दिल्लीमा बालेन-मोदी अङ्कमाल, तर उपलब्धि के कति भयो?

तस्बिर स्रोत, PMO Nepal
- Author, शरद केसी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेन आफ्नो दोबरभन्दा बढी उमेरका भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्किएका छन्।
दिल्लीमा दुवै देशका प्रधानमन्त्रीबीच र प्रतिनिधिमण्डल सहितको छलफल पनि भएको छ।
भारतीय टोलीमा अनुभवी प्रशासक र विज्ञहरू सहभागी देखिन्थे भने नेपालबाट युवा मन्त्री र सल्लाहकारहरूले भाग लिएका थिए।
सन् २०१४ मा भारतीय सत्ता सम्हालेयता प्रधानमन्त्री मोदीले त्यसबेला देखिका नेपालका सबै प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्। त्यसैले मोदी नेपालका पुराना नेतासँग अपरिचित थिएनन्।
"तर नेपालको नयाँ नेतृत्व मोदीको निम्ति पनि नयाँ हो, पहिलो पटक प्रधानमन्त्री भएकाले हाम्रो प्रधानमन्त्रीको निम्ति त झन नयाँ हो," भूतपूर्व परराष्ट्र सचिव मदन भट्टराई भन्छन्, "त्यसैले यो भ्रमणको मुख्य उद्देश्य नै आपसी विश्वास आर्जन गर्नु थियो। किनकि पछिल्लो चुनावबाट पुस्ता र गुणात्मक दुवै हिसाबले नेपालमा ठूलो परिवर्तन भएको छ।"
उनका भनाइमा भारतले "पढे-लेखेका र युवा सत्तामा आएकाले नेपालको आकाङ्क्षा बुझ्नुका साथै आगामी चुनौती कसरी सामना गर्ने" भन्नेमा भ्रमण केन्द्रित थियो।
"यसले आगामी दिनमा दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा राम्रै आधारशिला स्थापना गरेको जस्तो लागेको छ," उनको ठम्याइ छ।
बालेन-मोदी भेटको परिणामको प्रतीक्षा?

तस्बिर स्रोत, rss
मोदीले भेटवार्तापछि प्रेसलाई गरेको सम्बोधनका क्रममा द्वीदेशीय सम्बन्धको महत्त्वमा विगतको जस्तै जोड दिएका छन्। व्यक्तिगत रूपमा उनले नेपाली समकक्षी बालेनको प्रशंसामा शब्दहरू खर्चिन हिचकिचाएनन्।
दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा भारतले नेपाललाई काठमाण्डू-भैरहवा-लखनउ हवाई मार्गबाट अब दुईतर्फी प्रवेश अनुमति दिने, बाढीपछिको पुनर्निर्माणको निम्ति अनुदान र ऋण सहायता गरी २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ आर्थिक सहयोग गर्ने लगायतका विषय उल्लेख छन्।
सीमा सम्बन्धी परराष्ट्र र गृहसचिव तहको संयन्त्र सक्रिय पार्ने निर्णय भएको र विभिन्न सन्धि सम्झौता पुनरवलोकनको बाटो खुलेको नेपाली पक्षले जनाएको छ।
भारतका निम्ति नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य दुई जना प्रधानमन्त्रीबीचको छलफलमा के कस्ता विषयहरू प्राथमिकतामा परे भन्ने कुरा महत्त्वपूर्ण हुने बताउँछन्।
उनका विचारमा सन् १९५० को सन्धि, सीमा विवाद, सार्कको औचित्य जस्ता विषयहरू नेतृत्व तहमै छलफल हुनुपर्ने विषयहरू हुन्।
"प्रधानमन्त्री तहमा उठ्नु पर्ने कुराहरू उठे कि उठेनन्, उठेका पनि हुन सक्छन्, सबै प्रचारमा आउनु पर्छ भन्ने पनि छैन," उनले भने, "हामीले अन्य देशको सहयोगमा विकास गरौँला, उद्योग कलकारखाना खोलौँला तर त्यसको उत्पादन नै भारततर्फ सजिलै जाऊन् भन्ने विषयहरू पनि छन्।"
ती विषयहरू व्यवहार र परिणाममा देखा परेको आधारमा भ्रमणको मूल्याङ्कन हुने उनको भनाइ छ।
"तर प्रधानमन्त्री तहमै त्यस्ता कुराहरू नउठ्दा अरू स्तरबाट त ती विषय थाँती नै रहन्छन्, कुरा अघि बढ्दैन," उनले भने, "परिणाम तत्काल नआए पनि विषय अघि बढाउन त्यसले मद्दत गर्छ।"
'राजनीतिक नेतृत्वको दिशानिर्देश आवश्यक'

तस्बिर स्रोत, PMO Nepal
विगतमा नेपाली प्रधानमन्त्रीले प्रधानमन्त्री तहको वार्तामा सीमा विवाद लगायतका विषय उठाएको बताइन्थ्यो।
भारतका लागि नेपालका अर्का पूर्वराजदूत दीपकुमार उपाध्यायका अनुसार कतिपय विवादित विषयमा भारत सामान्यता मौन रहने गरेको छ।
"विगतमा भारतले नबोलेरै टारेको देखिन्छ," उनले भने, "यस पटक कुन कुन विषयमा के कति गम्भीर कुराकानी भएको छ भन्ने विषयलाई महत्त्वपूर्ण रूपमा हेर्नुपर्छ।"

तस्बिर स्रोत, PMO Nepal
झन्डै तीन दर्जनको सङ्ख्यामा दुई देशबीच साझा संयन्त्र रहेको र राजनीतिक नेतृत्वले दिशानिर्देश गरेमा तिनले सक्रियतापूर्वक काम गर्ने उनको बुझाइ छ।
"हिजोसम्मका प्रतिबद्धता कुन पूरा भएनन् र अब पूरा गर्ने भन्ने प्रतिबद्धता भयो भने धेरै कुरा अघि बढ्छ," उपाध्याय भन्छन्, "उच्च तहको नीतिगत प्रतिबद्धता आयो र एक अर्कालाई दोषारोपण गर्ने प्रशासनिक झमेलाबाट मुक्ति भयो भने नयाँ वातावरण बनिहाल्छ। त्यसको निम्ति प्रतीक्षा गर्नुपर्छ।"
भारत र चीनबीच त ठूलो सीमा विवाद छ र त्यस क्रममा बेला बखत झडप पनि हुने गरेको छ। तर उनीहरूबीच द्विपक्षीय व्यापार र अन्य सम्बन्ध निरन्तर जारी छ।
भूतपूर्व परराष्ट्र सचिव मदन भट्टराई यस क्षेत्रमा सिमाना जोडिएका अधिकांशजसो देशहरूबीच विवाद रहेको र नेपाल-भारतबीचको विषय नौलो नभएको बताउँछन्।
"सीमा विवादका सन्दर्भमा हामीले आफ्नो स्वार्थ र अडान कहिल्यै छाड्न हुँदैन," उनी भन्छन्, "तर त्यसलाई मात्र मुद्दा बनाएर हामीसँग अरू केही विषय छैनन् जस्तो पनि गर्न हुँदैन।"
'विवादको बन्दी बन्न हुँदैन'

तस्बिर स्रोत, PMO Nepal
त्यो राजनीतिक र प्राविधिक दुवै विषय भएको र त्यसको लागि तयारी र समय लाग्ने उनको भनाइ छ।
"तर विवादका विषयका कारण अन्य मुद्दाहरूलाई बन्धक बनाउनु हुँदैन," उनी भन्छन्, "मलाई लाग्छ- हाम्रो प्राथमिकता आर्थिक साझेदारी, व्यापार र लगानीमै हुनुपर्छ, जसले जनताको आर्थिक रूपान्तरण गरोस्।"
उनका भनाइमा सीमा विवाद र सन् १९५० को सन्धि लगायतका विभिन्न मतभेदका विषयलाई पनि सँगसँगै लग्नुपर्छ र आपसी सद्भाव र वार्ताद्वारा अगाडि बढाइनुपर्छ।
"त्यो दृष्टिकोणबाट मैले प्रधानमन्त्रीको भ्रमणलाई सकारात्मक रूपमा लिएको छु," उनले आफ्नो ठम्याइ सुनाए।
पूर्वराजदूत उपाध्याय नेपालसँगको सम्बन्ध सुधार्नु भारतको निम्ति बाध्यता रहेको ठान्छन्। ठूलो देश भए पनि अन्य छिमेकीहरूसँग उसको सम्बन्ध राम्रो नभएको सन्दर्भ उनले प्रस्तुत गरे।
"एक हातले मात्रै ताली बज्दैन, उनीहरूलाई पनि नेपालसँगको रहिआएको सम्बन्ध सुधार्न सकिएन भने अपजस त आउँछ," उनी भन्छन्, "यत्रो परिवर्तनपछि उनीहरूले नेपालसँग नयाँ किसिमबाट सम्बन्ध बढाउन खोजेकै छन्, हामीले त्यसलाई कसरी उपयोग गर्न सक्छौँ। हाम्रो सफलता त्यसमा निर्भर हुने छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















