२६ जना शव फेला परेको जनाएको छ।

    अधिकारीहरूले २,४२६ जना बेपत्ता रहेको बताएका छन्। हालसम्म जम्मा ४,४५१ जनाको उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।

    सबैभन्दा धेरै चितवनमा २३३ वटा र त्यसपछि नवलपरासी पूर्वमा १५८ वटा शव फेला पारिएको प्रहरीले उल्लेख गरेको छ।

    प्रहरीका अनुसार गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला पारिएको छ।

    त्यस्तै करिब दुई हजार मानिसहरू हराइरहेका अधिकारीहरूले बताएका छन्।

    घाइते तथा उद्धार गरिएका मानिसको सङ्ख्या २,३०१ रहेको प्रहरीले जनाएको छ।

    काठमाण्डू उपत्यकामा विभिन्न अस्पतालहरूमा उपचाररत र डिस्चार्ज भएका व्यक्तिको सङ्ख्या १४० रहेको छ।

  11. चितवनमा सङ्कलित शव पहिचान गर्न ‘गाह्रो’

    बुधवारको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको चितवनमा हालसम्म सङ्कलन भएका २३३ मध्ये ४ वटा शव मात्र पहिचान भएको स्थानीय प्रशासनले जनाएको छ।

    बाँकी २२९ वटा शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाहरूमा रहेका जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार बिहान एउटा विज्ञप्तिमार्फत् बताएको छ।

    “स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट सङ्कलन भएका शव/शवका अवशेषहरू सडे-गलेका र अब पहिचान हुन/गर्न नसकिने अवस्थामा छन्। तत्काल व्यवस्थापकीय प्रबन्धबाट राखिएका त्यस्ता शवहरू दुर्गन्धित बन्दै गएका कारण सङ्क्रमण/महामारी फैलिन सक्ने भन्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय/विश्लेषण रहेको छ,” विज्ञप्तिमा उल्लेख छ।

    “तसर्थ प्राप्त शवहरू थप सड्न/गल्न नदिन, त्यस्ता शवहरूको सम्मानजनक, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गरी सम्भावित सङ्क्रमणको जोखिमबाट बचाउन बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनको आज मिति २०८३।०५। १३ को निर्णयानुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवहरू जमिनमुनि व्यवस्थापन गर्ने निर्णय भएको छ।”

    उक्त निर्णयबमोजिम सबै शवहरूको डीएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राख्ने गरी शनिवारदेखि भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको प्रशासनले जनाएको छ।

  12. बालबालिका उद्धारमा लागिपरेका छौँ : सेभ द चिल्ड्रेन

    सेभ द चिल्ड्रेन यूकेले नेपालमा सो संस्थाको टोलीले बालबालिकाको उद्धारमा सम्पूर्ण रूपमा लागिपरेको बीबीसीलाई बताएको छ।

    त्यस्ता बालबालिकामध्ये धेरै जना “आमाबुवाविहीन र फसेका अवस्थामा” रहेका संस्थाका जर्ज ग्राहमले बीबीसी न्यूज च्यानललाई बताए।

    “करिब ५० जना त्यस्ता बालबालिका विद्यालयभित्र फसेका हामीले सुनेका छौँ र उनीहरूलाई शुद्ध खानेपानीमा पहुँच नभएको हुन सक्ने अवस्था रहेको” उनले उल्लेख गरे।

    “उनीहरूको विद्यालय र सडकलाई जोड्ने पुलहरू बाढीले बगाएको छ। ती बालबालिकाको अवस्था पत्ता लगाउन हामी लागि परेका छौँ,” ग्राहमले अगाडि थपे।

    सेभ द चिल्ड्रेनको टोलीसम्म पुगेका नौ जनालाई उद्धार गरिएको उनले जानकारी दिए।

  13. दशौँ हजार घरपरिवारलाई खाद्यान्न र खानेपानीको आवश्यकता: संयुक्त राष्ट्र सङ्घ, थप वर्षा हुने सम्भावना रहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ आउन सक्ने

    नेपालमा आएको विनाशकारी बाढीपछि झन्डै दुई हजार मानिस अझै बेपत्ता रहेका विवरणमाझ अन्तर्राष्ट्रिय सहायता संस्थाहरू र विभिन्न सरकारहरूले आपत्कालीन सहायता प्रयासलाई तीव्र बनाएका छन्।

    युरोपेली सङ्घलगायत क्यानडा र अमेरिकासहितका देशहरूले नेपालमा सहायता सामग्री वा आर्थिक सहयोग पठाउने घोषणा गरेका छन्।

    संयुक्त राष्ट्र सङ्घका एक प्रवक्ताका अनुसार दशौँ हजार घरपरिवारलाई खाद्यान्न र आपत्कालीन रूपमा खानेपानीको आवश्यकता परेको छ।

    नेपाली अधिकारीहरूका अनुसार करिब चार हजार मानिसलाई उद्धार गरिएको छ भने पाँच सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।

    चीनले पनि सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। थप वर्षा हुने सम्भावना रहेकाले उद्धार तथा खोजी कार्यमा थप कठिनाइ आउन सक्ने बताइएको छ।

  14. 'परिवारको सम्पर्कमा आएकाहरू घर फर्किए', उद्धार गरिएकालाई कभर्ड हलदेखि सेफ हाउससम्म राखिएको छ

    नुवाकोट र रसुवाको विभिन्न स्थानबाट बिहीवार ठूलो सङ्ख्यामा उद्धार गरेर ल्याइएकाहरूलाई जिल्लाको विभिन्न स्थानमा राखिएको सरकारी अधिकारीहरूले बताएका।

    नुवाकोटको बट्टार कभर्ड हल, विदुरमा रहेको सेफ हाउस, कोलोनीलगायत स्थानमा खासगरी रसुवाबाट उद्धार गरेर ल्याइएकालाई राखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउँछन्।

    उनका अनुसार नुवाकोट र रसुवाको विभिन्न स्थानबाट पेसा व्यवसायको सिलसिलामा आएकाहरू केही भने परिवारको सम्पर्कमा पुगेपछि घर फर्किएका छन्।

  15. भोटेकोशीमा पुनः बाढी बढेको चेतावनी, 'उच्च सतर्कता'का लागि आह्वान

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चीनतर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोशीमा पुनः बाढी बढेको जनाउँदै अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

    जिल्ला प्रहरी कार्यालय रसुवामा चीनले सूचना पठाएको बताउँदै त्रिशूली नदीको तटीय क्षेत्रमा चितवनको मुग्लिनसम्म त्यस्तो सतर्कता अपनाउन आग्रह गरिएको हो।

  16. सरकारद्वारा खोज, उद्धार तथा राहत सामग्री आह्वान

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफूलाई आवश्यक परेका खोज, उद्धार तथा राहत सामग्रीका विवरण सार्वजनिक गर्दै सहयोगको आह्वान गरेको छ।

    प्राधिकरणले इच्छुक दातृ निकाय, विकास साझेदार, सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्रलगायतले त्यस्तो सहयोग गर्न सक्ने एक सार्वजनिक सूचनामा जनाएको छ।

    त्यसमा विस्थापितहरूका लागि हुने गरी खाद्यान्न र गैरखाद्य सामग्रीका सूची राखिएका छन्। गैरखाद्य सामग्रीमा आवास, खाना पकाउने, उज्यालो पार्ने र सरसफाइसँग सम्बन्धित सामग्री छन्।

    उक्त सूचीमा ५०-७० मिटरका ब्रेलिबीज्रको समेत आवश्यकता रहेको उल्लेख छ।

    आवश्यक विभिन्न ठाउँका लागि सम्पर्क व्यक्तिहरू तोकिएका छन्।

  17. 'विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक' - प्रधानमन्त्री

    प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको बताएका छन्।

    "भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ," शुक्रवार साँझ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्। "उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ।"

    यसैबीच भारतीय विदेशमन्त्री एस जयशङ्करले चिकित्सक, प्यारामेडिक्स र सुरुङ उद्धार कार्यका लागि रेकी टोलीसहितको ११ सदस्यीय दल सहायता सामग्री पठाइएको आफ्नो तेस्रो उडानमा रहेको फेसबुकमा जनाएका छन्।

    भारतले यसअघिका दुई उडानमा १० र ३७ टन राहत सामग्री पठाएको थियो।

    प्रधानमन्त्रीले आफ्नो फेसबुक पोस्टमा उनले खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको जनाएका छन्।

  18. सम्पर्कविहीनहरूको सङ्ख्या करिब २ हजार

    रसुवा बाढीमा परेर सम्पर्कविहीन हुनेको सङ्ख्या १,९२४ पुगेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट करिब चार घण्टापछि जारी भएको पछिल्लो विवरणमा हराउनेको सङ्ख्या करिब एक हजारले वृद्धि भएको हो।

    शुक्रवार साँझसम्म ५७९ जनाको शव फेला परेको समेत प्राधिकरणले जनाएको छ।

    विभिन्न जलविद्युत् प्राधिकरणका सुरुङमा सयौँ मानिसहरू फसेको विवरण अद्यावधिक हुनुलाई त्यसरी सम्पर्कविहीन हुनेको सङ्ख्या ह्वात्तै बढ्नुको कारण मानिएको छ।

  19. चीनका प्रधानमन्त्री बाढीबाट प्रभावित तिब्बती क्षेत्रमा

    चीनका प्रधानमन्त्री ली चीआङ र अन्य अधिकारीहरूले तिब्बतमा बुधवारको बाढीबाट प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। उक्त स्थान नेपालको सीमानजिकै पर्ने केरुङ काउन्टीमा पर्छ।

    चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी जिन्पिङले लीलाई त्यहाँ जारी उद्धार र आपत्कालीन प्रतिकार्यको नेतृत्व गर्न पठाएका हुन्।

    बुधवारको विनाशकारी बाढीका कारण नेपालमा धनजनको ठूलो क्षति भएको छ। नेपालतर्फ ५५० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ भने झन्डै १,००० जना अझै सम्पर्कविहीन छन्।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बततर्फ कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने विदेशी पर्यटकहरूसहित ५०० जनाभन्दा बढी हराइरहेका छन्।

  20. 'श्रीमान्, आमा र बुवा सबै हराए'

    रसुवाकी सुष्मा विकले बुधवार आएको बाढीपछि आफ्ना श्रीमान्, आमा र बुवा सबै हराएको बताएकी छन्।

    उनलाई बिहीवार सेनाले उद्धार गरेर नुवाकोटको त्रिशूलीमा लगेको छ।