म्यान्मार-थाईल्यान्ड भूकम्प : सयौँ जनाको मृत्यु भएको आशङ्का, अहिलेसम्म अरू के थाहा छ

ब्याङ्ककमा भूकम्पका कारण ढलेको भवन
Published
पढ्ने समय: ३ मिनेट

म्यान्मारको मध्य भागमा म्याग्निट्यूड ७.७ को भूकम्पका कारण त्यस क्षेत्रमा सयौँ मानिसहरूको मृत्यु भएको हुनसक्ने उद्धारकर्मीहरूले बताएका छन्।

म्यान्मारको म्यान्डले क्षेत्रमा परिचालित एक उद्धार टोलीले भूकम्पका कारण भएको मानवीय क्षति अझैसम्म थाहा हुन नसकेको बताएको छ। उनीहरूका अनुसार मृतकको सङ्ख्या "कम्तीमा सयौँ हुन सक्छ।"

उद्धार कार्य जारी रहेका कारण मृतकको सङ्ख्या थाहा हुन नसकेको उनीहरूको भनाइ छ।

म्यान्मारमा भूकम्पका कारण भत्किएको भवन
तस्बिरको क्याप्शन, म्यान्मारको म्यान्डलेमा भूकम्पका कारण भवनहरू भत्किएका छन्

भूकम्पबाट म्यान्मारको सीमावर्ती थाईल्यान्डसहित उक्त क्षेत्रभरि नै क्षति भएको विवरण आएका छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किमि टाढा छ। उक्त भूकम्प जमिनभन्दा १० किमि तल उत्पन्न भएको यूएसजीएसले जनाएको छ।

भूकम्पका कारण भत्किएको भवन

केन्द्रबिन्दुभन्दा सयौँ किलोमिटर टाढा थाईल्यान्डको राजधानी ब्याङ्ककमा एउटा निर्माणाधीन बहुतल्ले भवन भत्किँदा ७० जना मजदुरहरू हराइरहेको अधिकारीहरूले बताएका छन्।

म्यान्मारमा सैन्य सरकारले राजधानी नेपिडोसहित देशका छ वटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

म्यान्मारमा पहिलो भूकम्प गएको १२ मिनटपछि फेरि अर्को भूकम्प गएको र त्यो म्याग्निट्यूड ६.४ को भएको यूएसजीएसले जनाएको छ।

कहाँ के भयो?

भूकम्पले भत्किएको भवन
तस्बिरको क्याप्शन, भूकम्पका कारण ब्याङ्ककमा निर्माणाधीन एउटा अग्लो भवन भत्किएको छ

थाईल्यान्डबाहेक दक्षिणपश्चिम चीनमा पनि धक्का महसुस गरिएको थियो।

ब्याङ्ककमा भुइँचालो थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले क्षति पुगेको हुन सक्ने ठानिएको छ।

थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ।

अधिकारीहरूका अनुसार ब्याङ्ककमा भत्किएको ३०-तले निर्माणाधीन भवनमा ५० जना मजदुर थिए। तीमध्ये सात जना बाहिर निस्किन सफल भए भने ४३ जना फसेका छन्।

ब्याङ्ककमा कार्यरत बीबीसी संवाददाता थु बुईका अनुसार पहिलो भूकम्प जाँदा उनी घरमा खाना पकाउँदै थिइन्।

"म निकै आत्तिएँ," उनले भनिन्, "मलाई के भएको हो भन्ने थाहा भएन किनभने एक दशकदेखि ब्याङ्ककमा यस्तो भूकम्प गएको थिएन।"

"मेरो अपार्ट्मन्टमा मैले भित्तामा चिरा परेको र पौडीपोखरीबाट पानी छचल्किएको देखेँ। मानिसहरू चिच्याउँदै बाहिर निस्केका थिए।"

एउटा परकम्पपछि उनी अरू मानिसहरूसहित बाहिर सडकमा निस्किन्।

म्यान्मारमा भूकम्पले सडकमा चिरा परेको छ
तस्बिरको क्याप्शन, म्यान्मारमा भूकम्पले सडकहरूमा चिरा परेको छ

ब्याङ्ककमा कार्यरत बीबीसीका अन्य कर्मचारीहरूले भूकम्पका कारण आफू भएको भवन निकै हल्लिएको बताएका छन्।

ब्याङ्ककमा मानिसहरू आवासीय भवन र कार्यालयबाट सडकमा गएको र एउटा गगनचुम्बी भवनको छतमा अवस्थित पौडीपोखरीको पानी छचल्किएर भुइँमा पोखिएको देखिएको छ।

म्यान्मारमा सैन्य शासकहरूले पहिलादेखि नै सञ्चारमाध्यम र इन्टर्नेटमा नियन्त्रण गरेका हुनाले त्यहाँबाट सूचना आउन सकेको छैन।

एउटा भिडिओमा म्यान्डलेस्थित विमानस्थलको धावनमार्गमा मानिसहरू भूकम्प जाँदा चिच्याएको र निहुरेर बसेको देखिएको छ। "तल बस, नभाग!" उक्त भिडिओमा एक जनाले भनेको सुनिन्छ। यद्यपि बीबीसीले उक्त भिडिओको आधिकारितका पुष्टि गरेको छैन।

ब्याङ्ककमा मानिसहरू घर र कार्यालय भवन छोडेर बाहिर निस्किएका छन्
तस्बिरको क्याप्शन, ब्याङ्ककमा मानिसहरू घर र कार्यालय भवन छोडेर बाहिर निस्किएका छन्

म्यान्मारमा भूकम्प कति सामान्य?

थाईल्यान्डमा भन्दा म्यान्मारमा बढी भूकम्प जान्छ।

सन् १९३० देखि १९५६ सम्म 'सगाइङ फल्ट'को छेउछाउमा छवटा ठूला भूकम्पहरू गइसकेका छन्।

उक्त फल्ट म्यान्मारको मध्यभागमा रहेको समाचारसंस्था एएफपीले यूएसजीएसलाई उद्धृत गर्दै जनाएको छ।

थाईल्यान्ड भूकम्पीय क्षेत्रमा पर्दैन। त्यहाँ महसुस गरिने अधिकांश भूकम्पको केन्द्रबिन्दु छिमेकी देश म्यान्मारमा हुन्छ।

विश्वभरिका टेक्टोनिक प्लेटहरू

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।