आईएसएसमा पाइला टेक्ने पहिलो भारतीय अन्तरिक्ष यात्री: शुभांशु शुक्ला

विभिन्न देशका अन्तरिक्ष यात्रीहरू पेगी ह्विटसन, शुभांशु शुक्ला, पोल्यान्डका स्लावोज उजनान्स्की विस्नीवस्की र हंगेरीका टिबोर कपू
तस्बिरको क्याप्शन, एक्जिअम स्पेसले एएक्स-४मा सवार अन्तरिक्ष यात्रुको फोटो २६ जुनमा सार्वजनिक गरेको थियो
    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली
  • Published
  • पढ्ने समय: ४ मिनेट

अन्तरिक्ष यात्री शुभांशु शुक्लाले इन्टरनेशनल स्पेस स्टेशन (आईएसएस)मा पाइला टेक्ने पहिलो भारतीय व्यक्तिको इतिहास बनाएका छन्।

एक लाइभ प्रसारणमा एक्जिअम-४ मिसनले अन्तरिक्षको प्रयोगशालासँग 'डक' गरेको र यानमा रहेका चारजना यात्रु आईएसएसमा प्रवेश गर्दै गरेको देखाएको थियो।

नासाकी पूर्व अनुभवी पेगी ह्विटसनको नेतृत्वमा ग्रुप क्याप्टेन शुक्ला पाइलट रहेको एएक्स -४ यान बुधवार अन्तरिक्षतर्फ जान उडेको थियो।

पोल्यान्डका स्लावोज उजनान्स्की विस्नीवस्की र हंगेरीका टिबोर कपू सहित चालकदलले आईएसएसमा दुई साता बिताउने छन्।

ग्रुप क्याप्टेन शुक्ला अन्तरिक्षको यात्रा गर्ने दोस्रो भारतीय हुन्। यसभन्दा अगाडि ४१ वर्ष अघि सन् १९८४ मा रुसी यान सोयुजमा अन्तरिक्ष यात्रा गरेका राकेश शर्मा पहिलो भारतीय थिए।

'अद्भुत यात्रा !'

 फ्लोरिडाको केनेडी स्पेश सेन्टर
तस्बिरको क्याप्शन, एक्जिअम -४ फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट उडेको थियो

एएक्स- ४ ह्युस्टन अमेरिकास्थित निजी कम्पनी एक्जिअम स्पेसद्वारा सञ्चालित व्यावसायिक उडान हो - उक्त यान फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट बुधवार अन्तरिक्षतिर उडेको थियो।

यान र आईएसएसबीच बिहीवार जीएमटी १०:३१ भारतीय समय १६:०१ मा 'डकिङ' भएको थियो। त्यसपछि यान र स्टेशनबीच जोड्ने प्रक्रिया सुरु भयो र प्रवेश मार्ग तयार भएपछि एएक्स-४ का अन्तरीक्ष यात्रीहरू आईएसएसमा पुगे।

नयाँ चारसहित अहिले आईएसएसमा ११ सदस्य भएका छन्।

यो मिसन नासा, भारतीय अन्तरिक्ष कार्यक्रम इसरो, युरोपेली स्पेस एजेन्सी इसा र स्पेस एक्सको संयुक्त सहकार्य हो। दुई युरोपेली अन्तरिक्ष यात्रीले पनि आफ्नो देशलाई चालीस वर्षपछि अन्तरिक्षमा पुर्‍याएका हुन्।

दुई हप्ते बसाइमा ती अन्तरिक्ष यात्रीले ६० वटा वैज्ञानिक परीक्षण गर्ने छन् । तीमध्ये ७ वटा भारतीय अन्तरिक्ष अनुसन्धान निकाय इसरोले गर्ने भनेका परीक्षण छन्।

इसरोले ग्रुप क्याप्टेन शुक्लाको एक सीट र उनको तालिमका लागि ५ अर्ब भारतीय रुपैयाँ तिरेको थियो। इसरोले आईएसएस यात्राबाट शुक्लालाई प्राप्त हुने व्यावहारिक अनुभवले भारतलाई भविष्यमा मानवलाई अन्तरिक्ष उडानमा लग्ने कार्यमा सहयोग गर्ने बताएको छ।

इसरोले भारतको पहिलो मानव अन्तरिक्ष उडान सन् २०२७ मा सुरु गर्न चाहेको बताएको छ।

उसले सन् २०३५ सम्म एक अन्तरिक्ष स्टेशन स्थापित गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गर्दै सन् २०४० सम्ममा एक अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने योजना घोषणा गरेको छ।

 अन्तरिक्षयान बिहीवार आईएसएससँग जोडिएको थियो
तस्बिरको क्याप्शन, अन्तरिक्षयान बिहीवार आईएसएससँग जोडिएको थियो

त्यसअघि बिहीवार एक्जिअम स्पेसले अन्तरिक्ष यात्रीहरूसँग लाइभ अपलिङ्क गरेको थियो र त्यसबेला ग्रुप क्याप्टेन शुक्लाले उनको अन्तरिक्षमा बिताएको २४ घण्टाबारे बोलेका थिए।

"कस्तो विशेष यात्रा," उनले भने, "अन्तरिक्षमा तैरँदा अद्भुत महसुस भइरहेको थियो" र "असाध्यै रमाइलो भयो।"

उनले हाँस्दै भने, "जब हामी शून्य गुरुत्वाकर्षण भित्र छिर्‍यौँ मलाई त्यति रमाइलो लागेको थिएन तर मलाई भनिएको छ कि म धेरै नै निदाइरहेको छु, जुन राम्रो सङ्केत हो।"

उनले भने, "म यहाँबाट देखिने दृश्यको आनन्द लिइरहेको छु। यो अनुभव - एउटा बच्चा जस्तै हिँड्ने, आफ्नो शरीर नियन्त्रण गर्ने, खाने र पढ्ने सिकिरहेको छु।

ग्रुप क्याप्टेन शुक्ला र चालक दलका अरू सदस्यहरूले बोलिरहेका बेला 'जोइ' नाम दिइएको एउटा सानो खेलौना हाँस - जसलाई एएक्स ४ को "पाँचौँ सदस्य" भनिएको थियो त्यहाँ हावामा तैरँदै आउने जाने गरिरहेको देखिन्थ्यो।

एक्जिअमले जोइबारे भनेको छ, "यो एएक्स ४ को रमाइलो साथी भन्दा बढी हो र" यो "शून्य गुरुत्वाकर्षणको सूचक"का रूपमा अन्तरिक्षको यात्रामा छ।

शुभांशु शुक्ला
तस्बिरको क्याप्शन, ग्रुप क्याप्टेन शुक्ला अन्तरिक्षको यात्रा गर्ने दोस्रो भारतीय हुन्

बिहीवारको प्रसारणका बेला ग्रुप क्याप्टेन शुक्लाले त्यो खेलौना बच्चा हाँसलाई "बुद्धिमत्ता अनि के महत्त्वपूर्ण छ र के छैन भनेर छुट्ट्याउन सक्ने क्षमताको प्रतीक हो" भने। उनले थपे, "अहिले अनेकतिर ध्यान मोडिने युगमा यो अति महत्त्वपूर्ण छ।"

बुधवार प्रक्षेपण लगत्तै कमान्डर पेगी विटसनले आफ्नो यानको नाम 'ग्रेस' (अनुग्रह) राखेको बताइन्।

उनले भनिन्, "ग्रेस एक नाम मात्र नभएर थप पनि केही हो।"

"पृथ्वीलाई पृष्ठभूमिमा राखेर अन्तरिक्षमा शानका साथ अगाडि बढिरहेको यात्रा। यो नामले हाम्रो लक्ष्यबारे बोल्छ, विज्ञान र भावनाको सामञ्जस्यबारे बोल्छ जुन हामीले विनम्रतापूर्वक निर्वाह गरिरहेका छौँ।"

नामबारे उनले थप भनिन् "अन्तरिक्षको उडान इन्जिनियरिङको एउटा पाटो मात्र होइन। यो त मानव फाइदाका लागि गरिने सद्भावपूर्ण कार्य हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।