म्यान्मारमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो, १७ जना नेपालीभाषी पनि

मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ
Published
पढ्ने समय: ३ मिनेट

म्यान्मारमा शुक्रवार शक्तिशाली भूकम्प जाँदा मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको सरकारी अधिकारीहरूले बताएका छन्।

सैनिक सरकारका अनुसार भूकम्पमा परी २,३०० जनाभन्दा बढी घाइते भएका छन्।

मृत्यु हुनेमा १७ जना नेपालीभाषी पनि रहेको त्यहाँस्थित एकजना नेपालीभाषी साहित्यकारले बीबीसीलाई बताए।

"म्यान्डलेमा एक दाहाल परिवारका सातजनाको दुःखद मृत्यु भएको हामीले खबर पाएका छौँ," बीबीसी न्यूज नेपालीसँग याङ्गुनबाट लक्ष्मण न्यौपानेले भने।

त्यसबाहेक अरू १० जनाको भूकम्पमा परी ज्यान गएको उनले बताए।

शुक्रवार राति धेरै नेपालीभाषीहरू फेरि भूकम्प आउन सक्ने डरले खुला आकाशमुनि रात बिताएको आफ्नी फुपूका छोराले सुनाएको न्यौपानेले बताए।

भग्नावशेषभित्र पुरिएका मानिसहरूको खोजी तथा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पको केन्द्रबिन्दुदेखि नजिकै पर्ने म्यान्डलेमा विध्वंसको भयावह दृश्य देखिएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले उल्लेख गरेका छन्।

"खाली हातले भग्नावशेषहरू पन्छाइरहेका छौँ," त्यहाँस्थित एउटा टोलीले बीबीसीसँग भन्यो।

त्यस क्षेत्रमा मात्रै सात सय जनाको हाराहारीमा मृत्यु भएको बताइएको छ।

हताहत हुनेहरूले अस्पतालहरू खचाखच भरिएका छन्।

भारतले सहायता सामग्री पठाएको छ

सैनिक सरकार प्रमुखले अन्तर्राष्ट्रिय सहायताका लागि अपील गरेका छन्। तर जारी गृहयुद्धका कारण राहत कार्य प्रभावित हुने ठानिएको छ।

पछिल्ला वर्षहरूमा पश्चिमा देशहरूको तर्फबाट कडा नाकाबन्दी झेल्दै आएको म्यान्मारको सैनिक सरकारले यस्तो अपील गरेको दुर्लभ घटना हो।

विध्वंसकारी भूकम्पपछि उसको छिमेकी भारतले सहायता सामग्री पठाएको छ भने चीनले उद्धारकार्यमा सघाउनका निम्ति १७ सदस्यीय टोली पठाएको त्यहाँको सीसीटीभीले जनाएको छ।

ब्याङ्ककको अवस्था के छ

ब्याङ्ककमा थुप्रै भवनहरूमा असर परेको छ

भूकम्पबाट प्रभावित थाईल्यान्डको राजधानी ब्याङ्ककमा पनि राहत तथा उद्धार कार्य जारी छ।

भूकम्पले एउटा निर्माणाधीन गगनचुम्बी भवन भत्कँदा दर्जनौँ कामदार पुरिएका विवरण आएको छ।

भारी उपकरणहरूको प्रयोग गरी भग्नावशेष हटाउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि थुप्रै भवनहरूको सुरक्षा जाँच गरिने विवरणमा जनाइएको छ। अधिकारीहरूका अनुसार त्यहाँ दुई हजार बहुतले भवनहरू भूकम्पबाट प्रभावित भएको विवरण प्राप्त भएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किमि टाढा थियो र उक्त भूकम्प जमिनभन्दा १० किमि तल उत्पन्न भएको थियो।

थाईल्यान्डबाहेक दक्षिणपश्चिम चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

म्यान्मारमा भूकम्प कति सामान्य?

थाईल्यान्डमा भन्दा म्यान्मारमा बढी भूकम्प जान्छ

थाईल्यान्डमा भन्दा म्यान्मारमा बढी भूकम्प गैरहन्छ।

सन् १९३० देखि १९५६ सम्म 'सगाइङ फल्ट'को छेउछाउमा छवटा ठूला भूकम्पहरू गइसकेका छन्।

उक्त 'फल्ट' म्यान्मारको मध्यभागमा रहेको समाचारसंस्था एएफपीले यूएसजीएसलाई उद्धृत गर्दै जनाएको छ।

थाईल्यान्ड भूकम्पीय क्षेत्रमा पर्दैन। तर त्यहाँ महसुस गरिने अधिकांश भूकम्पको केन्द्रबिन्दु छिमेकी देश म्यान्मारमा हुने गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।