पहिलो भेटमा प्रधानमन्त्रीहरू मोदी र बालेन शाहबीचको आपसी सम्बन्ध कस्तो देखियो?

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
    • Reporting from, नयाँ दिल्ली, भारत
  • Published
  • पढ्ने समय: ४ मिनेट

झन्डै २५ घण्टा लामो भ्रमणमा आइतवार दिल्ली ओर्लिएका बालेन्द्र शाहलाई सोमबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा अङ्कमालसहित स्वागत गरेका थिए।

हैदरावाद हाउसमा भेटवार्ताको सुरूमा नै उनले संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधनको चर्चा गरेको भारतीय विदेश सचिव विक्रम मिश्रीले संवाददाताहरूलाई बताए। उनका अनुसार प्रधानमन्त्री मोदीले नेपालमा अहिले रहेको दुरदर्शी युवा नेतृत्वको प्रशंसा गरेका थिए।

नेपालका युवा प्रधानमन्त्री बालेन शाह र भारतका अनुभवी राजनीतिज्ञ नरेन्द्र मोदीको पहिलो भेटवार्तामा दुवै नेताले व्यवहारिक अवधारणाबाट दुई पक्षीय सम्बन्ध अघि बढाउने प्रतिवद्धता जनाएको भन्दै यसलाई 'सफल मान्नुपर्ने' दिल्लीस्थित कूटनीतिक मामिलाका एक विज्ञ बताउँछन्।

राजकीय भ्रमणमा दुवै नेताहरूले नेपाल भारतका विवादित मुद्दाहरूमा सार्वजनिक टिप्पणी गरेनन्। बरु विकास र सहकार्यका विषयमा केन्द्रित भए। उनीहरूले क्रिकेटकाबारेमा पनि छलफल गरेको र खेलकुद सम्बन्ध थप विस्तार गर्नेबारे पनि छलफल गरेको भारतीय विदेशमन्त्रालयले जनाएको छ।

भारतीय प्रधानमन्त्रीसँग उभिएर नेपालीमा सम्बोधन गरेका शाहले दुई देशबीचको सम्बन्धलाई रूपान्तरणकारी साझेदारीमा परिणत गर्नुपर्ने र त्यसको प्रतिफल आम मानिसले अनुभूत गर्नुपर्नेमा जोड दिएका थिए।

गत वर्ष जेनजी आन्दोलनपछि सम्पन्न आम चुनावबाट सत्तामा आएका बालेन शाहलाई नयाँ पुस्ताको नेताका रुपमा दिल्लीमा विदेश मामिलका विज्ञहरूले अर्थ्याउँदै भ्रमण धेरै हदसम्म सफल देखिएको टिप्पणी गरेका छन्।

विज्ञहरू के भन्छन्

राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' ग्रहण गर्ने क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले अङ्कमाल गरेका र मुस्काउँदै संक्षिप्त कुराकानी गरिरहेको दृश्य देखिएको थियो।

अपरान्ह आपसी छलफल सम्पन्न भएसँगै सञ्चारकर्मी समक्ष उपस्थित हुँदा भारतीय प्रधानमन्त्री मोदीले आफूले बालेन शाहमा नेपाल भारत सम्बन्धलाई लिएर स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताए।

उनले भने, "केही महिनाअघि जब उहाँले विश्वका सबैभन्दा युवा प्रधानमन्त्रीको रुपमा राष्ट्रसङ्घमा सम्बोधन गर्नुभयो, तब हामीलाई उहाँको दुरदर्शिताको स्पष्ट झलक देखिएको थियो। आज केही घण्टाको कुराकानीमा मैले नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उहाँमा स्पष्ट भिजन र प्रतिबद्धता रहेको महसुस गरेँ।"

शाह नेतृत्वको सरकारलाई नेपाली नागरिकले ऐतिहासिक जनादेश दिएका बताएका मोदीले नेपालका युवा पिढीको सपना सकार पार्न भारतले सहयोग गर्ने बताएका थिए।

दुवै प्रधानमन्त्रीबीच 'एकान्तमा' छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ तर त्यसमा भएका कुराकानीको विवरण भने खुलाइएको छैन।

नेपाल र भारतका प्रधानमन्त्री

नेपालका नयाँ प्रधानमन्त्रीसँगको अन्तरक्रियापछि दुई नेताबीच 'एउटा स्तरको समझदारी' देखिएको दिल्लीस्थित अब्जरभर फाउन्डेशनका उपाध्यक्ष हर्ष भी पन्त बताउँछन्।

उनले भने, "प्रधानमन्त्री मोदीले आजको दिनमा नेपालमा प्रधानमन्त्री शाहको भूमिका महत्वपूर्ण रहेको स्वीकार गरेका छन् र नेपालका प्रधानमन्त्रीले पनि मोदीको महत्त्वपूर्ण भूमिका स्वीकार गरेका छन्। छोटो अवधि भएपनि भ्रमणबाट उल्लेख्य उपलब्धिहरू हासिल भएका छन् र यसले दुई देश र दुई नेताबीच परिणाममुखी सम्बन्धका लागि एउटा अधार तयार गरेको छ।"

"दुवै नेताहरूले एक अर्कालाई बुझ्ने कोशिस गरिरहेका छन्। बालेन शाह परम्परागत खालका नेता होइनन्। मोदी लामो समयदेखि सत्तामा छन्। दुई नेताको पृष्ठभूमी फरक छ। व्यवहारिक किसिमको सम्बन्धमा दुवै पक्ष सहमत हुनसक्नुले नेपाल भारत सम्बन्धले आजको आवश्यकता सम्बोधन गर्नसक्नुपर्छ भन्ने अनुभव गरेको देखिन्छ।"

‍र्‍याप गायकको पृष्ठभूमिबाट काठमाण्डूको मेअर बनेका र शिक्षाले इन्जिनियर बालेन्द्र शाहको नेपालको सत्तामा भएको उदयलाई कतिपयले अझै पनि सन्देहपूर्ण कोणबाट हेर्ने गरेको पाइन्छ।

भारतमा नेपाल मामिलाका एक जानकार मानिने अशोक मेहताले नेपाल भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिदेखि मेअर हुँदा कार्यालयमा 'ग्रेटर नेपालको नक्सा' राखेका कारण पनि बालेन शाहप्रति दिल्लीमा शङ्का रहेको बताएका थिए।

अब यो भ्रमणपछि त्यो मेटियो या मेटिएन प्रष्ट छैन तर सोमवार हैदरावाद हाउसमा प्रधानमन्त्री शाहले गरेको भेटवार्तामा व्यक्त व्यवहारिक सोचबाट अघि बढ्ने प्रतिबद्धताले त्यस्ता शङ्का सम्बोधन गर्ने पन्तजस्ता कतिपय विज्ञ ठान्छन्।

अहिलेसम्मकै ठूलो आर्थिक सहयोग

गएको अगष्टको भोटेकोशी बाढीले निम्त्याएको विपद्पछिको पुनर्निर्माणसहितका लागि २ खर्ब ४० अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने घोषणा भारतीय प्रधानमन्त्री मोदीले गरेका छन्।

उक्त सहयोगमध्ये ५६ अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्र र अन्य ठाउँका लागि अनुदान हो भने बाँकी रकम ऊर्जा परियोजनाहरूका लागि 'लाइन अफ क्रेडिट' रहेको जनाइएको छ।

भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता भन्छन्, "यो पहिलो भेट थियो। त्यही भएर एकदमै मित्रवत् र सकारात्मक सङ्केत दिएका थिए। नयाँ प्रधानमन्त्रीलाई अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज दिइएको छ। तर हामीले यसमध्ये कति रकम आउँछ त्यो पनि हेर्नुपर्छ। कार्यान्वयन कस्तो हुन्छ त्यो हेर्नुपर्छ।"

सीमादेखि इपीजीका विषयमा भारत के भन्छ?

नेपाल र भारतका प्रधानमन्त्री हेदरावाद हाउसमा हिँड्दै

दुवै प्रधानमन्त्रीहरूले विकास र युवा आकाङ्क्षाहरू सम्बोधन गर्ने विषयवस्तुहरूलाई आफ्नो सम्बोधनमा प्राथमिकता दिएको भएपनि विवादित मुद्दाहरूबारे सार्वजनिक चर्चा वा टिप्पणी गरेनन्।

दुवै देशद्वारा जारी संयुक्त विज्ञप्तिमा नेताहरूले सीमासँग सम्बन्धित मुद्दाहरूमा पनि छलफल गरेका र थाँती रहेका विषय टुङ्गो लगाउन विदेश सचिवहरूलाई निर्देशन दिएको जनाइएको छ।

विगतमा पनि कालापनी र सुस्तासहितका सीमा विवाद हल गर्न नेपाल र भारतले दुई देशका विदेश सचिवलाई जिम्मा दिएको भएपनि उक्त संयन्त्रको बैठक बस्न सकेको छैन।

उक्त संयन्त्रको बैठक आगामी दिनमा बस्ने बताएका विदेश सचिव विक्रम मिस्रीले दुवै नेताबिचको छलफलमा लिपुलेकको प्रसङ्ग नआएको बताए। तर उनले सीमाका विषयहरूमा कुरा भएको बताए।

संवाददाताहरूले नेपाल भारत प्रबुद्ध समूहको प्रतिवेदनको भविष्यबारे सोधेको प्रश्नमा उनले उक्त प्रतिवेदन 'अप्रासङ्गिक' भएको भन्दै 'नेपाल र भारतले विगतभन्दा पनि भविष्यलाई हेर्न खोजिरहेको' बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।