पर्सा राष्ट्रिय निकुञ्जमा पानीको गम्भीर सङ्कट, वन्यजन्तुका लागि पानी व्यवस्थापन गर्न चुनौती

तस्बिर स्रोत, BBC/Madhuri Mahato
- Author, माधुरी महतो
- Role, वीरगन्ज
- Published
- पढ्ने समय: ५ मिनेट
बारा, पर्सा र मकवानपुर जिल्लामा ६२७ दशमलव ३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जले गम्भीर जल सङ्कटको सामना गरिरहेको अधिकारीहरूले बताएका छन्।
नेपालको संरक्षित क्षेत्र मध्येको एक यो निकुञ्जमा जलवायु परिवर्तनको बढ्दो प्रभाव र चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारण प्राकृतिक पानीका मुहानहरू सुकेका बताइन्छ।
चुरे क्षेत्र लगायत तराई भेगमा सुक्खाग्रस्त हुने समस्या
बढ्दै गएकोले सुक्खा मौसममा वन्यजन्तुका लागि पिउने पानी व्यवस्थापन गर्न निकुञ्ज प्रशासनका लागि ठूलो चुनौती बनेको देखिन्छ।
निकुञ्जभित्रका अधिकांश खहरे खोलाहरू वर्षभरि जस्तो नै सुक्खा रहने गर्दछन्।
निकुञ्जभित्र ऐतिहासिक तथा प्राकृतिक महत्वका लौकी, कामिनी, हलखोरिया र कालीदहजस्ता केही प्राकृतिक दहहरू भए पनि सुक्खा ती दहहरूमा पानीको सतह निकै घट्ने गरेको देखिन्छ।
पर्सा राष्ट्रिय निकुञ्जमा बढ्दै गएको वन्यजन्तुको सङ्ख्या र अर्कोतर्फ प्राकृतिक रूपमा पर्याप्त पानी उपलब्ध नहुँदा कृत्रिम उपायहरूको सहारा लिनुपर्ने बाध्यता रहेको निकुञ्ज प्रशासनको भनाइ छ।
भावर क्षेत्रको भौगोलिक बनावट र चुरे दोहनको असर

तस्बिर स्रोत, Parsa National Park
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सन्तोष कुमार भगतका अनुसार चुरेको फेदभन्दा दक्षिणतर्फ पर्ने करिब पाँचदेखि सात किलोमिटरको क्षेत्र सबैभन्दा बढी प्रभावित छ।
उनका अनुसार भावर क्षेत्रको विशेष भौगोलिक बनावटका कारण वर्षाको पानी जमिनमुनि छिट्टै सोसिने हुँदा सतहमा पानी टिक्न सक्दैन।
निकुञ्जको मुख्य कार्यालय रहेको आधार क्षेत्रबाट करिब १५ किलोमिटर वरपरसम्म कुनै पनि स्थायी किसिमका प्राकृतिक पानीको स्रोत छैन।
यस भौगोलिक प्रतिकूलताका साथै चुरे क्षेत्रमा भइरहेको जथाभाबी उत्खनन, नदीजन्य पदार्थको अत्यधिक दोहन तथा वन विनाशले गर्दा प्राकृतिक जलाधार प्रणाली पूर्ण रूपमा कमजोर बनेको संरक्षणकर्मीहरू बताउँछन्।
पानीको अभावसँगै निकुञ्जभित्रका घाँसे मैदानहरू समेत खुम्चिँदै गएका छन्, जसका कारण वन्यजन्तुहरू पानी र आहाराको खोजीमा लामो दूरीसम्म भौँतारिन बाध्य हुने गरेको र बाघ, हात्ती, चितुवा, गौरी गाई, चित्तल, जरायो र नीलगाई लगायतका वन्यजन्तुहरू पानीको खोजीमा मध्यवर्ती क्षेत्र हुँदै मानव बस्ती नजिकसम्म पुग्न थालेका बताइन्छ।
यसले गर्दा स्थानीय गाउँहरूमा बेलाबेलामा मानव–वन्यजन्तु बीचको द्वन्द्व र जोखिम बढाउने गरेको छ ।

तस्बिर स्रोत, BBC/Madhuri Mahato
पछिल्लो समय निकुञ्जभित्र वन्यजन्तुको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको अधिकारीहरूले बताए।
सन् २००९ मा मात्र चारवटा रहेको पाटे बाघको सङ्ख्या सन् २०२२ को राष्ट्रिय गणनामा बढेर ४१ पुगेको छ ।
हाल निकुञ्जमा ४१ वटा बाघ, ३ वटा गैँडा, १६४ वटा गौरी गाई र ४० देखि ६० वटासम्म जङ्गली हात्ती रहेको तथ्याङ्क छ।
त्यसैगरी ३७ प्रजातिका स्तनधारी, ४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप तथा ३१ प्रजातिका पुतलीहरू रहेका छन्।
बाघ र अन्य दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्नु संरक्षणको सकारात्मक पाटो भए पनि उनीहरूको जीवन रक्षाका लागि पानी र आहाराको व्यवस्थापन गर्नु अपरिहार्य बनेको संरक्षणकर्मीहरूको भनाइ छ।
विपद् प्रकोप न्यूनीकरण सञ्जाल, मधेश प्रदेशका संयोजक तथा चुरेविज्ञ नागदेव यादवले चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित उत्खनन, बढ्दो तापक्रम, वन डढेलो र जलवायु परिवर्तनका कारण चुरे क्षेत्रको भौगर्भिक संरचनामा तीव्र क्षयीकरण भइरहेको बताएका छन्।
उनका अनुसार लामो समयसम्म वर्षा नहुने र पानीको पुनर्भरण (रिचार्ज) प्रक्रिया प्रभावित हुने समस्या बढेको छ।
चुरे क्षेत्रको प्राकृतिक सन्तुलन बिग्रिँदै जाँदा अन्नको भण्डार मानिने तराई नै बिस्तारै मरुभूमीकरणको जोखिममा पर्दै गएको उनले बताए।
"यस्तो जोखिम न्यूनीकरणका लागि चुरे क्षेत्रको संरक्षणसँगै दीर्घकालीन अनुगमन, जलाशय निर्माण र चुरेबाट बगेर जाने नदी तथा खोलाको पानीलाई सम्भव भएसम्म चुरे क्षेत्रमै रोक्ने व्यवस्था गर्नुपर्छ," उनले सुझाए।
"पानीका स्रोतलाई संरक्षण र पुनर्भरण गर्न इनार तथा डिप बोरिङमा समेत सोलार प्रविधिको प्रयोग गर्न सकिन्छ।"
अल्पकालीन समाधान: ट्याङ्कर र आरसीसी पोखरी

तस्बिर स्रोत, Parsa National Park
जल सङ्कटको तत्काल व्यवस्थापनका लागि निकुञ्जले विभिन्न कृत्रिम उपायहरू अपनाउँदै आएको बताएको छ।
अधिकारीहरूका अनुसार हाल निकुञ्जभित्र ३० वटा भन्दा बढी आरसीसी (सिमेन्टेड) र ५० वटा माटोका गरी जम्मा ८० वटा पोखरी सञ्चालनमा ल्याइएका छन्।
माटोका पोखरीअन्तर्गत प्राकृतिक रूपमा रहेका हलखोरिया, सानो हलखोरिया र काली दहलाई पनि मर्मत सम्भार गरी समेटिएको भगतले जानकारी दिए।
भावर क्षेत्रको माटोले पानी सोस्ने भएकाले प्राकृतिक रूपमा पानी जमाउन नसकिँदा निकुञ्ज प्रशासनले बाध्य भएर पक्की सिमेन्टका पोखरीहरू निर्माण गर्नुपरेको बताएको छ।
संरक्षण अधिकृत एवम् सूचना अधिकारी भगत भन्छन्, "सिमेन्टेड पोखरीहरू वन्यजन्तुमैत्री त देखिँदैनन्, तर पानी अड्याउनका लागि यो हाम्रो बाध्यता हो।"
यी कृत्रिम पोखरीहरूमा अमलेखगन्जबाट दैनिक रूपमा ट्याङ्कर मा पानी भरेर ल्याई खन्याउने गरिएको छ ।
आधार, भेडाहा खोला र महादेव खोला लगायतका क्षेत्रमा सुक्खा यामभरि यसरी नै ट्याङ्करबाट पानी आपूर्ति गरिन्छ ।
निर्माण गरिएका ती कृत्रिम पानी पोखरीहरूको छेउछाउमा निकुञ्जले क्यामेरा ट्र्यापिङ समेत गरेको छ।
निकुञ्ज प्रशासनका अनुसार अनुगमन र अवलोकनका क्रममा हात्ती, बाघ, चित्तल तथा गौरी गाई लगायतका वन्यजन्तुहरू नियमित रूपमा पानी पिउन आउने गरेको पाइएको छ, जसले तत्कालका लागि वन्यजन्तु गाउँ पस्ने क्रम घटाउन पनि सहयोग पुर्याएको छ।
दीर्घकालीन योजना र भावी चुनौती

तस्बिर स्रोत, BBC/Madhuri Mahato
निकुञ्जले हाल तराई भू–परिधि कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा सिमसार क्षेत्रको संरक्षण, घाँसे मैदानको विस्तार र नयाँ कृत्रिम जलाशय निर्माण कार्यलाई तीव्रता दिएको भगतले जानकारी दिए।
पानीको चुहावट रोक्न पोखरीको फेदमा विशेष प्लास्टिक बिछ्याउने र कालीदह तथा सुकी पोखरी क्षेत्रमा सोलार प्रविधिको थप विस्तार गर्ने कार्य भइरहेको पनि उनले बताए।
"आगामी योजनाअन्तर्गत चुरेको फेदमा नै ठूला–ठूला पोखरीहरू निर्माण गरी वर्षाको पानी सङ्कलन गर्ने लक्ष्य राखिएको छ, जसले गर्दा तल्लो तटीय क्षेत्रको जमिनमुनिको पानीको सतह अर्थात् वाटर टेबलमा सुधार आउने र जल व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ, " उनले भने।
ट्याङ्कर र सिमेन्टका पोखरीहरू अस्थायी विकल्प मात्र हुन्।
संरक्षणविद्हरूका अनुसार जैविक विविधता र पर्यापर्यटनका दृष्टिले अमूल्य रहेको पर्सा राष्ट्रिय निकुञ्जको दीर्घकालीन सुरक्षाका लागि चुरे क्षेत्रको विनाश रोक्नु र प्राकृतिक जलाधारलाई पुनर्जीवित गर्नुको विकल्प छैन।
राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा समेत आबद्ध यादवले चुरे क्षेत्रको अवस्था, पानीको पुनर्भरण र जलवायु परिवर्तनको प्रभावबारे विस्तृत अनुसन्धान गर्नुपर्ने बताए।
जलवायु परिवर्तनको असरबारे चर्चा गर्दा हिमाली क्षेत्रलाई मात्र केन्द्रमा राख्ने नभई तराईको चुरे क्षेत्रलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनले बताए।
नीति तथा योजना बनाउने कामसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















