ट्रम्प, पुटिन र सीबीच हुने ऐतिहासिक बैठकले विश्वका लागि के अर्थ राख्छ

ट्रम्प पुटिन र सीको तस्बिर
तस्बिरको क्याप्शन, पुटिन र सीबीच हालसम्म ४० पटक, ट्रम्प र पुटिनबीच सात पटक अनि ट्रम्प र सीबीच तीन पटक भेट भएको छ। तर तीनै जनाको संयुक्त भेट अहिलेसम्म भएको छैन
    • Author, ग्रेगोर आथानेजिअन
    • Role, बीबीसी न्यूज रसियन, अन्लाइन संवाददाता
  • Published
  • पढ्ने समय: ६ मिनेट

चीन, रुस र अमेरिकाका शीर्ष नेताहरूबीच हुन लागेको त्रिपक्षीय वार्ताले युरोपलाई झस्काएको छ। कतिपयले यो भेटलाई दोस्रो विश्वयुद्धपछिको अवस्थासँग समेत तुलना गर्न थालेका छन्।

मस्कोको रेड स्क्वाएरमा गत नोभेम्बरमा विद्यालय तहका विद्यार्थीहरूसँग एक प्रदर्शनीको अवलोकन गरिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सालिकहरू रहेको स्थानमा पुगेर अडिए। त्यहाँ सन् १९४५ याल्टा सम्मेलनको बेलाका ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकी राष्ट्रपति फ्रान्क्लिन डी रुजभेल्ट र सोभियत सङ्घका प्रधानमन्त्री जोसेफ स्टालिनका सालिक थिए।

"उनीहरू तीन प्रमुख शक्तिका नेताहरू थिए। उनीहरू युद्धपछि विश्व कसरी व्यवस्थित हुनुपर्छ भनेर छलफलका लागि एकैठाउँ आए," पुटिनले विद्यार्थीहरूलाई भने।

त्यसको अघिल्लो दिन मात्रै चीनको विदेश मन्त्रालय र क्रेम्लिनले पुटिन, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेट हुन लागेको घोषणा गरेका थिए।

यो भेट नोभेम्बर १८ र १९ मा चीनको सेन्जेहानमा हुने एशिया-प्यासिफिक आर्थिक सहकार्य 'एपेक' सम्मेलनका क्रममा हुने दुई देशले बताएका थिए। शुक्रवार ह्वाइट हाउसकी प्रवक्ता ओलिभिआ वेल्सले उक्त भेट हुन लागेको पुष्टि गरिन्।

मध् अक्टोबरमा क्रेम्लिनले यस्तो बैठकको प्रस्ताव गरेको विवरण सार्वजनिक भएपछि त्यसले युरोपेली सङ्घ र युक्रेनमा चासो र चिन्ता जन्माएको थियो। धेरैलाई यसले हिटलरविरोधी कित्ताका नेताहरूबीच ब्ल्याक सीको याल्टामा एक रुसी सम्राट्को निवासमा भएको भेटको झल्को दियो।

उक्त स्थानमा भएको सम्झौताले पूर्वी युरोपमा रुसी प्रभाव स्वीकार गरेको ठानिन्छ। जर्मनीमाथि विजय हासिल गरेपछि जापानविरुद्धको युद्धमा सहयोग गर्ने स्टालिनको वाचाका लागि पूर्वी युरोपभरि सोभियत प्रभाव विस्तार गर्न अन्य शक्तिहरू तयार भएका थिए। यसलाई साना देशहरूको सहमतिबिनै उनीहरूको हितलाई बेवास्ता गरेर कसरी शक्तिराष्ट्रहरूले निर्णय गर्छन् भन्ने उदाहरणका रूपमा पनि युरोपमा बुझ्ने गरिएको छ।

विन्स्टन चर्चिल, रुजभेल्ट र स्टालीनको श्यामश्वेत तस्बिर
तस्बिरको क्याप्शन, सन् १९५०को दशकबाटै याल्टा सम्झौतालाई खराब सम्झौताको समानार्थीका रूपमा कतिपयले चर्चा गर्न थालेका थिए

"म यो याल्टा भाग २, ३ वा ४ नहोस् भन्ने चाहन्छु," युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्।

"रुसी अधिकारीहरूले जसरी यसलाई याल्टाकै नयाँ रूपका दृष्टिमा चर्चा गरिरहेका छन्। त्यसरी नै घटनाक्रम अघि बढे भने अलास्कापछि यो रूपका लागि दोस्रो ठूलो कूटनीतिक विजय हुने छ।"

जर्मन चान्सलर फ्रिड्रिख मेर्ट्ससहितका नेताहरूले युक्रेन युद्ध अन्त्यसम्बन्धी जुनसुकै छलफलमा पनि युरोपलाई सहभागी गराइनुपर्ने बताउँदै आएका छन्।

"युरोपले यो प्रक्रियामा आफ्नो भूमिका निर्वाह गर्न चाहेको छ," मेर्ट्सले भनेका छन्।

"प्रतिबन्ध हुन् वा भविष्यका सुरक्षा अवधारणाहरू सबै खाले शान्ति स्थापनका मुख्य मुद्दाहरू युरोपेलीको सहभागितामा मात्रै समाधान हुन सक्छन्। यो कुरा वार्ताका सबै पक्षलाई थाहा पनि छ।"

'असामान्य प्रारूप'

पुटिनले युक्रेन युद्ध आफ्नो अनुकूलतामा अन्त्य गर्ने उद्देश्य राखेका विवरणहरू वाल स्ट्रीट जर्नलले प्रकाशित गरेको छ। तर उनले यसका लागि ट्रम्पसँग के छलफल चाहेका छन् भन्ने स्पष्ट छैन।

"कुनै न कुनै रूपमा युक्रेनको विषय त्यहाँ उठिहाल्छ," रुसी राष्ट्रपतिका एक सहयोगी युरी युशाकोफले भने।

"यो असामान्य र उच्चस्तरीय शैलीको बैठकमा के कुरामा छलफल गर्न सकिन्छ भनेर अहिलेसम्म प्रारम्भिक रूपरेखा मात्रै बनाइएको छ।"

ट्रम्पले छलफलको विषयमा युक्रेन रहेको अस्वीकार गर्दै भनेका छन् : "हामी परमाणुअस्त्र र परमाणुनिरस्त्रीकरणबारे छलफलका लागि भेट्न सक्छौँ।"

वाशिङ्टनस्थित अमेरिकन विश्वविद्यालयका सहप्राध्यापक जोसेफ टोरिजिअनका अनुसार युरोपलाई अलग गरेर युक्रेनबारे हुने वार्तामा चीन सहभागी हुन चाहेको छैन। आफूले रुसलाई समर्थन गरेको भन्ने छाप मेटाउन पनि चीनले यो नीति लिएको उनी बताउँछन्।

कतिपय चिनियाँ प्रभावशाली व्यक्तिहरूले पछिल्ला वर्षहरूमा युरोपेली सङ्घलाई बेवास्ता गरे पनि प्रमुख व्यापार साझेदारका रूपमा युरोपेली देशहरूसँग राम्रो सम्बन्ध कायम गर्न उनीहरू इच्छुक देखिन्छन्।

बेइजिङ परमाणुअस्त्रबारेको छलफलमा पनि शङ्कालु रहेको टोरिजिअनको बुझाइ छ।

"उनीहरू आफूसँग सानो आकारको परमाणु कार्यक्रम रहेका कारण त्यसको फाइदा यसको पारदर्शितामा रहेको ठान्छन्," उनी भन्छन्।

'शान्तिस्थापना'

यस्तो किसिमका बैठकमा रुसको चासो स्वाभाविक छ। उसले युक्रेनबारेको वार्तामा युरोपलाई अलग गर्न चाहन्छ र अन्तर्राष्ट्रिय मञ्चमा मस्कोलाई एक्ल्याउन सकिँदैन भन्ने सन्देश दिन चाहन्छ।

अनि अमेरिकी नेताको आह्वान पनि स्पष्ट छ।

"यो किसिमको भव्य बैठकका लागि ट्रम्प उत्साहित छन्," टोरिजिअन भन्छन्।

"उनी शान्तिस्थापना गर्न आफूले शक्तिराष्ट्रहरूलाई एक ठाउँमा ल्याएको कथा सुनाउन व्यग्र छन्।"

तात्कालिक सोभियत सङ्घका मागहरू

बेइजिङका हकमा यसको प्रतिफल स्पष्ट छैन।

टोरिजिअनका अनुसार याल्टाको सम्मेलन चिनियाँहरूका हकमा सुखद स्मृति होइन। मन्चुरियामा स्टालिनले सोभियत हित सुरक्षित गरेकोमा उनीहरू आक्रोशित थिए।

"सन् १९४९को कम्युनिस्ट विजयपछि माओत्सेतुङले पनि के सोचेका थिए भने याल्टामा सोभियतले मागेका र त्यसपछि पनि दोहोर्‍याइरहेका कुरा ठूलो तटीय क्षेत्र थियो," टोरिजिअन भन्छन्।

चीन र सोभियत सङ्घबीच त्यसलगत्तैको विभाजनमा यो कुराले पनि केही हदसम्म भूमिका खेलेको थियो।

पूर्वी युरोपकै प्रसङ्गमा फर्केर हेर्दा इतिहासविद्हरू यो क्षेत्रमा सोभियत प्रभावको विस्तारलाई रोक्न नसकिने एउटा यथार्थताको रूपमा स्वीकार गर्ने विषयमा अहिले पनि बहस गर्छन्। किनभने सन् १९४५ को फेब्रुअरीमै 'रेड आर्मी'ले पूर्वी युरोपका रुमेनिया, बल्गेरिया र पोल्यान्ड, हङ्गेरी अनि चेकोस्लोभाकियाका ठूलो क्षेत्र ओगटिसकेका थिए।

अहिले रुसको सेनाले आफ्नो भूमि हुनुपर्छ भनेर दाबी गरेका पूर्वी युक्रेनका सबै भूभाग सन् १९४५मा जस्तो आफ्नो नियन्त्रण लिइसकेको छैन।

अर्को कुरा, चीनमा हुन लागेको सम्मेलनको एउटा पक्ष मात्रै युद्धमा सहभागी छ।

अन्तर्राष्ट्रिय प्रतिष्ठा

टोरिजिअनका अनुसार विश्वलाई आफ्नो प्रभाव क्षेत्रका रूपमा वर्गीकरण गरेर हेर्न रुचाउने देश रुस मात्रै हो।

ट्रम्प प्रशासनका समयमा अमेरिकी प्रभाव क्षेत्रको राष्ट्रिय सुरक्षा रणनीति अङ्गीकार गरिए पनि अमेरिका आफैँ ताइवानलाई आफूले दिएको समर्थन फिर्ता लिन तयार छैन। अर्कोतर्फ ल्याटिन अमेरिकामा चीनको उपस्थिति अमेरिकाका लागि महत्त्वपूर्ण छ।

रुसले पनि आफूलाई अमेरिका र चीनजत्तिकै महाशक्तिको रूपमा हेर्ने गरेको छ। अनि चिनियाँ वक्तव्यहरूमा रुसलाई बराबरको शक्तिका रूपमा उल्लेख गर्ने गरिएका छन्।

"तर भित्री रूपमा चिनियाँ विज्ञहरू र नेतृत्वले रुसलाई आफू सरहको शक्तिका रूपमा कहिल्यै स्वीकार गर्दैनन्," ग्लास्गो विश्वविद्यालयका मार्चिन न क्याचमर्स्की बताउँछन्।

"चिनियाँ नेतृत्व र प्रभावशाली व्यक्तिहरूले संयुक्त राज्य अमेरिकालाई मात्रै आफू बराबरको शक्ति ठान्छन्," उनी थप्छन्।

क्याचमर्स्कीका अनुसार त्रिपक्षीय सम्मेलनले बेइजिङको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्न सक्छ।

अनि राष्ट्रपति सीलाई भेट्न विश्वका नेताहरू पुगेको देखाएर चीनले उनलाई विश्वका नेताको रूपमा चित्रण गर्न खोजेको छ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि विश्वमञ्चमा ट्रम्पको स्थान पनि केही अनिश्चित बनेको छ।

चीनले उनको अन्तर्राष्ट्रिय स्थान बलियो बनाइदिन खोजेको हुन सक्नेमा क्याचमर्स्कीलाई शङ्का छ। उनलाई सेन्जेहानमा हुन लागेको भेटवार्ताबारे नै आशङ्का छ।

लिथुआनियामा जर्ज डब्लू बुश

सन् २००० ताका पूर्वी युरोपको भ्रमणमा पुगेका तात्कालिक अमेरिकी राष्ट्रपति जोर्ज डब्ल्यू बुशले याल्टा सम्झौतालाई "ऐतिहासिक दुष्टता" भनेका थिए।

उनको भनाइ पुटिनप्रति लक्षित रहेको न्यूयोर्क टाइम्सले जनाएको थियो।

आफ्ना छिमेकीको मामिलामा हस्तक्षेप गर्ने हक रुसलाई नभएको भन्दै उनले सोभियत सङ्घको कदमबारे रुसले माफी माग्नुपर्ने बताएका थिए।

बुशले सन् २००२ मा लिथुआनिया पुगेर भनेका थिए, "अब कुनै याल्टा दोहोरिँदैन।"

त्यसको झन्डै २५ वर्षपछि पुटिनले अमेरिका र चीनका नेताहरूसँग याल्टा सम्मेलनसँग कुनै न कुनै रूपमा मिल्दोजुल्दो ढाँचामा बैठक गर्न सफल भए त्यो उनका लागि प्रतीकात्मक विजय हुने छ।

बैठकबाट कुनै ठोस परिणाम ननिस्किए पनि त्यसलाई उनले आफ्नो साङ्केतिक जितका रूपमा अर्थ्याउने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।