अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पुग्ने पहिलो भारतीय अन्तरिक्षयात्री पृथ्वी फर्किए

एक्सिम मिशन ४ मा समाविष्ट चार अन्तरिक्षयात्रीमध्ये इसरोका शुभांशु शुक्ला
तस्बिरको क्याप्शन, इसरोसँग आबद्ध भारतीय वायुसेनाका विमानचालक शुभांशु शुक्लाको अन्तरिक्षयात्राप्रति भारतमा निकै ठूलो रुचि देखिएको छ
    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली
  • Published
  • पढ्ने समय: ४ मिनेट

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेर नयाँ इतिहास बनाउने प्रथम भारतीय अन्तरिक्षयात्री शुभांशु शुक्ला पृथ्वी फर्किएका छन्।

उनीसहित चार अन्तरिक्षयात्री लिएर आएको एक्सिअम-४ (Ax-4) मिशन नेपाली समयानुसार मङ्गलवार दिउँसो ३ः१६ बजे क्यालिफोर्नियाको सान डिएगोनजिकै समुद्रमा अवतरण गरेको हो।

एक्सिअम-४ मिशनको नेतृत्व नासाका भूतपूर्व वरिष्ठ अन्तरिक्षयात्री पेगी ह्वाइटसनले गरेका थिए। शुक्ला उक्त मिशनका 'ग्रूप क्याप्टेन' थिए। उक्त समूहमा पोल्यान्ड र हङ्गेरीका एकएक गरी अरू दुई अन्तरिक्षयात्री थिए।

एक्सिअम-४ यानमा अरू अन्तरिक्षयात्रीहरूसँग कुरा गर्दै भारतका शुभांशु शुक्ल
तस्बिरको क्याप्शन, एक्सिअम स्पेस कम्पनीले सामाजिक सञ्जाल 'एक्स'मा अन्तरिक्षयात्रीहरूले खाना आएको तस्बिर सार्वजनिक गरेको थियो

शुक्ला अन्तरिक्षयात्रा गर्ने दोस्रो भारतीय नागरिक हुन्। एकचालीस वर्षअघि रुसी सोयूज यान चढेर अर्का भारतीय वैज्ञानिक राकेश शर्मा अन्तरिक्षमा गएका थिए।

ह्यूस्टनमा अवस्थित निजी कम्पनी एक्सिम स्पेसले अमेरिकी अन्तरिक्ष निकाय नासा, भारतको इसरो, युरोपको ईएसए र अर्को निजी कम्पनी स्पेसएक्ससँग मिलेर एक्सिअम-४ नामक उक्त व्यावसायिक उडान गरेको थियो।

सोमवार आईएसएसले सामाजिक सञ्जाल 'एक्स'मा उक्त उडानमा सहभागी सबै सदस्यहरू यानभित्र चढेको तस्बिर सार्वजनिक गरेको थियो। उक्त यान आईएसएसबाट छुट्टिएको बेला त्यसको प्रत्यक्ष प्रसारण पनि भएको थियो।

मङ्गलवार एक्सिअम स्पेसले उक्त यान केही आवाज निकाल्दै क्यालिफोर्नियानजिकै समुद्रमा अवतरण गर्ने र त्यसलाई पानीबाट निकालिने जनाएको थियो। त्यसपछि चार अन्तरिक्षयात्रीलाई हेलिकप्टरबाट जमिनतिर लैजाने योजना पनि उक्त कम्पनीले सार्वजनिक गरेको थियो।

अन्तरिक्षबाट भारत कस्तो देखिन्छ?

एक्सिअम‍-४ यान
तस्बिरको क्याप्शन, यसअघि आईएसएसबाट छुट्टिएको झन्डै २२ घण्टापछि एक्सिअम‍-४ यान पृथ्वीमा अवतरण गर्ने बताइएको थियो

आईएसएसबाट बिदा हुने क्रममा आइतवार बोल्दै शुक्लाले अन्तरिक्ष अन्वेषणमा भारतको यात्रा कठिन भए पनि त्यो सुरु भइसकेको बताएका थिए।

"यो यात्रा अविश्वसनीय बनेको छ। मेरा र तपाईँका लागि यो अहिले टुङ्गिन लागेको भए पनि बाटो निकै लामो छ। हाम्रो मानवसहितको अन्तरिक्ष अभियानको यात्रा निकै लामो र कठिन छ। तर हामी दृढ बन्यौँ भनेँ तारा पनि हात पार्न सकिन्छ।"

शुक्लाले प्रथम भारतीय अन्तरिक्षयात्री राकेश शर्माले अन्तरिक्षबाट "भारत बाँकी विश्वभन्दा सुन्दर" देखिन्छ भनेको प्रसङ्ग कोट्याए।

"अहिले पनि हामी भारत अन्तरिक्षबाट कस्तो देखिन्छ भन्ने चाहान्छौँ। म तपाईँलाई बताउँछु। अन्तरिक्षबाट हेर्दा अहिलेको भारत महत्त्वाकाङ्क्षी देखिन्छ। ऊ निडर देखिन्छ। ऊ आत्मविश्वासयुक्त देखिन्छ। ऊ गर्विलो देखिन्छ। अनि म फेरि पनि भन्न सक्छु - वर्तमान भारत बाँकी विश्वभन्दा सुन्दर देखिन्छ।"

अन्तरिक्षमा भारतीय महत्त्वाकाङ्क्षा

आईएसएसमा भएका यात्री र वैज्ञानिकहरूसँग तस्बिर खिचाउँदै शुभांशु शुक्ला
तस्बिरको क्याप्शन, आईएसएसमा विभिन्न देशका वैज्ञानिकहरू छन्

आईएसएसमा दुई साता बिताउने उद्देश्यसहित पृथ्वीबाट उडेको एक्सिअम-४ यान केही दिन बढी बसेको थियो।

एक्सिअम स्पेसका अनुसार अन्तरिक्ष केन्द्रको बसाइका क्रममा अन्तरिक्षयात्रीहरूले ६० वटा विभिन्न वैज्ञानिक प्रयोगहरू गरेका थिए। तीमध्ये सात वटाको प्रारूप भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन 'इसरो'ले बनाएको थियो।

ग्रूप क्याप्टेन शुक्लालाई एक्सिअम-४ चढेर आईएसएसमा पठाउन र त्यसको लागि उनलाई तालिम प्रदान गर्न ५ अर्ब भारतीय रुपैयाँ (५.९ करोड अमेरिकी डलर) खर्च भएको थियो। इसरोले शुक्लाको अनुभवबाट भारतलाई मानवसहितको अन्तरिक्ष उडान गर्न सहयोग पुग्ने जनाएको छ।

इसरोले सन् २०२७ मा आफ्नो पहिलो मानवसहितको अन्तरिक्षयान 'गगनयान' उडाउने घोषणा गरिसकेको छ। भारत सन् २०३५ भित्र छुट्टै अन्तरिक्ष केन्द्र निर्माण गर्ने र सन् २०४० भित्र भारतीय अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गराउने योजनामा छ।

शुभांशु शुक्ला को हुन्

गत वर्ष गगनयानमा यात्रा गर्न भनी भारतीय वायुसेवाबाट चार जना छानिएका थिए। तीमध्ये शुक्ला पनि हुन्।

शुक्लाको जन्म १० अक्टोबर १९८५ मा उत्तर प्रदेशको राजधानी लखनऊमा भएको हो। उनी सन् २००६ मा लडाकु विमानको चालकका रूपमा भारतीय वायुसेनामा भर्ती भएका थिए।

उनले मिग, सुखोई, डोर्निअर, ज्यागुअर र हक गरी विभिन्न प्रकारका लडाकु विमान चलाएका छन्। उनले आकाशमा २,००० घण्टाभन्दा बढी बिताएको अभिलेख छ।

अन्तरिक्षको यात्रामा निस्किनुअघि उनले गत वर्ष आफ्ना लागि "अभूतपूर्व" भएको बताएका थिए।

"अहिलेसम्मको यात्रा अद्भुत भएको छ। तर सर्वोत्कृष्ट कुरा आउन बाँकी नै छ," उनले भने।

"अन्तरिक्षमा जान लाग्दा मैले औजार र उपकरणहरू मात्र बोकेको छैन, एक करोडवटा मनमा भएका आशा र सपनाहरू पनि बोकेको छु। म सबै भारतीयहरूलई यो अभियानको सफलताका लागि प्रार्थना गर्न अनुरोध गर्छु," उनले भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।