म्यान्मारमा अफिम उत्पादन 'नौ वर्षयताकै उच्च', कारण के हो?

म्यान्मार
Published

म्यान्मारमा अफिमको उत्पादन पछिल्लो नौ वर्षको उच्च बिन्दुमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

आर्थिक कठिनाइ र असुरक्षाका कारण यस्तो अवस्था आएको राष्ट्रसङ्घको विश्वास छ।

सन् २०२२ मा अफिम उत्पादन झन्डै ७९५ म्याट्रिक टन पुगेको थियो जुन सन् २०२१ भन्दा झन्डै दोबर थियो।

सैन्य कू भएको सन् २०२१ मा ४२३ म्याट्रिक टन अफिम उत्पादन भएको थियो।

राष्ट्रसङ्घका अनुसार हेरोइन बनाउन प्रयोग हुने अफिमको चोपको विश्वव्यापी मूल्य समेत निकै उच्च छ।

कारण

म्यान्मार
तस्बिरको क्याप्शन, सैन्य कूपछि अझैसम्म म्यानमारको धेरैजसो भाग रक्तपातपूर्ण गृहयुद्धमा छ।

सैन्य कूपछि अझैसम्म म्यान्मारको धेरैजसो भाग रक्तपातपूर्ण गृहयुद्धमा छ।

संयुक्त राष्ट्रसङ्घीय लागु औषध तथा अपराध कार्यालय (युएनओडीसी) का क्षेत्रीय प्रतिनिधि जेरेमी डग्लसले सैन्य कुपछि विकट भागका कृषकहरूसँग ‘अफिममा फर्कनुको विकल्प निकै कम देखिएको’ बताएका छन्।

थाइल्यान्ड, लाओस र म्यान्मारको मिलनबिन्दु रहेको सीमा क्षेत्र ‘गोल्डन ट्र्याङ्गल’ का रूपमा परिचित छ जुन इतिहासदेखि नै अफिम र हेरोइनको उत्पादन हुने ठाउँका रूपमा परिचित छ।  

बिहीवार सार्वजनिक गरिएको राष्ट्रसङ्घीय प्रतिवेदनले म्यान्मारको अर्थतन्त्र बाह्य एवं आन्तरिक असरहरूको मारमा परेको जनाइएको छ।  

जसमा रुस-युक्रेन युद्ध, निरन्तरको राजनीतिक अस्थिरता र बढिरहेको महँगीलाई कारणको रूपमा प्रस्तुत गरिँदै त्यसले किसानहरूलाई अफिम खेतीमा लाग्न बलियो आधार दिएको जनाइएको छ।

दोस्रो ठूलो अफिमको स्रोत

म्यान्मार संसारमै अफगानिस्तानपछि दोस्रो ठूलो अफिम उत्पादक देश हो।

यी दुवै देश संसारमा विक्री हुने धेरैजसो अफिमका स्रोत हुन्।

राष्ट्रसङ्घीय अनुमानहरूका अनुसार म्यान्मारको अफिम अर्थतन्त्र २ अर्ब अमेरिकी डलरसम्मको छ भने त्यस अन्तर्राष्ट्रिय क्षेत्रको अफिम कारोबार १० अर्ब अमेरिकी डलरसम्मको छ।

तर पछिल्ला वर्षमा उक्त खेतीलाई विस्थापित गर्ने कार्यक्रम तथा सुधारिएका आर्थिक अवसरहरूका कारण अफिमको उत्पादन निरन्तर घटिरहेका थिए।

म्यान्मारको अफिम उत्पादन सन् २०१३ पछि सबैभन्दा उच्च बिन्दुमा पुगेको हो।