स्टारलिङ्क सेवामा रहेको गतिरोध हटाउन जेलेन्स्कीद्वारा अमेरिका र मस्कलाई आग्रह

युद्धमा सेना
तस्बिरको क्याप्शन, अवरोधले गर्दा रुसी क्षेप्यास्त्र र ड्रोन हमलालाई रोक्ने युक्रेनको क्षमतामा असर गरेको छ
    • Author, ड्यान सेल्स
  • Published
  • पढ्ने समय: ३ मिनेट

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा महत्त्वपूर्ण स्याटलाइट इन्टरनेट सेवा अझै पनि ढिलो चलिरहेको र यसले रुसी आक्रमण रोक्ने युक्रेनको क्षमतालाई असर गरिरहेको बताएका छन्।

"हामी यी अवरोधहरू हटाइने प्रतीक्षामा छौँ। जाडो अघि जीवनको सुरक्षा र युक्रेनको ऊर्जा पूर्वाधार सिधा यसमा निर्भर गर्छ," उनले भने।

इलोन मस्कको स्वामित्वमा रहेको र अमेरिकी सरकारले युक्रेनलाई प्रदान गरेको सैन्य ग्रेड स्टारलिङ्क सेवा स्टारशील्ड प्रणालीको गति हप्तौँदेखि धीमा चलिरहेको छ।

जेलेन्स्कीले अमेरिकी सरकार र मस्कको कम्पनीसँग सकेसम्म नजिकबाट काम गर्न आफूले अधिकारीहरूलाई आग्रह गरेको बताएका छन्।

"इतिहासको सही पक्षमा हुनु महत्त्वपूर्ण छ," उनले भने। बीबीसीले ह्वाइट हाउस र स्टारलिङ्कसँग यो विषयमा प्रतिक्रिया मागेको छ।

युक्रेनले युद्धको मैदानमा सञ्चारको लागि सामान्य स्टारलिङ्क सेवा प्रयोग गर्दछ जबकि स्टारशील्ड युक्रेनको हवाई क्षेत्रमा क्षेप्यास्त्र र ड्रोनहरूको अवरोधको लागि प्रयोग गरिन्छ।

गति प्रतिबन्धको मुद्दा पहिलो पटक अक्टोबरमा पहिचान गरिएको थियो। यसले इलोन मस्क र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दुवैको विरोधाभासपूर्ण विवरणहरू निम्त्यायो।

मस्कले अमेरिकी सरकार जिम्मेवार रहेको बताए। उनले स्टारशील्ड उनीहरूको नियन्त्रणमा रहेको बताए तर ट्रम्पले जिम्मेवार रहेको कुरा अस्वीकार गरे र मस्कलाई नै "जिम्मेवारी फिर्ता लिन" आफूले बताएको जनाए।

यो एक सातापछि सामान्य अवस्थामा फर्किरहेको देखिन्छ तर युक्रेनले प्रतिबन्धहरू अझै कायम रहेको बताएको छ।

रुसभित्रको तेल पूर्वाधारमा युक्रेनी हमलालाई लिएर जेलेन्स्की र ट्रम्पबीच तनावपूर्ण कूटनीतिक गतिरोधसँग यो विषय जोडिएको थियो।

ट्रम्पले रुसी तेल प्रशोधन क्षेत्रमा भएको हमलाका कारण विश्वव्यापी रूपमा तेलको मूल्य बढेको बताउँछन् तर किएभले भने मस्कोको युद्ध प्रयासको मुख्य राजस्व स्रोत रोक्नका लागि महत्त्वपूर्ण रहेको बताएको छ।

आइतवार जेलेन्स्कीले बिजुलीका सबस्टेशनहरूलाई लक्षित गर्ने रुस सञ्चालित ड्रोनहरू रोक्न युक्रेनले सङ्घर्ष गरिरहेको बताए। उनले "अग्र मोर्चामा र अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूमा स्टारशील्ड टर्मिनलहरूको सञ्चालन गतिमा अवरोध अझै रहेको" बताए।

शुक्रवार जेलेन्स्कीले सोमवारदेखि नेटवर्कमा लगभग १०० माइल प्रति घण्टाको गति सीमा लागु गरिएको बताए। तर त्यस्तो अवस्था केवल रुसले कब्जा गरेको क्षेत्रमा मात्र उपलब्ध भएको र सम्पूर्ण युक्रेनमा उपलब्ध नभएको पनि उनले प्रस्ट पारे।

"यसको पहिला नै राजनीतिक प्रभाव छ। यदि तपाईँ त्यहाँ रोकावट गर्नुहुन्छ भने तपाईँले पहिले नै अस्थायी कब्जामा लिइएका क्षेत्रहरूलाई हाम्रो होइन भनेर आंशिक रूपमा मान्यता दिइरहनुभएको छ," न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दे लेखेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।