पर्यटन प्रवर्धनमा 'कन्टेन्ट क्रिएशन': नेपालमा त्यो कति प्रभावकारी छ?

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: २ मिनेट
नेपालमा पर्यटन प्रवर्धनका लागि आन्तरिक रूपमा कन्टेन्ट क्रिएटरहरूको भूमिका उल्लेख्य देखिन थाले तापनि अब त्यसलाई अन्तर्राष्ट्रिय रूपमा व्यापक बनाउनुपर्ने चुनौती रहेको अधिकारी तथा विज्ञहरूले बताएका छन्।
नेपाल पर्यटन बोर्डका अधिकारीहरूले यतिखेर आफ्नो ध्यान सामाजिक सञ्जाल कम्पनी र कन्टेन्टहरू राखिने डिजिटल मञ्चहरूसँग प्रत्यक्ष सहकार्य, स्वदेशी कन्टेन्ट क्रिएटरहरूको क्षमता वृद्धि र ती कम्पनीहरूसँग स्वदेशी क्रिएटरहरूलाई जोड्दै प्रवर्धनका काम गरिरहेको बताएका छन्।
"पर्यटन बोर्डले एकातर्फ आफ्नै प्लेटफर्ममार्फत् कन्टेन्ट प्रवर्धन गर्छ। त्यसका लागि सयौँको सङ्ख्यामा स्वदेशी क्रिएटरहरूलाई क्षमता विकास गर्ने काम गरिरहेको छ," बोर्डका प्रवक्ता सुनिल शर्माले बीबीसीसँग भने।
"वहाँहरूले हाम्रा लागि कन्टेन्टहरू बनाइदिइरहनु भएको छ। बोर्डले टिकटकसँग एउटा सम्झौता गरेको छ जसअनुसार हामीले शेअर गर्ने हरेक कन्टेन्ट नेपाल ल्यान्डिङ पेजमा पुग्ने र वहाँहरूले तय गरेको अल्गोरिदममार्फत् प्रवर्धन हुने व्यवस्था गरिएको छ।"
उनले भने झैँ उक्त अभियानअन्तर्गत टिकटकले युरोप, मध्यपूर्व, दक्षिण पूर्वी एसिया र साउथ एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई कात्तिकमा नेपाल ल्यायो।
उनीहरू ३० अक्टोबरदेखि ७ नोभेम्बरसम्म नेपालमा विभिन्न स्थानको भ्रमण गरेर आफ्ना अनुभव संसारभर पुग्ने गरी तयार गर्ने पुर्याउने अपेक्षा बोर्डले गरेको छ।
त्यसका साथै टिकटकसँगको सम्झौतामा स्वदेशी क्रिएटरहरूले नै बनाएका ५० वटा बोर्डले चुनेका भिडिओ प्रवर्धन हुनेछन्।
'अनियन्त्रित प्रचार'
"प्रचार हुँदा, जहाँ पनि, जे पनि, जसरी पनि भइदिँदा कहिलेकाहीँ आतिथ्य गर्ने गन्तव्य तयार नभईकनै पनि चर्चा धेरै हुन सक्छ," पर्यटनविज्ञ दीपकराज जोशी भन्छन्।
"त्यसो हुँदा ती गन्तव्य दीर्घकालीन रूपमा दिगो हुन नहुन सक्ने जोखिम रहन्छ।"
त्यसो हुँदा जिम्मेवार निकायहरू समेत साथसाथै सचेतनामूलक र सूचनामूलक सामग्री विकासमा लाग्नुपर्ने हुने जोशी बताउँछन्।
"नेपालमा त्यस्ता कन्टेन्टहरू कमै देखिन्छ," जोशी थप्छन्।
नेपाल आउने पर्यटकहरूको एउटा ठूलो हिस्सा 'प्याकेज टूर' मार्फत् छ। त्यसले गर्दा अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूको औचित्य अझै नसकिए तापनि स्वतः स्फूर्त रूपमा बन्ने कन्टेन्टले सबैतिर पर्यटकीय माहोल बदलिरहेको जानकारहरू बताउँछन्।
"विभिन्न देशमा हुने ट्राभल कम्पनीहरूबीचको सहकार्यको औचित्य अझै छ। कन्टेन्ट क्रिएशनले माग बढाउँछ। पर्यटकहरू आउने माध्यम परम्परागत नै रहन सक्छन्," जोशी भन्छन्।
"ब्रोशर, बुकलेट छापेर पर्यटन प्रवर्धन हुने तरिका अहिले एकदमै घटिसकेको अवस्था छ।"
लक्षित समूह को?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
नेपालका कन्टेन्टहरू अन्तर्राष्ट्रिय जगतमा हावी हुन अझै सङ्घर्ष गरिरहेका भए पनि नेपालबाहिर रहेका नेपालीमाझ लोकप्रिय बनिरहेको जानकारहरू बताउँछन्।
"डायस्पोरासम्म पुग्दा केही न केही लाभ अन्तर्राष्ट्रिय समूदायलाई पुग्छ। तर सिधा पहुँच अझै भइसकेको देखिँदैन," जोशी भन्छन्
नेपाल पर्यटन बोर्डले पछिल्ला केही वर्षदेखि त्यस्तो रणनीति फेर्दै अहिले त्यसलाई 'इन्फ्लुएन्सर्स'तर्फ मोडेको पर्यटन अधिकारीहरू बताउँछन्।
उनीहरूले अब आफूले चाहेका ठाउँमा त्यस्ता कन्टेन्टहरू चलाउने, त्यसको माहोल बनाउन सक्ने गरी अब त्यस प्रकारका प्रविधिमा लगानी बढाउनुपर्ने देखिएको बताउँछन्।
"२०७२ सालको भुकम्पपछि नेपालको पर्यटनलाई पुनरुत्थान गर्ने क्रममा हामीले एउटा त्यस्तै सहकार्य ट्रिप एड्भाइजरसँग गरेका थियौँ। जहाँ नेपालको विशेषतासँग मिल्दाजुल्दा कुराहरू, जस्तो एड्भेन्चर, पीस, ट्रेकिङ, माउन्टेनिअरिङ, जस्ता शब्दावली खोज्दा नेपाललाई पनि सुझाउने गर्थ्यो," बोर्डका पूर्वप्रमुख समेत रहेका जोशी भन्छन्।
"अहिले एआई (आर्टिफिसिअल इन्टलिजेन्स)को सहायताले त्यस्ता धेरै काम गर्न सकिने अवस्था आएको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















