तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

मृतकको सङ्ख्या बढ्दो क्रममा, सरकार अझै 'खोज र उद्धारमा केन्द्रित'

भोटेकोशी-त्रिशूली बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्न उद्धारकर्ताहरू प्रयासरत छन्। विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेको भन्ठानिएका मानिसहरूसँग अझै सम्पर्क हुन सकेको छैन।

सारांश

  • बाढीले निम्त्याएको विपत्तिमा नेपालमा कम्तीमा ९०० जनाको मृत्यु भएको पुष्टि, सङ्ख्या निरन्तर बढ्दो क्रममा
  • सम्पर्कविहीन भएका मानिसको सङ्ख्या करिब ३,९०० पुग्यो
  • रसुवामा बनेको एउटा हिमतालको आकार बढ्दो क्रममा रहेको भन्दै जोखिमको चेतावनी
  • सरकार 'अझै पनि खोज र उद्धारमा केन्द्रित' रहेको प्रधानमन्त्री शाहको भनाइ
  • उद्धारकर्मीहरू जीवित मानिसहरूको खोजी गर्न सङ्घर्षरत, विदेशी विशेषज्ञ समेत संलग्न
  • जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका सयौँ मानिसलाई उद्धार गर्न प्रयास तीव्र पारिएको अधिकारीहरूको भनाइ
  • रसुवागढीस्थित जलविद्युत् आयोजनाको सुरुङमा कोही पनि फेला नपरेपछि उद्धारकर्मीको टोली फिर्ता
  • नदीमा फेला परेका तर पहिचान नभएका शवहरूको 'अस्थायी व्यवस्थापन' सुरु, हालसम्म सरदर जम्मा चार प्रतिशत मात्र शवको पहिचान
  • हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको डीएनए परीक्षणका लागि "नजिकको रगतको नाता" भएका आफन्तले अनुरोध गरेमा उनीहरूको रगतको ताजा नमुना सङ्कलन गरेर डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने प्रहरीको भनाइ
  • केरुङ-रसुवागढी नाकामा क्षति पुगेपछि तिब्बतबाट आउने कन्टेनरहरू मुस्ताङको कोरला नाकातिर मोडिँदै
  • शेअर बजारमा पनि बाढीको प्रभाव

लाइभ कभरेज

  1. 'चाउचाउ, बिस्कुटभन्दा पनि हामीलाई बास चाहियो'

    बाढीका कारण विस्थापित भएका मानिसहरू के भन्छन्? हेर्नुहोस् यो भिडिओमा।

  2. मृतकको सङ्ख्या ९०० भन्दा बढी, ४२ सयभन्दा बढी मानिस अझै सम्पर्कविहीन

    भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमवार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    शवहरू आठवटा विभिन्न जिल्लामा फेला परेका हुन्।

    • रसुवा - २४
    • नुवाकोट – ९५
    • धादिङ – ५५
    • गोरखा - ६२
    • चितवन - २७२
    • तनहुँ - ३७
    • नवलपरासी पूर्व - २०७
    • नवलपरासी पश्‍चिम - १५१

    प्राधिकरणका अनुसार बाढीपछि सम्पर्कविहीन भएका मानिसको सङ्ख्या ४,२४७ पुगेको छ। तिनमा विदेशी पर्यटक, सुरक्षाकर्मी र विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी पनि छन्।

    हिजो साँझ प्राधिकरणले दिएको विवरणमा मृतकको सङ्ख्या ७८१ र सम्पर्कविहीन मानिसको सङ्ख्या २,५०२ उल्लेख थियो।

    हालसम्म १०,४०० जनाभन्दा बढीको उद्धार गरिएको पनि प्राधिकरणले जनाएको छ।

    खोजी तथा उद्धारका निम्ति २०,८०० भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको उक्त सरकारी निकायले बताएको छ।

  3. बाढीबाट प्रभावित ब्याङ्कबाट नगद र सुन सुरक्षित रूपमा बाहिर निकालियो

    नेपाल प्रहरीले त्रिशूलीको ढुङ्गेस्थित कृषि विकास ब्याङ्कबाट झन्डै १.५ करोड रुपैयाँ नगद र अनुमानित ५० करोड रुपैयाँको सुन तथा महत्वपूर्ण कागजपत्र सुरक्षित स्थानमा सारिएको जनाएको छ।

    भोटकोशी नदी हुँदै त्रिशूली नदीमा बुधवार आएको बाढी उक्त शाखा पनि छिरेको थियो।

    प्रहरीले आइतवार साँझ सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गर्दै उक्त कार्यका लागि आठ घण्टा लागेको जनाएको छ।

  4. सुरुङभित्र कयौँ दिनदेखि फसेका हुन सक्नेहरूको खोजी जारी

    हजारौँ उद्धारकर्मीहरूले रसुवा जिल्लाका जलविद्युत् आयोजनाका सुरुङभित्र कैयौँ दिनदेखि फसेका हुन सक्ने मानिसहरूको खोजी गरिरहेका छन्।

    यसैबीच, तिब्बतको सीमा नजिकै पहिरोका कारण बनेका नयाँ ताललाई लिएर पनि चिन्ता बढेको छ।

    त्यहाँ पानीको सतहको अवस्था मूल्याङ्कन भइरहेकाले केही उद्धार टोलीलाई फिर्ता बोलाइएको अधिकारीहरूले बताएका छन्।

  5. शवको सामूहिक व्यवस्थापन आज पनि जारी

    बुधवार आएको बाढीमा ज्यान गुमाएका मानिसहरूको सामूहिक शव व्यवस्थापन गर्ने क्रम सोमवार पनि जारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

    अधिकारीहरूका अनुसार पहिचान हुन नसकेका शवबाट डीएनए नमुना सङ्कलन भइरहेको र ती नमुनालाई परिवारका सदस्यहरूको डीएनएसँग मिलाएर मृतकको पहिचान गरिने छ।

    चितवनमा सङ्कलन भएका २७२ शव मध्ये १० वटा परिवारले बुझेपछि २६२ को सामूहिक व्यवस्थापन गर्न लागिएको हो।

    त्यसमध्ये १९९ शवको व्यवस्थापन आइतवार गरिएको र बाँकी शवको व्यवस्थापन सोमवार गरिने अधिकारीहरूले बताएका हुन्।

  6. अहिलेसम्म हामीलाई के थाहा छ

    भोटेकोशी-त्रिशूली बाढीको पाँचौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यस प्रकार छन्।

    • विनाशकारी बाढी आएको पाँचौँ दिन मृतकहरूको सङ्ख्या झन्डै ८०० पुगेको नेपाल प्रहरीले बताएको छ।
    • खोज तथा उद्धारकार्य जारी रहँदा प्रभावित क्षेत्रका कतिपय जलविद्युत केन्द्रका सुरुङमा फसिरहेको ठानिएका कैयन् मानिसहरूसम्म पहुँच पुर्‍याउने जटिल कार्य जारी राखिएको बताइएको छ।
    • पछिल्लो बाढीका कारण भएको कटानले काठमाण्डू जोड्ने एक मुख्य सडक पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यहाँ आवागमन अवरुद्ध छ।
    • हिमपहिरोका कारण नेपाल-चीन सीमा क्षेत्रमा बनेको एउटा ताल फुटेको र त्यसको पानी बाहिर प्रवाह भइसकेको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।
    • अब त्यस क्षेत्रमा रहेको अर्को त्यस्तै तालका कारण विगतमा जस्तो ठूलो विनाशकारी बाढीको जोखिम नरहेको आकलन गरिएको अधिकारीहरूले बताएका छन्।

    यससँगै हामी आजका लागि यो पेजमा अप्डेटहरू स्थगित गर्दै छौँ। भोलि बिहान तथा महत्त्वपूर्ण जानकारी प्राप्त हुनासाथ हामी यसलाई पुनः सुरु गर्ने छौँ।

    शुभरात्रि।

  7. ‘आफन्त भेट्ने आश मरेको छैन’

    विनाशकारी भोटेकोशी-त्रिशूली बाढीको पाँचौँ दिनसम्म पनि पनि आफन्तहरू भेटिने आशमा काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बेपत्ता व्यक्तिका परिवारजन तस्बिर टाँस्दै छन्।

    सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

  8. मृतकको सङ्ख्या ७९४ पुगेको प्रहरीको भनाइ

    भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार साँझसम्म ७९४ जनाको शव फेला परेको नेपाल प्रहरीले बताएको छ।

    निम्न जिल्लाहरूमा निम्न सङ्ख्यामा शवहरू फेला परेको उसले बताएको छ :

    • रसुवा - १३
    • नुवाकोट - ५२
    • धादिङ - ५०
    • गोरखा - ६१
    • चितवन - २६४
    • तनहुँ - ३७
    • नवलपरासी पूर्व - १९७
    • नवलपरासी पश्‍चिम -१२०

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै करिब २,५०० मानिस हराइरहेका छन्।

    हालसम्म ९,४३५ जनाको उद्धार गरिएको उसले जनाएको छ। खोजी तथा उद्धारका निम्ति २०,००० भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको उसले जनाएको छ।

  9. पाँचवर्षे बालिकाको यसरी भएको थियो उद्धार

    रसुवाको धुन्चेकी पाँचवर्षे बालिका मनीषा मगर बाढीका कारण पुरिएको झन्डै ६० घण्टापछि सशस्त्र प्रहरी बलले उद्धार गरेका थिए।

    धुन्चे हुँदै काठमाण्डूको त्रिवि शिक्षण अस्पतालमा ल्याइएकी उनको आज परिवारसँग पुनर्मिलन भएको छ।

  10. सीमा क्षेत्रमा बनेको एउटा ताल फुटेको र अब फेरि ठूलो बाढीको जोखिम घटेको भनाइ

    नेपाल चीन सीमा क्षेत्रमा हिमपहिरोका कारण बनेको एउटा ताल फुटेको र त्यसको पानी बाहिर प्रवाह भइसकेको भन्दै अब त्यस क्षेत्रमा रहेको अर्को त्यस्तै तालका कारण विगतमा जस्तो ठूलो विनाशकारी बाढीको जोखिम नरहेको आकलन गरिएको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

    विभागको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् विनोद पराजुलीले 'लेक वन' भन्ने गरिएको सीमा क्षेत्रको पहिलो ताल फुटेका कारण आइतवार बिहान लेदोसहितको बाढी भोटेकोशी र त्रिशूली नदीमा आएको बताए।

  11. 'चाउचाउ, बिस्कुटभन्दा पनि हामीलाई बास चाहियो'

    रसुवाको बाढीका कारण विदुर-५, देवीघाटबाट विस्थापित भएकाहरूलाई अहिले स्थानीय चन्द्रज्योति विद्यालयमा राखिएको छ।

    त्यहाँ विभिन्न ठाउँबाट ल्याइएका ३०० भन्दा बढी मानिसहरूलाई अस्थायी रूपमा बस्ने स्थान मिलाइएको छ।

    त्यहाँ उनीहरूको अनुभव र आवश्यकताबारे बीबीसी संवाददाता शक्तिमाया तामाङले कुरा गरेर बनाएको भिडिओ हेर्नुहोस्।

  12. बेपत्ता भएकाहरूको खोजीको पर्खाइ

    भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाको पहिचान तथा खोजीका लागि तिनका आफन्तजन काठमाण्डू र अन्य जिल्लाका अस्पतालहरूमा पनि पुगेका छन्।

    यो तस्बिर काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा खिचिएको हो।

    राष्ट्रिय समाचार समितिका अनुसार बेपत्ता भएका मानिसका आफन्तहरू खोजी, उद्धार र पहिचानको आशामा अस्पताल परिसरमा भेला भएका हुन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै करिब २५ सय मानिस हराइरहेका छन्।

    हालसम्म ८,७३० जनाको उद्धार गरिएको उसले जनाएको छ।

  13. कृष्णभीरमा सडक भासिएपछि कुन वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ?

    धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको एउटा भाग भासिएपछि काठमाण्डूबाट बाहिरिने सवारीसाधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन्।

    त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटानमा परेपछि आज कृष्णभीरमा झन्डै २० मिटर सडकको आधाभन्दा बढी भाग भासिएको हो।

    त्यसपछि उक्त सडकबाट सवारी आवागमन हुन नसक्ने स्थिति उत्पन्न भएको र बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले काठमाण्डूबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुईवटा वैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

    सुवेदीका अनुसार ठूला सवारीसाधनहरू काठमाण्डूबाट बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जान सक्ने छन् भने साना सवारीसाधन तथा माइक्रोबसले फर्पिङको बाटो प्रयोग गर्न सक्ने छन्।

    कान्ति लोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले राससलाई बताए।

    सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाण्डूबाट विज्ञहरूको टोली पठाइएको छ।

  14. नौवटा ब्याङ्क शाखा पूर्ण ध्वस्त, २७ कर्मचारी अझै बेपत्ता

    भोटेकोशीमा आएको बाढीका कारण विभिन्न नौवटा ब्याङ्कका शाखाहरू पूर्ण ध्वस्त भएको नेपाल ब्याङ्कर्स असोसिएशनले जनाएको छ।

    “हाम्रा २७ जना ब्याङ्क कर्मचारीहरू पनि हराइरहेको खबर प्राप्त भएको छ,” असोसिएशनका अध्यक्ष सन्तोष कोइरालाले भने।

    “हिमालयन, सानीमा, एनआईएमबी, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नबिल, प्रभु, एनएमबी सहितका ब्याङ्कका शाखाहरू क्षतिग्रस्त भएका छन्,” उनले बताए।

    ती ब्याङ्कहरूमा कति नगद थिए भन्ने यकीन विवरण सङ्कलन भइरहेको उनले बताए।

    निक्षेपकर्ताको पैसा के हुन्छ?

    ध्वस्त भएका ब्याङ्कहरूमा रहेका निक्षेपकर्ताहरूको रकम कतै खेर नजाने कोइरालाले बताए।

    “खास गरी टिमुरेमा नाकाको ब्याङ्क भएका हुनाले कर्जा त्यति नहोला। अरू निक्षेपको हकमा निक्षेपकर्तालाई फिर्ता गरिन्छ। भल्टमा भएका नगदको पनि बीमा गरिएको हुन्छ," उनले भने।

    नष्ट भएको नगद तथा अन्य सम्पत्तिको परिमाण केही दिनमा स्पष्ट हुने उनले बताएका छन्।

    बाढीले बगाएर ल्याएको शेफ फोड्नेहरू पक्राउ

    यसैबीच बाढीले बगाएर ल्याएको पैसा राख्ने शेफ धादिङको गल्छीमा फेला पारी तोडफोड गरी नगद पैसा चोरी गरेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ।

    प्रहरीका अनुसार शेफमा कति नगद थियो भन्ने स्पष्ट भएको छैन। तर खानतलासी गर्दा रु ९२ लाखभन्दा बढी बरामद भएको थियो।

  15. बाढीप्रभावित मानिसहरू चढेको बस दुर्घटनामा पर्‍यो, रसुवाबाट उद्धार भएपछि बर्दिया जाँदै थिए

    रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि रसुवाबाट उद्धार गरिएका मानिसहरू चढेको एउटा बस नवलपरासी पूर्वको डन्डामा दुर्घटनामा परेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    उक्त बस काठमाण्डूबाट बर्दिया जाँदै थियो। उनीहरू घर फर्किने क्रममा रहेको बताइएको छ।

    उक्त बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

    पाँच जनाको उपचार भइरहेको छ। उनीहरू बर्दिया, अछाम, बाँके, रुकुम पूर्व र सुर्खेतका हुन्।

    प्रहरीका अनुसार चार जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा र एक जनाको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ।

  16. मृतकको सङ्ख्या ७८८, अझै सयौँ जना बेपत्ता

    भोटेकोशी बाढीका कारण मारिनेहरूको सङ्ख्या ७८८ पुगेको नेपाल प्रहरीले जनाएको छ। विभिन्न आठ जिल्लामा शवहरू फेला परेका हुन्।

    • रसुवा - १३
    • नुवाकोट - ५२
    • धादिङ - ५०
    • गोरखा - ५८
    • चितवन - २६४
    • तनहुँ - ३७
    • नवलपरासी पूर्व - १९४
    • नवलपरासी पश्‍चिम -१२०

    आइतवार दिउँसो ३ बजेसम्मको अद्यावधिक जानकारीमा सो विवरण उल्लेख छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै झन्डै २,५०० मानिस सम्पर्कविहीन छन्।

    हालसम्म ८,७३० जनाको उद्धार गरिएको उसले जनाएको छ।

  17. माथिल्लो त्रिशूली ३ 'ए' को सुरुङभित्र फसेकाहरूको स्थिति अझै अज्ञात

    नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनिअर तथा तालिमप्राप्त कुकुरसमेतको विशेष खोज तथा उद्धार टोलीसहित तीनवटा सुरक्षा निकायका कुल ९० जना खटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार यसअघि दिउँसो २:०० बजे सुरुङको 'क्राउन हेड' अर्थात् मुख्य भागमा उद्धारकर्मीहरूले एउटा प्वाल बनाएका थिए।

    तर डोरीको सहायताले टोली तल झरेर बोलाउँदा "भित्रबाट कुनै प्रतिक्रिया नआएपछि" उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बुधवार आएको बाढीपछि रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा सयौँ मानिस फसेको बताइएको छ।

  18. काठमाण्डू जोड्ने एक प्रमुख सडक पृथ्वी राजमार्गमा 'ठूलो क्षति'

    पछिल्लो बाढीका कारण भएको कटानले पृथ्वी राजमार्गलाई ठूलो क्षति पुगेको सडक विभागका प्रमुखले बताएका छन्।

    सडक विभागका महानिर्देशक विजय जैसीले यसलाई रसुवा बाढीले नेपालको सडक संरचनामा पुर्‍याएको सबैभन्दा ठूलो क्षति भनेका छन्।

    गत बुधवारको विनाशकारी बाढीलगत्तै धादिङको कृष्णभीर क्षेत्रमा त्यस्तो कटान सुरु भएको थियो र आइतवार बिहानको बाढीले त्यसमा थप क्षति पुगेको थियो।

    सवारीसाधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न भनिएको जैसीले बताएका छन्।

    सडक विभागले यसअघि आफ्ना १९ वटा पुल र नुवाकोटबाट स्याफ्रुबेँसी र रसुवागढीसम्म जाने करिब ४० किलोमिटर बाटोमा क्षति पुगेको यसअघि बताएको थियो।

  19. बाढीबारे पूर्वसूचना दिन चुकेको हो?

    बुधवार नेपाल-चीन सिमानामा आएको बाढीको विनाश र विध्वंसका माझ त्यस्तो विपद्को पूर्वसूचनामा के कस्ता चुनौती देखिए भन्ने बारे बहस छेडिएको छ।

    समयमै सूचना दिन पाएको भए जनधनको क्षति केही कम हुन सक्थ्यो कि भन्ने तर्क कतिपयको छ।

    तर नेपाली अधिकारीहरूका अनुसार हाल वर्षापछि आउने बाढीको मात्र पूर्वानुमान गर्न सक्ने अवस्थामा उनीहरू छन्।

  20. बाढीमा मारिनेको सङ्ख्या ७५२, अझै २५ सय बेपत्ता

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी-त्रिशूली बाढीका कारण मारिनेहरूको सङ्ख्या ७५२ पुगेको जनाएको छ।

    मृतकका शवहरू विभिन्न जिल्लामा फेला परेका हुन्।

    • रसुवा - १३
    • नुवाकोट - ५२
    • धादिङ - ५०
    • गोरखा - ५८
    • चितवन - २५९
    • तनहुँ - ३६
    • नवलपरासी पूर्व - १८४
    • नवलपरासी पश्‍चिम -१००

    आइतवार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरणमा अझै २,५०२ मानिस हराइरहेको उल्लेख छ।

    प्राधिकरणले आज दिउँसो १ बजेसम्म २,५०२ जना सम्पर्कविहीन रहेको जनाएको छ। तीमध्ये झन्डै ६०० जना विदेशी पर्यटक हुन्। सम्पर्कविहीनहरूको सङ्ख्यामा सरकारी कर्मचारी, सुरक्षाकर्मी र जलविद्युत् आयोजनाका कर्मचारी पनि छन्।

    सरकारी निकायहरूका अनुसार खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी झन्डै २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

    अहिलेसम्म ८,७३० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।