तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जीटीए सिक्स: मुख्य भूमिकामा महिला पात्र राखिनु छलाङ हो?
- Author, फर्नान्डो डुआर्टी
- Role, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ४ मिनेट
गेमरहरूले १३ वर्षदेखि प्रतीक्षा गरिरहेको भिडिओ गेम फ्रेन्चाइज ग्रान्ड थेफ्ट अटोको छैटौँ संस्करण सार्वजनिक भएसँगै यसले भिडिओ गेमिङ क्षेत्रमा कैयौँ महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो र व्यावसायिक रूपमा सफल गेम हुने ठोकुवा कतिपयले गरेका छन्।
भिडिओ गेममा ३० वर्षको अनुभव बटुलेको शृङ्खलाबद्ध गेम 'जीटीए सिक्स' ले पहिलो पटक महिला पात्रलाई मुख्य भूमिकामा राखेको छ। महिलाको आवाजसहित ल्याटिन अमेरिकीजस्तो देखिने युवती लुसीआ कमिनोज यो गेममा मुख्य भूमिकामा छिन्।
अमेरिका, युरोप र यूके लगायतका मुख्य बजारमा ५० प्रतिशत गेमरहरू महिला छन्। तर यसअघिका गेमहरूमा मुख्य भूमिकामा पुरुषहरू रहने गरेका थिए र कथा पनि पुरुष पात्रलाई केन्द्रमा राखेर बनाइन्थ्यो।
पछिल्लो समय महिलालाई मुख्य पात्र बनाइएका केही गेमहरू सार्वजनिक गर्ने क्रममा वृद्धि भए पनि त्यस्ता गेमहरूको सङ्ख्या निकै कम छ।
जीटीए सिक्समा पनि कमिनोज उप-खलनायक रहेको टेम्पल विश्वविद्यालयका डा एड्रिन शो बताउँछन्। खेलका क्रममा कहिले कमिनोज अनि कहिले उनका प्रेमी तथा मिल्ने साथी जेसन डूभाल प्रमुख पात्र हुन्छन्।
"यसमा धेरै खुसी भइहाल्नुपर्ने कुरा छैन," शोले बीबीसी विश्व सेवासँग भने।
"महिला पनि प्रमुख खलनायक हुनसक्छन् भन्ने सोच्न जीटीएका निर्मातालाई ३० वर्ष लाग्यो।"
"हामीले खेलमा के देखेका छौँ भने उनी निकै बहुआयामिक र रोचक पात्र छिन्। तर त्यसो भन्दैमा जीटीए महिलाको दृष्टिकोणबाट बनाइएको भन्ने मलाई लाग्दैन।"
"मैले गेमिङ सुरु गर्दा त्यसबेला कुनै पनि गेममा महिला मुख्य पत्र थिएनन्। महिला पात्र भए पनि तीनलाई बचाउन पुरुष पात्र पुग्नुपर्ने गरेर बनाइएको हुन्थ्यो," स्ट्रिमर तथा पोडकास्टर एथिना ग्रासिआ भन्छिन्।
उनी एशासेनको क्रिड ओडीसीबारेको विवाद सम्झन्छिन्।
सन् २०१८ मा सार्वजनिक भएको यो गेमको मुख्य भूमिकामा कसान्द्र नाम गरेकी महिला पात्र हुने ठानिएको थियो। तर पुरुष गेमर्सहरूबाट आलोचना हुने चिन्तामाझ यसका निर्माताले पुरुष पात्रलाई नै प्रमुख बनाए।
"यसका प्रमुखहरूलाई पुरुषहरूले महिला पात्र भएर गेम खेल्दैनन् भन्ने चिन्ता भयो। त्यसो भए महिलाले पुरुष भएर किन खेल्ने?" ग्रासिआ भन्छिन्।
"खेलमा लैङ्गिक र जातीय विविधता महत्त्वपूर्ण छ। हामी महिला गेमरहरू पनि गेममा रमाइलो होस् भन्ने चाहन्छौँ, तर खेलहरू पुरुषलाई ध्यानमा राखेर बनाइन्छ," उनी भन्छिन्।
"मुख्य पात्र महिला नभए पनि मैले जीटीए सिक्स खेल्ने थिएँ होला। किनभने यसमा रमाइला पात्रहरू र गज्जबका कथाहरू छन्। तर लुसिआ जस्ती पात्र ल्याउनु निकै राम्रो हो। यसले हामीले पनि ठाउँ पाउँदै छौँ भन्ने देखाउँछ।"
रोयल सोसाइटी ओपन साइन्स जर्नलको २०२३को एक अध्ययनका क्रममा यस्तो किसिमको खेलका १३,००० पात्रहरूमध्ये ३०प्रतिशत मात्रै महिला भेटिएका थिए। तर अध्ययनमा समेटिएका ५० मध्ये ४७ वटा खेलमा महिला पात्रलाई निकै कम मात्र भूमिका दिइएको थियो।
"ठूला खेलहरूले केही गर्दा त्यो ट्रेन्ड बन्छ। त्यसकारण जीटीएले केही गर्नु भनेको थप सम्भावनाहरूको खोजीको चाहना देखाउनु हो," अध्ययनका सहलेखक यूकेको स्टिर्लिङ विश्वविद्यालयका डा स्टेफन रेनिक भन्छन्।
त्यही अध्ययनका अर्का सहलेखकडा सिन जी रोबर्ट्स जीटीए निर्माताले बजारको माहोल पछ्याइरहेको बताउँछन्।
अमेरिकी जीना डेभिस इन्स्टिट्यूटले यूकेका र अमेरिकी गेमरहरूमाझ सन् २०२४ मा गरेको एक सर्वेक्षणले ६० प्रतिशत पुरुषहरूले महिला पात्र भएको खेल बढी रुचाउने गरेको देखाएको थियो।
"गेम खेल्ने अधिकांश मानिसहरू वयस्क हुन्छन्," डा रोबर्ट भन्छन्। "पछिल्ला अनुसन्धानले धेरैजसो मानिसहरूले खेलमा विविधता चाहेको देखाएका छन्।"
जीना डेभिस इन्स्टिट्यूटको तथ्याङ्कले ४९ वर्ष माथिका ४५ प्रतिशत अमेरिकीहरूले भिडिओ गेम खेल्ने देखाएको छ। तर त्यही उमेरका पात्रहरू निकै कम हुन्छन्।
"उमेर ढल्केका पात्रहरूको चित्रले पनि विविधता झल्काउँदैन। अनि धेरै श्वेत र पुरुष देखाउँदा पनि त्यो झल्कँदैन," जीना डेभिस इन्स्टिट्यूटकी प्रमुख कार्यकारी मेडलीन नोनोले बीबीसी विश्व सेवासँग भनिन्।
कमिजोज ल्याटिनजस्तो देखिए पनि उनी युवा उमेरकी भएको शो बताउँछन्। "उनीहरू [रकस्टार]ले लुसिआलाई विपरीत लिङ्गीप्रति आकर्षित हुने जोडीका रूपमा राखेका छन्।"
सन् २०२० मा सार्वजनिक भएपछि निकै लोकप्रिय बनेको 'द लास्ट अफ अस भाग २' गेममा मुख्य भूमिकामा समलिङ्गी महिलालाई राखिएको थियो। उनको रोमाञ्चक सम्बन्ध पनि गेमको मुख्य आकर्षण थियो। तर धेरै खेल उपलब्ध हुने प्लाटफर्महरूका २ प्रतिशत भन्दा कम पात्र यौनिक अल्पसङ्ख्यक छन्।
'बलियो कथा'
ब्रजिलका गेमर तथा लेखक आन्द्रे गोर्देरो खेल विकास गर्ने स्टुडियोहरूले आफ्ना दर्शकमा आएका परिवर्तनलाई बुझ्नैपर्ने बताउँछन्। उनका अनुसार प्रतिनिधित्वलाई "सांस्कृतिक सिर्जनाको मुख्य प्रेरक शक्ति" बनाइनु हुँदैन।
"सबैभन्दा महत्त्वपूर्ण कुरा बलियो कथा र पात्रहरू हुन्। नत्र तपाईँले मौलिक सिर्जना नभइ निश्चित मापदण्डका आधारमा तयार हुने सामग्री मात्रै दिनुहुन्छ," उनले बीबीसी विश्व सेवासँग भने।
यद्यपि जीटीएमा महिला मुख्य पात्र समावेश हुन ढिलाइ भएको गोर्देरोको धारणा छ।
"हामी दोस्रो विश्वयुद्धमा लड्ने मित्रराष्ट्रका सैनिकहरू देखाइएको खेलबारे कुरा गरिरहेका छैनौँ, जुन पुरुषप्रधान परिवेश हो," गोर्देरो भन्छन्,
"जीटीएका कथावस्तु अहिलेको अमेरिकी सहरहरूको झल्को दिने संसारमा आधारित हुन्छन्। लुसिआजस्तो पात्रको आगमन धेरै पहिल्यै भइसक्नुपर्थ्यो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।