मेरा आमाबाबाले सँगै इच्छामृत्यु रोज्नुभयो, म शोकमा एक्लै छोडिएँ

तस्बिर स्रोत, Bas
- Author, लिन्डा प्रेस्ली
- Published
- पढ्ने समय: ७ मिनेट
केही मानिसहरूलाई यो लेखले विचलित बनाउन सक्छ।
सन् २०२४ को जुन महिनाको एक बिहान नेदरल्यान्डस्को उत्तरीभेगमा रहेको घमाइलो मरिनमा पार्क गरिएको आफ्ना आमाबुवाको क्याम्परभ्यानको छेउमा बास पुगे।
उनका बुवा र आमा यान र एल्सले आफ्नो जीवनको धेरै समय पानीमै बिताए।
सत्तरीको दशकमा रहेका उनीहरूले घरको रूपमा प्रयोग गर्न मिल्ने डुङ्गाको व्यवस्थापन गर्न सक्दैनन्। यट र डिंगीहरूको नजिकै रहेको उनीहरूको क्याम्परभ्यान अर्को राम्रो विकल्प थियो।
यान र एल्स आफ्नो छोराको कारमा चढे। बासले कार स्टार्ट गरे। उनले आफ्ना आमाबुवाका लागि कार चलाएको यो अन्तिम पटक हुँदै थियो। यान र एल्सका लागि उनीहरूको स्थानीय हस्पाइस जाने अन्तिम यात्रा हुँदै थियो।
बिहान १० बजेर ३० मिनेटमा उनीहरूलाई चिकित्सकहरूले घातक औषधि दिए। नेदरल्यान्डस्मा युथनेसिया अर्थात् इच्छा मृत्युमार्फत् उनीहरू दुई जनाले एकसाथ जीवन त्यागे।
त्यसो गर्नु यहाँ वैध छ तर दुर्लभ छ। हरेक वर्ष कैयौँ डच मानिसहरूले यो तरिकाले आफ्नो मृत्यु रोज्छन्।
आफ्नो जीवन अन्त्य गर्न हस्पाइसमा तय गरिएको अन्तिम भेटघाटभन्दा तीन दिनअघि यान र एल्सले आफ्नो क्याम्परभ्यानमा बीबीसीलाई अन्तर्वार्ता दिएका थिए।
नेदरल्यान्ड्सका आन्तरिक जलमार्गहरूमा वर्षौँसम्म सामान ओसारपसार गर्ने क्रममा भारी काम गर्दा यानको शरीरमा परेको असरका कारण उनी निरन्तर पीडामा बाँचिरहेका थिए। एल्सलाई भने डिमेन्सिया भएको पत्ता लागेको थियो। उनीहरूको कथा विश्वभरि फैलियो र विभिन्न ठाउँमा त्यसबारे चर्चा गरियो र टिप्पणीहरू भए।
अहिले दुई वर्षभन्दा बढी समय बितिसकेपछि ती दम्पतीका एक मात्रै सन्तानले आफ्ना आमाबुवालाई जीवन अन्त्य गर्ने निर्णय केही समयका लागि भए पनि स्थगित गर्न मनाउने प्रयास गरेको अनुभव सुनाएका छन्।
साथै उनीहरूको मृत्यु रोज्ने निर्णयलाई समर्थन गर्दै आफूले भोग्नुपरेको भावनात्मक बोझ र त्यसपछि महसुस गरेको एक्लोपनबारे पनि उनले खुलासा गरेका छन्।

तस्बिर स्रोत, Bas
यात्रा
बासले हस्पाइससम्म जानका लागि सुन्दर दृश्य भएको बाटो हुँदै कार चलाएका थिए।
"म अझै पनि पूरै यात्रा सम्झिन्छु," उनले भने। उनकी आमा पछाडिको सीटमा बसेकी थिइन् भने उनीसँगै बुवा बसेका थिए। सुरुमा उनीहरूले गफ गरे। एल्स मृत्यु रोज्ने आफ्नो निर्णयमा दृढ देखिन्थिन्।
"मेरी आमा यसबारेमा निश्चिन्त हुनुहुन्थ्यो," बासले भने। "तर मेरो बुवा भने अलि भावुक हुनुभयो।"
यानले आफूहरूले राम्रो गरिरहेको हो कि होइन भनेर छोरालाई सोधे। बासलाई भने आमालाई चाहिँ आफ्नो निर्णयबारे दुबिधा छ कि भन्ने लागेको थियो।
"मेरी आमाले सधैँ जीवन रमाइलो गरेर बिताउनुभयो," उनले भने। "म ८० वा ९० वर्षसम्म बाँच्न मन पराउँछु भनेर उहाँले भनेको सम्झिन्छु।"
तर बुवाले भने वर्षौँको पीडाका कारण एक दशकभन्दा बढी समयदेखि इच्छामृत्युबारे कुरा गर्दै आएका थिए।
कारमा बासले आफ्ना बुवालाई आश्वस्त पारे। जब यान थामिए र शान्त भए उनीहरू कुरा नगरी सङ्गीत सुन्दै र दृश्यावलोकन गर्दै गुडिरहे।

तस्बिर स्रोत, Bas
परिवारले यो यात्रा गर्नु अघिका केही मानिसहरूमा बासले आफ्ना आमाबुवालाई मृत्युको निर्णय केही समयका लागि भए पनि स्थगित गर्न मनाउने प्रयास गरेका थिए।
"मैले उहाँहरूलाई केही समय अझै बाँच्न मनाउने प्रयास गरेँ। किन केही समय पर्खनुहुन्न? जाडो यामसम्म वा अर्को वर्षसम्म किन नपर्खने?"
बास दोधारमा थिए। उनका विचारमा इच्छामृत्युका लागि अनुरोध गर्ने उनका आमाबुवाको निर्णय सही थियो। तर उनी आफ्ना आमाबुवालाई गुमाउन चाहँदैनथे।
"मेरो बुवा यस्तो अवस्थामा १० देखि १५ वर्षसम्म रहनुभएको थियो। त्यसैले उहाँले सायद अझै केही वर्ष आफ्नो जीवन लम्ब्याउन सक्नुहुन्थ्यो। तर मलाई लाग्छ यदि अर्को एक वर्ष पर्खिएको भए मेरी आमालाई समस्या पर्न सक्थ्यो…"
यदि एल्सले इच्छा मृत्युका लागि आवेदन दिन निर्णय ढिलाइ गरेकी भए उनको अल्जाइमर्स रोग अझै बढ्दै जाने जोखिम थियो। त्यसो भएको खण्डमा आफ्नो जीवन अन्त्य गर्ने निर्णय आफैँ लिन सक्ने मानसिक क्षमता उनीसँग बाँकी नरहेको ठहर हुन सक्थ्यो।
हस्पाइसमा
बासले गाडी पार्क गर्ने ठाउँ भेट्टाए।
"मेरो बुवाले मेरो गाडीलाई पनि बिदा गर्नुभयो। उहाँलाई मेरो गाडी मन पर्थ्यो। उहाँले 'राम्रो काम', र 'धन्यवाद' भन्नुभयो।
"त्यसपछि हामी भित्र गयौँ," बासले भने। "त्यस्तो अवस्था कल्पना गर्नुहोस् त उहाँहरूकै ठाउँमा आफूलाई राखेर त्यो यात्रा र त्यो अन्तिम पाइला चाल्नु यो सबै अविश्वसनीय लाग्छ।"
त्यसपछिका दुई घण्टासम्म दम्पतीका परिवारका सदस्य र साथीहरू भेट्न आउने र जाने क्रम चलिरह्यो। उनीहरूले विगतका सम्झनाहरू साटासाट गरे र सँगै सङ्गीत सुने। एकपटक बासको मनमा यो सबै प्रक्रिया रोकिदिने विचार पनि आयो।
"मलाई यस्तो लाग्यो - 'ल, अब जाऔँ… गाडीमा बसौँ र यहाँबाट कतै टाढा गइदिऊँ,'" उनले भने।
"तर उहाँहरूलाई कुनै पनि कुरामा अनिश्चित महसुस गराउने कुरा उठाउन म चाहन्नँ। मैले सुरुदेखि नै उहाँहरूको सम्पूर्ण इच्छामृत्यु प्रक्रियालाई समर्थन गर्दै आएको थिएँ।"
"सबैलाई शान्त राख्न र एक अर्कालाई बिदाइ गर्ने यो क्षणलाई आत्मसात् गर्नु नै राम्रो थियो।"
बिहान साढे १० बज्नुभन्दा केही अघि डाक्टरहरू यान र एल्सलाई सुईमार्फत् मृत्यु हुने औषधि दिन आइपुगे। दम्पती अस्पतालका दुई वटा खाटमा एक अर्काको छेउमा पल्टिएका थिए। अन्तिम क्षणहरूमा उनीहरू बेहोस हुनुअघि बासले आफ्ना आमाबुवाबीचको गहिरो आत्मीयता देखे।
"मैले आफ्नो जीवनमा उहाँहरूलाई हात समातेर हिँडेको जम्मा तीन-चार पटक मात्र देखेको छु," उनले भने। "तर यस पटक उहाँहरू त्यहाँ हात समातेर पल्टिरहनुभएको थियो। त्यसले मलाई निकै राम्रो अनुभूति गरायो - उहाँहरू साँच्चै यो सबै कुरा सँगै गरिरहनुभएको थियो।"
आफ्ना आमाबुवाले सास फेर्न छोडेपछि बितेको पहिलो आधा घण्टालाई बासले "एउटा वास्तविक तथ्यजस्तो" अनुभवका रूपमा व्याख्या गरे। अर्थात्, अब उहाँहरू जीवित हुनुहुन्नथ्यो।
"त्यसपछि मात्र तपाईँले वास्तविक अवस्था महसुस गर्न थाल्नुहुन्छ। त्यो अनुभूति शब्दमा बयान गर्नै नसकिने हुन्छ।"

तस्बिर स्रोत, Bas
हस्पाइसमा पुगेपछि बासलाई गहिरो दुःखले सताउन थाल्यो। उनले अत्यन्तै गहिरो एक्लोपन महसुस गर्न थाले।
"शोकको पीडा भोग्नु निकै निकै गाह्रो कुरा हो," उनले भने, "मेरा दाजुभाइ वा दिदीबहिनी कोही छैनन्। त्यसैले मैले आफूलाई साँच्चै एक्लो महसुस गरेँ।"
यदि हामी दुई जना आमाबुवाको मायामा हुर्किएका छौँ भने उनीहरूमध्ये एक जनाको मृत्यु हुँदा शोकको प्रक्रियामा अर्का जीवित अभिभावकसँग पुराना सम्झनाहरू र दुःख साटासाट गर्न सक्छौँ। तर यान र एल्स दुवै यो संसारमा अब थिएनन्।
"मलाई यस्तो लाग्यो मानौँ मेरा दुवै खुट्टा काटिएका छन्," बास सम्झिन्छन्।
उनको शोक मानसिक पीडामा मात्रै सीमित रहेन। शारीरिक रूपमा पनि उनलाई पीडा महसुस भयो। उनलाई चारदेखि पाँच हप्तासम्म बिरामी भएको महसुस भयो र शरीर दुखिरह्यो।
"म अरूलाई यस्तो निर्णय गर्न खासै सल्लाह दिने थिइनँ। सायद यो निष्कर्ष सुन्न केही कठोर लाग्न सक्छ," उनी भन्छन्। "मेरा आमाबुवाका लागि यो सायद सबैभन्दा राम्रो विकल्प थियो होला, तर दुवैलाई एकै समयमा गुमाउनुको प्रभाव ममाथि अत्यन्तै गहिरो र पीडादायी रह्यो।"

तस्बिर स्रोत, Bas
यान र एल्स निकै चाँडै गएका हुन्?
नेदरल्यान्ड्समा इच्छामृत्युका लागि आवेदन दिने योजना बनाइरहेका मानिसहरूका लागि विशेषगरी एल्सजस्तै डिमेन्सियाबाट पीडित व्यक्तिहरूका लागि आफ्नो जीवन अन्त्य गर्ने सही समय छनोट गर्नु निकै जटिल हुन सक्छ।
नेदरल्यान्ड्समा सन् २०२४ मा इच्छामृत्यु रोज्ने व्यक्तिको सङ्ख्या ९,९५८ थियो।
ती मध्ये ४२७ जनामा डिमेन्सिया थियो भने ६ जना डिमेन्सियाको गम्भीर अवस्थामा थिए।
त्यसै वर्ष १०८ जना व्यक्तिले दम्पती वा आफ्नो जोडी मिलेर सँगै जीवन अन्त्य गर्न चाहेका थिए। त्यस्तो जोडीको सङ्ख्या ५४ रहेको थियो ।
स्रोत: रिजनल यूथेनेसिया रिभ्यु कमिटी (आरटीई)
असह्य पीडा भोगिरहेको प्रमाणित गर्नुका साथै इच्छा मृत्यु चाहने व्यक्तिले आफूले मृत्यु रोज्ने निर्णय आफैँ लिन सक्ने मानसिक क्षमता अझै कायम रहेको कुरा पनि चिकित्सकहरूबाट प्रमाणित गराउनुपर्छ।
नेदरल्यान्ड्सको रोटरड्यामस्थित इरास्मस मेडिकल सेन्टरकी ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रोजमरिन भान ब्रुखेमका अनुसार यसले इच्छामृत्युबारे सोचिरहेका डिमेन्सियाका बिरामीहरूमा अत्यन्तै ठूलो मानसिक तनाव सिर्जना गर्न सक्छ।
इच्छामृत्यु कानुनी रूपमा निषेध गरिएको यूकेजस्ता देशहरूमा डिमेन्सियाबाट पीडित व्यक्तिहरूले अन्य धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। तर एल्सले जस्तै जीवन र मृत्युबीचको यस्तो कठिन निर्णयबारे विकल्पहरू तौलिनुपर्ने अवस्था भने उनीहरूलाई विरलै आउँछ।
सन् २०२४ मा उनले बीबीसीलाई आफू र आफ्ना श्रीमान् अब पर्खिन नसक्ने बताएकी थिइन्। किनभने उनको अल्जाइमर्स रोग अझै बढ्दै जाने सम्भावना थियो।
सबै कुरा भनिएको थियो?

तस्बिर स्रोत, Bas
यान र एल्सलाई आफ्नो इच्छामृत्युको निर्णयपछि त्यसले छोरामा पर्ने भारबाट सचेत थिए।
आमाबुवाले इच्छा मृत्युको प्रक्रियाका बेला आफ्ना छुट्टाछुट्टै चिकित्सकहरूसँग गरेको छलफलहरू सबैमा बास सहभागी भए।
त्यहाँ खुला छलफल हुनेगर्थ्यो। प्राय: आफ्ना प्रियजनसँग के कुरा गर्न छुट्यो भनेर उनीहरूको मृत्युपश्चात् पश्चात्ताप हुन्छ। तर बासलाई भने त्यस्तो भएन। जुन ३ तारिख सोमवार हस्पाइसमा यान र एल्सको भेट्ने समयको दुई दिनअघि बासले एउटा चिठ्ठी लेखे।
"त्यो करिब ८ पृष्ठको थियो," बास भन्छन्। "म शनिवार राति क्याम्परभ्यानमा अबेर गएँI त्यो उहाँहरूले इच्छा मृत्यु लिनु दुई दिनअगाडि थियो। मैले पूरै चिठ्ठी उहाँहरूलाई पढेर सुनाएँ। त्यो हाम्रो जीवनबारे थियो जहाँ उहाँहरूले जे गर्नुभयो त्यसका लागि धन्यवाद लेखेको थिएँ।"
यान र एल्स एकदमै भावुक भए। उनीहरूले सार्वजनिक रूपमा बिरलै माया एक अर्कामा देखाउँथे, छोरालाई पनि खासै देखाउँदैन थिए।
"तपाईँले उहाँहरूले माया गर्नुहुन्छ भन्ने महसुस गर्नुहुन्छ, तर त्यो भनेर वा अँगालो मारेर भन्दा पनि केही गरेर देखिन्थ्यो," बासले भने। "मेरो आमाले आफूलाई डिमेन्सिया भएपछि मलाई अलि धेरै अँगालो मार्न थाल्नुभयो, तर मेरो बुवाले त्यस्तो कहिल्यै गर्नुभएन – मलाई कहिल्यै अँगालो मार्नुभएन।"
तर पछिल्लो शनिवार भने क्याम्परभ्यानमा कहिल्यै नभएको कुरा भयो। यानले बासलाई अँगालो मारे।
"त्यो चिठ्ठी पढेपछि उहाँले अँगालो मार्नुभयो। त्यो एउटा अति मिठो क्षण थियो।
"त्यहाँ सबैकुरा भनिएको थियो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















