लाइभ, भोटेकोशी-त्रिशूली बाढी : शव फेला क्रम पर्ने क्रम जारी, कम्तीमा १६२ जनाको मृत्यु भएको पुष्टि

रसुवामा बुधवार स्थानीय भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण धनजनको ठूलो क्षति भएको छ।

सारांश

  • रसुवामा बुधवार बिहान आएको बाढीका कारण धनजनको ठूलो क्षति, बिहीवार बिहानसम्म कम्तीमा १६२ जनाको शव फेला परेको प्रहरीद्वारा जानकारी
  • क्षतिबारे विवरण आउने क्रम जारी
  • बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारद्वारा आग्रह
  • विपद्‌का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह

लाइभ कभरेज

  1. बाढी आउनुअघि र आएपछिका स्याटलाइट तस्बिर

  2. सरकार र दल एकढिक्का हुनुपर्छ : रवि लामिछाने

    रवि लामिछाने

    तस्बिर स्रोत, RSS

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार र सबै राजनीतिक दललाई एकढिक्का भएर राहत तथा उद्धारमा खट्न आह्वान गरेका छन्।

    राष्ट्रिय समाचार समितिका अनुसार प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दलका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गरे।

    उनले राहत र उद्धारका लागि राजनीतिक दलहरूले एकीकृत खाका बनाएर काम गर्नुपर्ने तथा कुनै दलको झण्डाभन्दा देशको झण्डामुनि एकजुट हुनुपर्ने बताए।

    “यो विपत्तिमा पक्ष–प्रतिपक्ष होइन, एकैसाथ सरकारको साथमा छौँ भन्ने जुन उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षीलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

    “नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्वपूर्ण कुरा हो,” लामिछानेले भने, “सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउने छ भन्ने विश्वास छ।”

  3. लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

    रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० कर्मचारी सम्पर्कविहीन रहेको राससले जनाएको छ। लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित कर्मचारीहरू सम्पर्कविहीन भएकाले भन्दै खोजीका लागि सरकारलाई आग्रह गरेका छन्। “आयोजनाको सुरुङको क्रङ्क्रिट ढलानको काम भइरहेको थियो। सो कार्यमा ६० भन्दा धेरै कर्मचारी सम्पर्कविहीन हुनुभएको छ। त्यसैले खोजी गर्नका लागि सरकारसँग अनुरोध गर्दछु,” उनले रासससँग भने।

    राससका अनुसार बाढीले जलविद्युत् आयोजनाको संरचनामा गम्भीर क्षति पुर्‍याएको छ।

    भट्टराईलाई उद्धृत गर्दै राससले बाढीका कारण नदीको सतहभन्दा १० मिटरमाथि रहेको सुरुङमा समेत असर पुगेको विवरण राससले प्रकाशित गरेको छ।

  4. २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन : नेपाल पर्यटन बोर्ड

    विभिन्न ट्राभल एजेन्सीहरूले दिएको विवरणअनुसार रसुवा जिल्लामा भोटेकोशी नदीमा बाढी आएपछि २९१ जना विदेशी पर्यटक र ९३ जना नेपालीहरू सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    बोर्डका अनुसार त्यसरी सम्पर्कविहीन बनेका पर्यटकमा सबैभन्दा धेरै १०० जनाभन्दा बढी भारतका छन्। त्यसबाहेक ३७ जना गैरआवासीय भारतीयहरू रहेको जानकारी सम्बद्ध ट्राभल कम्पनीहरूले दिएको बोर्डले जनाएको छ।

    बोर्डका अनुसार सम्पर्कविहीन अरू पर्यटकमा १७ जना मलेशिया, १२ जना यूकेका र ४ जना दक्षिण अफ्रिकाका भएको जानकारी प्राप्त भएको छ। तर झन्डै १०० जनाको राष्ट्रियता अझै पुष्टि भइनसकेको बोर्डले जनाएको छ।तिब्बतस्थित कैलास मानसरोवर र रसुवास्थित गोसाईँकुण्ड जाने तीर्थयात्रीहरू एवम् लाङटाङ राष्ट्रिय निकुञ्जममा पदयात्रा गर्न जाने मानिसहरू रसुवा जाने गर्छन्।

  5. त्रिशूली नदीमा पानीको तह

    जल तथा मौसम विज्ञान विभागले धादिङ जिल्लाको फुर्केखोलामा त्रिशूली नदी आज बिहान खतराको तहभन्दा पनि माथि पुगेको जनाएको छ।

  6. विभिन्न जिल्लामा १७ जनाको शव फेला पर्‍यो : नेपाल प्रहरी

    नेपाल प्रहरीले रसुवामा बिहान आएको बाढीका कारण विभिन्न जिल्लामा ज्यान गएका कम्तीमा १७ जनाको शव फेला परेको पुष्टि गरेको छ।

    प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले रसुवामा १ पुरुष, नुवाकोटमा ३ महिला र ४ पुरुष, धादिङमा ३ महिला र २ पुरुष अनि गोरखामा १ पुरुषको शव फेला परेको बताए।

    धादिङमा ज्यान १ जना र गोरखामा २ जनाको पहिचान खुल्न नसकेको उनले जनाए।

  7. घाइतेको उद्धार र उपचार हुँदै

    नेपाली सेनाले बाढीबाट प्रभावित विभिन्न स्थानहरूबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि लगेको अधिकारीहरूले बताएका छन्।

    उद्धारकार्यका लागि नेपाली सेनाका र निजी कम्पनीहरूका हेलिकप्टर पनि प्रयोग भएको छ।

    रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्वार गर्दै नेपाली सेना

    तस्बिर स्रोत, PMO/RSS

    रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्वार गर्दै नेपाली सेना

    तस्बिर स्रोत, PMO/RSS

    नुवाकोटका विभिन्न स्थानमा बाढीबाट बच्न भाग्ने क्रममा घाइते भएकाहरूको विदुरस्थित चक्रदेव अस्पतालमा उपचार हुँदै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नुवाकोटका विभिन्न स्थानमा बाढीबाट बच्न भाग्ने क्रममा घाइते भएकाहरूको विदुरस्थित चक्रदेव अस्पतालमा उपचार हुँदै गरेको राससले जनाएको छ
    नुवाकोटका विभिन्न स्थानमा बाढीबाट बच्न भाग्ने क्रममा घाइते भएकाहरूको विदुरस्थित चक्रदेव अस्पतालमा उपचार हुँदै गरेको राससले जनाएको छ

    तस्बिर स्रोत, RSS

  8. नुवाकोटको देवीघाटका केही तस्बिर

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको तटमा अवस्थित नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित देवीघाट बजार

    तस्बिर स्रोत, RSS

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको तटमा अवस्थित नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित देवीघाट बजार पनि प्रभावित भएको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको तटमा अवस्थित नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित देवीघाट बजार

    तस्बिर स्रोत, रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको तटमा अवस्थित नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित देवीघाट बजार

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको तटमा अवस्थित नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित देवीघाट बजार

    तस्बिर स्रोत, RSS

  9. कारागारमा पनि बाढी पस्यो

    नुवाकोटको विदुर नगरपालिकाको खम्पाक्याम्पस्थित केन्द्रीय कारागार

    तस्बिर स्रोत, RSS

    रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिकाको खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा बाढीले क्षति पुर्‍याएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राससका अनुसार त्यहाँको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा टोलीको भवनमा क्षति पुगेको छ भने कारागारमा आंशिक असर परेको छ।

    कारागारमा रहेका कैदीबन्दीलाई सुरक्षित ब्लकमा सारिएको बुझिएको छ।

    नुवाकोटको विदुर नगरपालिकाको खम्पाक्याम्पस्थित केन्द्रीय कारागार

    तस्बिर स्रोत, RSS

    नुवाकोटको विदुर नगरपालिकाको खम्पाक्याम्पस्थित केन्द्रीय कारागार

    तस्बिर स्रोत, RSS

  10. उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी सङ्घसंस्थालाई आह्वान

    भीषण बाढीले रसुवा, नुवाकोट लगायत विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्‍याएसँगै समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ।

    परिषद्ले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह समेत गरेको छ।

    “साथै गैरसरकारी सङ्घसंस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई गराउन अनुरोध गरिएको छ,” परिषद्‌ले एउटा सूचनामा भनेको छ।

  11. नेपाललाई आवश्यक सहयोग गर्न भारत र चीनको प्रस्ताव

    मन्त्रिपरिषद् बैठक

    तस्बिर स्रोत, PM Secretariat

    रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आएको बाढी पछि उद्धार र राहतका लागि चीन र भारतका सरकारसँग संवाद भइरहेको सरकारका प्रवक्ताले बताएका छन्।

    “चीन सरकारसँग र भारत सरकारसँग पनि संवाद भइरहेको छ । परराष्ट्र मन्त्रालय मार्फत् समन्वय भइरहेको छ। चीन सरकारले आवश्यक सहयोग गर्ने पनि जानकारी गराएको छ भारत सरकारले पनि गराएको छ,” सरकारका प्रवक्ता सस्मित पोखरेलले भने।

    विपद्‌पछि बसेको मन्त्रिपरिषद् बैठकले उद्धार र राहतका लागि सरकारी र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय गरेको शिक्षामन्त्री समेत रहेका पोखरेलले जानकारी दिए।

    प्रवक्ता पोखरेलका अनुसार भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

    उनले घर बगाएकाहरूलाई खाने बस्ने व्यवस्था मिलाउन, सडक पुन: सञ्चालनमा ल्याउन र खानेपानीको व्यवस्था मिलाउन तथा बिद्युत् आपूर्ति र दूरसञ्चारको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको बताएका छन्।

    सरकारले मृतकका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने र विपद्‌बाट प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको छ।

    सरकारका प्रवक्ताले उद्धारका लागि हेलिकप्टर आवश्यक परे आपत्कालिन सहायता नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

  12. हेलिकप्टर तथा ड्रोन सञ्चालकसँग प्राधिकरणको विशेष अनुरोध

    राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपछि खोज एवं उद्धार कार्यमा हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घसंस्थालाई सरकारी निकायसँग समन्वय गर्न अनुरोध गरेको छ।

    “वायुसेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घलगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गर्छ,” प्राधिकरणले एउटा सूचनामार्फत् भनेको छ।

    प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिले उद्धारका लागि ध्यानाकर्षण गराउन आफू रहेको/बसेको ठाउँमा आगो बाली धुँवा निकालेर सङ्केत गर्न अनुरोध समेत गरेको छ। अधिकारीहरूका अनुसार बुधवार बिहान रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् र ती जिल्लामा विपद्‌मा परेका व्यक्तिहरूको उद्धार कार्य जारी छ।

    नेपाल प्रहरीले जारी गरेको उच्च सतर्कतामा परेका जिल्लाहरू
  13. १९ पुल, ४० किलोमिटर सडक 'क्षतिग्रस्त' – सडक विभाग

    सडक विभागका अनुसार हालसम्म त्रिसुली नदीका विभिन्न भागमा अवस्थित १९ वटा पुलमा बाढीले क्षति पुर्याएको छ।

    विभागका अनुसार कम्तीमा ४० किलोमिटर सडक क्षेत्र पनि क्षतिग्रस्त भएको छ।

  14. 'ऐतिहासिक त्रिशूली बजारमा ठूलो क्षति' - वडाध्यक्ष, निरञ्जन राजवंशी, बीबीसी न्यूज नेपाली

    त्रिशूली बजारमा बाढी

    तस्बिर स्रोत, Lenin Ranjit

    रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको ऐतिहासिक त्रिशुली बजार लगभग डुबाएको अवस्थामा रहेको विदुर नगरपालिका वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितले बताएका छन्।

    उनले बीबीसीसँग भने, "बजारको आधाभन्दा बढी क्षेत्र पूरै डुबेको छ। त्रिशूली जलविद्युत् गृह, बजारका नयाँ र पुराना दुइटै पक्की पुल, त्रिशूली स्कूल, मन्दिर र घरहरू सबै नै बगाएका छन्। छेउको ढुङ्गेबजार पनि पूरै डुबेको छ।"

    उनले भौतिक मात्र नभई मानवीय क्षति पनि भएको तर त्यसको यकिन तथ्य नभएको बताए।

    उनले भने, "साथीहरूले आँखैअगाडि मानिसहरू बगाएको देखेका छन्। बजारका कतिपय बासिन्दासँग सम्पर्क हुन सकिरहेको छैन।"

    उनले उद्धारका लागि हेलिकप्टर मगाउने प्रक्रिया चलिरहेको पनि बताए।

    अहिले बजारका बासिन्दाहरु विदुर र कलोनी क्षेत्रमा आश्रय लिइरहेका छन्। उनका अनुसार त्रिशूलीवासीहरूलाई बाढी आउने सूचना दिँदै तत्काल ठाउँ छोड्न भनिएको थियो र माइकिङ पनि गरिएको थियो। तर कतिपयले विश्वास नगर्दा पनि क्षति अझ बढेको हुन सक्ने उनको भनाइ छ।

    वडाध्यक्ष रञ्जितले भने, "खोलाछेउको तल्लो बजारका बासिन्दाहरूले तत्काल ठाउँ छोडे पनि माथिल्लो बजारका स्थानीयवासी भने सर्न बाँकी थियो। पहिला पनि यस्ता हल्लाहरू चल्दा बजार बगाउने गरी भने कहिल्यै बाढी आएको थिएन । यति भयानक बाढी आउने कल्पनै गरिएको थिएन।"

    उनले भने, "म माइकिङ गरेर त्रिशूलीको पुरानो पुल तर्दातर्दै बाढी आयो। नयाँ पुलमा पुग्दा खुट्टाखुट्टासम्म पानी आइसकेको थियो। जसोतसो ढुङ्गेमा पुगेर जोगिएँ।"

    यसअघि विसं २०४२ सालमा रसुवाको धुन्चे क्षेत्रमा पहिरो गई त्रिशुली खोला थुनिँदा बजार बगाउने डरले पूरै बजार खाली गरिएको जानकारहरू बताउँछन्। तर सो बाढी बजारभित्र भने पस्न सकेको थिएन।

    'साँघुबजार'को नामले पनि चिनिने नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा लगभग ५०० घरपरिवार रहेको र त्यहाँको जनसङ्ख्या २,००० भन्दा बढी रहेको अधिकारीहरूको भनाइ छ।

  15. रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् कम्पनीमा क्षति

    बाढीमा परेको जलविद्युत्  गृह

    तस्बिर स्रोत, RSS

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईप्पानले तिब्बतबाट भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको जनाएको छ।

    ईप्पानका अध्यक्ष मोहन डाँगीले निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका निजी र सरकारी समेत गरी १३ वटा बिद्युत् आयोजनामा क्षति पुगेको बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

    उनका अनुसार रसुवामा ७ वटा र नुवाकोटमा छ वटा आयोजनामा क्षति पुगेको छ।

    ईप्पानका अध्यक्ष डाँगीले क्षतिको हदबारे थाहा नभएको बताए।

    उनले जलविद्युत् आयोजनामा मानिसहरू फसे वा नफसेकोबारे बुझ्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

    कतिपय आयोजनाका उत्पादन गृह र अन्य पूर्वाधार नदी छेउमा रहेका कारण मानिसहरू फसेको हुनसक्ने आशङ्का गरिएका छन्।

  16. चीनसँगका दुवै ठूला नाका बन्द

    भोटेकोशीको बाढी

    तस्बिर स्रोत, RSS

    तिब्बतबाट आएको बाढीले रसुवा र नुवाकोट क्षेत्रमा सडक र अन्य पूर्वाधार बगाएसँगै चीनसँगको प्रमुख नाका फेरि बन्द भएको छ।

    गत वर्षको बाढीका कारण लामो समयपछि खुलेको रसुवागढी नाकसम्म पुग्ने सडक र कैयौँ पुलहरू बगाएको विवरण आएका छन्।

    बाढी र पहिरोले सडक भत्काउँदा डेढ महिनाभन्दा लामो समयदेखि अर्को प्रमुख नाका तातोपानी पनि बन्द रहँदै आएको छ।

    काठमाण्डू नजिकका दुवै नाका बन्द हुँदा यसको ठूलो असर चीनसँगको व्यापारमा पर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले बताए।

  17. उद्धारमा जुट्न चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको निर्देशन

    तिब्बतमा भएको प्राकृतिक विपद्‍मा ‘उल्लेख्य’ क्षति पुगेको भन्दै ‘पूर्ण आकारको उद्धार कार्य’मा जुट्न प्रधानमन्त्री ली चियाङले निर्देशन दिएको चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ।

    राष्ट्रपति सी जिन्पिङले पनि बाढी नियन्त्रणको वर्तमान अवस्था ‘निकै संवेदनशील चरण’मा रहेको बताएका छन्।

    राष्ट्रपति सीले सबै क्षेत्र र सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउँदै जोखिम तथा खतराहरूको पहिचान र निराकरणलाई तीव्रता दिनुपर्ने बताएको सीसीटीभीले जनाएको छ।

  18. २०० वटाभन्दा धेरै ट्रक बगाएको आशङ्का, कैयौँ मानिस सम्पर्कविहीन, अशोक दाहाल, बीबीसी न्यूज नेपाली

    बाढीमा बगेका ट्रकहरू

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नुवाकोटमा बाढीमा बगेका ट्रकहरू देखिएका छन्

    नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले रसुवागढी नाकामा सामान ढुवानीका पुगेका २०० वटाभन्दा धेरै ट्रकहरू बगाएको अनुमान गरिएको बताएका छन्।

    उनले कैयौँ कामदारहरू पनि सम्पर्कविहीन रहेको जानकारी दिए।

    “२०० वटा भन्दा बढी मालवाहक गाडी बगायो भन्ने छ। यार्डमा भएको गाडी एउटा पनि छैन,” कार्की भन्छन्।

    “हाम्रा धेरै मान्छेहरू सम्पर्कविहीन छन्। अहिले करिब २०-३० जना सम्पर्कमा भएको अवस्था छ।”

  19. वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या तयार

    स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको जनाएको छ ।

    हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरेर काठमाडौँ ल्याइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपालका बाढी पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण डब्लूएचओले पठाउन लागेको प्रधानमन्त्रीको सचिवालयका सुरेन्द्र बजगाईँले जानकारी दिएका छन्।

  20. , चारको मृत्यू, ३० को उद्धार

    नेपाल प्रहरीले हालसम्म बाढीका कारण नुवाकोटमा ४ जनाको ज्यान गएको जानकारी दिएको छ। प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले अहिलेसम्म ३० जनाको उद्धार गरिएको र त्यसमध्ये ३ जनालाई उपचारका लागि काठमाण्डू ल्याइएको बताए। नेपाल प्रहरीका ३२ जना सम्पर्कविहीन रहेको उनको भनाइ छ।