भारत किन म्यान्मारसँगको सीमामा छेकबार लगाउन चाहन्छ

भारत-म्यान्मार सीमा
तस्बिरको क्याप्शन, म्यान्मारबाट सामान बोकेर मोरेस्थित मैत्रीद्वारबाट मणिपुर प्रवेश गर्दै केही मानिस
    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता
  • Published

भारतका गृहमन्त्री अमित शाहले केही साताअघि छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा गरे।

भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई “बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी” सुरक्षित बनाउने उनको भनाइ थियो। भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना लामो सीमा छ।

शाहले भारत र म्यान्मारको सीमावर्ती क्षेत्रका मानिसहरूलाई भिसाबिनै एकअर्काको देशमा १६ किलोमिटरसम्म यात्रा गर्न अनुमति दिने एउटा पुरानो सम्झौता खारेज गर्ने विषयमा पनि विचार भइरहेको बताए। छेकबार कसरी र कहिले लगाउने भन्ने चाहिँ उनले खुलाएनन्।

तर सीमामा छेकबार लगाउने काम निकै चुनौतीपूर्ण हुने छ। केही विज्ञहरूका अनुसार पहाडी भूभागमा छेकबार लगाउन असम्भवप्रायः छ।

दिल्लीको योजनाका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूबीच कायम पुरानो सन्तुलन बिग्रिन अनि दुई देशबीच तनाव बढ्न सक्छ।

किन उठ्यो सीमामा छेकबार लाउने कुरा

म्यान्मारसँग पूर्वोत्तर भारतका अरुणाचल, नागाल्यान्ड, मणिपुर र मिजोरम गरी चारवटा राज्यको सीमा जोडिएको छ। सीमामा छेकबार लगाउने कुरा दुइटा ठूला घटनाक्रमका कारण आएको देखिन्छ।

पहिलो, सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूपछि म्यान्मारमा बढेको द्वन्द्वका कारण भारतलाई हानि हुने जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण म्यान्मारबाट झन्डै २० लाख मानिस विस्थापित भएका छन्।

हालैका सातामा म्यान्मारमा विद्रोहीहरूले चिन प्रान्तको महत्त्वपूर्ण नगर पलेट्वा आफ्नो नियन्त्रणमा लिँदा म्यान्मारबाट भारत जाने एउटा मुख्य मार्ग अवरुद्ध भएको छ।

म्यान्मारसँग ४०० किलोमिटर सीमा जोडिएको मणिपुरमा गत वर्ष साम्प्रदायिक हिंसा भड्किएको थियो
तस्बिरको क्याप्शन, म्यान्मारसँग सीमावर्ती मणिपुरमा गत वर्षदेखि साम्प्रदायिक हिंसा भड्किएको हो

दोस्रो कारण चाहिँ म्यान्मारसँग ४०० किलोमिटर लामो सीमा जोडिएको मणिपुरमा गत वर्ष सुरु भएको साम्प्रदायिक हिंसा हो। बहुसङ्ख्यक मैतेई समुदायलाई पनि अनुसूचित जातिमा राख्न अदालतले सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा जनजाति समुदायहरू आन्दोलित हुँदा हिंसा सुरु भयो।

बहुसङ्ख्यक मैतेई र आदिवासी कुकी अल्पसङ्ख्यक समुदायबीच झडपमा १७० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको मणिपुर सरकारले राज्यमा "ठूलो सङ्ख्यामा अवैध आप्रवासी" रहेको भन्दै आएको छ।

सरकारले "म्यान्मारमा अफिमको अवैध खेती गर्ने प्रभावशाली व्यक्ति र लागुपदार्थ तस्करहरूले हिंसा उक्साएको" दाबी गरेको छ।

सीमा निकै 'अशान्त'

गत वर्ष जुलाई महिनामा भारतका विदेशमन्त्री एस जयशङ्करले म्यान्मारको सैन्य सरकारमा कार्यरत आफ्ना समकक्षी थान स्वेलाई भारत-म्यान्मार सीमामा रहेका क्षेत्रहरू "निकै अशान्त" भएको जानकारी दिएका थिए। उनले "[सीमाको] अवस्था बिग्रिन सक्ने काम गर्नु नहुने" भन्दै "मानव तथा लागुपदार्थ तस्करी"बारे चिन्ता व्यक्त गरेका थिए।

अमेरिकी थिङ्कट्याङ्क विल्सन सेन्टरका माइकल कुगल्मन सीमामा छेकबार लगाउने काम "पूर्वी सीमामा दुईतर्फी सुरक्षा खतरा बढिरहेको भन्ने भारतको बुझाइबाट प्रेरित" भएको ठान्छन्।

"यसले म्यान्मारमा गहिरिँदो द्वन्द्वको प्रभावलाई सीमित गर्न र अझ अस्थिर बनिरहेको मणिपुरमा म्यान्मारबाट शरणार्थी जाने जोखिम घटाउन खोजेको छ," कुगल्मनले बीबीसीलाई भने।

भारतीय सीमापारि रहेको म्यान्मारको एउटा गाउँ
तस्बिरको क्याप्शन, भारतीय सीमापारि रहेको म्यान्मारको एउटा गाउँ

कतिपयले त्यस्तो तर्क कति सही हो भनेर प्रश्न गरेका छन्।

राज्य सरकार मणिपुरमा म्यान्मारबाट ठूलो सङ्ख्यामा कुकी शरणार्थीहरू आएकाले द्वन्द्व फैलिएको दाबी गर्छ। तर गत वर्ष एप्रिल महिनाको अन्त्यसम्म केवल २,१८७ मानिस सीमापारिबाट आएको राज्य सरकारकै एउटा समितिले जनाएको थियो।

पूर्वोत्तर भारतका विद्रोही समूहको भूमिका

"म्यान्मारबाट ठूलो सङ्ख्यामा अवैध आप्रवासी आएको भन्ने कुरा गलत हो। कुकीहरू 'विदेशी' र अवैध आप्रवासी हुन्, उनीहरू मणिपुरका होइनन् भन्ने अनि उनीहरूको प्रतिरोधलाई म्यान्मारबाट समर्थन प्राप्त भइरहेको छ भन्ने दाबीलाई बलियो पार्न त्यसो गरिँदै छ," म्यान्मारका लागि भारतका पूर्वराजदूत गौतम मुखोपाध्यायले भने।

"त्यस्ता तर्क र प्रमाण निकै कमजोर छन्। कुकीहरू लामो समयदेखि मणिपुरमा बसोबास गर्दै आएका छन्। व्यापारिक गतिविधिबाट लाभ पुगेका मैतेईसहित सबै समुदाय खुला आवतजावतबाट पनि लाभान्वित भएका छन्।"

उक्त क्षेत्रमा काम गरेको अनुभव भएका तर आफ्नो नाम नखुलाउन नचाहने एक सेवानिवृत्त वरिष्ठ सैन्य अधिकारी सीमामा छेकबार लगाउने योजना सर्वसाधारण मानिसको बसाइँसराइका कारण नभएको औँल्याउँछन्।

बरु पूर्वोत्तर भारतबाट आएका केही विद्रोही समूहले म्यान्मारका सीमावर्ती गाउँ तथा सहरमा आफ्ना शिविर बनाएकाले त्यसो गर्न लागिएको उनको बुझाइ छ।

मिजोरममा म्यान्मारबाट भागेका ४०,००० शरणार्थी छन्
तस्बिरको क्याप्शन, मिजोरममा म्यान्मारबाट भागेका ४०,००० शरणार्थी छन्

जनस्तरको सम्बन्ध

पूर्वोत्तर भारत दशकौँदेखि विभिन्न समूहले गरेका पृथक्तावादी विद्रोहका कारण प्रभावित छ।

'एएफएसपीए' नामक एउटा विवादास्पद कानुनले सुरक्षा बलहरूलाई खानतलासी र जफत गर्ने अधिकार दिएको छ। सर्वसाधारण मानिस हताहत भए भने पनि त्यसले सैन्य कारबाहीमा संलग्न सुरक्षाकर्मीलाई संरक्षण गर्छ।

ती अधिकारीका अनुसार म्यान्मारमा लुकेका भारतीय विद्रोहीहरूले सजिलै सीमा पार गरेर "जबरजस्ती असुली र हिंसात्मक गतिविधि" गर्न सक्छन्।

यद्यपि सीमामा छेकबार लगाउने कदमको प्रतिरोध हुन सक्छ।

भारत र म्यान्मारबीच ऐतिहासिक धार्मिक, भाषिक र जातिगत सम्बन्ध छ। म्यान्मारमा भारतीय मूलका झन्डै २० लाख मानिस बस्छन्। उनीहरू भारतको 'लूक ईस्ट' नीतिमार्फत् बृहत्तर आर्थिक सहयोगको आशामा छन्।

यो नीतिअन्तर्गत भारतले म्यान्मारलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको छ। अधिकांश रकम सडक, उच्च शिक्षा र क्षतिग्रस्त मन्दिरहरूको जीर्णोद्धारजस्ता काममा अनुदानका रूपमा गएको छ।

यो सीमाले एउटै मूल र संस्कृति भएका मानिसहरूलाई विभाजित गर्छ। मिजोरमका मिजोहरू र म्यान्मारका चिनहरूबीच नाता पर्छ। म्यान्मारपट्टि चिन प्रान्तमा इसाईहरूको बाहुल्य छ। सीमाका दुवैतिर नागाहरूको पनि बसोबास छ। म्यान्मारका धेरै नागाहरूले भारतमा उच्च शिक्षा लिएका छन्। अरुणाचल प्रदेशको वालोङमा बस्ने सिकारीहरूले सयौँ वर्षदेखि यही सीमाबाट आउजाउ गर्दै आएका छन्।

त्यसैले दिल्लीले दिएको निर्देशनको अवज्ञा गर्दै मिजोरमले म्यान्मारको गृहयुद्धबाट भागेका ४०,००० जनाभन्दा बढी शरणार्थीलाई आश्रय दिनु आश्चर्यजनक विषय होइन।

"हामीले जनताका लागि यो मुद्दा समाधान गर्न र घुसपैठ पनि रोक्न एउटा उपाय खोज्नुपर्छ," नागाल्यान्डका मुख्यमन्त्री नेफियू रियोले हालै भनेका थिए, "किनकि नागाल्यान्डको म्यान्मारसँग सीमा जोडिएको छ र सीमाका दुवैतिर नागाहरू छन्।"

उनको दलले भाजपालाई सहयोगी सहयोग गर्दै आएको छ।

भौगोलिक चुनौती

विज्ञहरू पहाडी र घना जङ्गल भएको क्षेत्रमा छेकबार लगाउने काममा धेरै चुनौती हुने बताउँछन्।

"पहाडी र दुर्गम भेगमा सीमा भएकाले सबै ठाउँमा छेकबार लगाउनु असम्भव छ। यो काम बाङ्ग्लादेशको सीमामा छेकबार लगाए जस्तो सजिलो छैन," म्यान्मार मामिलाका प्रसिद्ध विशेषज्ञ बर्टिल लिन्ट्नरले भने।

"छेकबार अव्यावहारिक छ र यो बनाउन धेरै वर्ष लाग्छ। केही ठाउँमा बनिहाल्यो भने पनि स्थानीय मानिसले कुनै न कुनै उपाय खोज्छन्," उनले बीबीसँग भने।

चिन प्रान्तस्थित एउटा गाउँमा सेनाले बम प्रहार गरेपछि लागेको आगो
तस्बिरको क्याप्शन, स्थानीय सञ्चारमाध्यमका अनुसार म्यान्मारको चिन प्रान्तस्थित एउटा गाउँमा सेनाले बम प्रहार गर्दा आगो लागेको थियो

सीमामा छेकबार लगाउने योजनासँग एउटा संवेदनशील कूटनीतिक प्रश्न पनि जोडिन्छ।

कुगल्मनका अनुसार भारतले सतर्क भएर भारतसँग कुरा गर्नुपर्ने बेलामा सीमामा छेकबार लगाउने विषयबाट म्यान्मार बिच्किन सक्छ।

"भारतले सीमा सुरक्षा र भौतिक पूर्वाधार विकाससहित अन्य विषयमा म्यान्मारका सैन्य शासकहरूको सहयोग खोजेको छ। एकलौटी हिसाबमा नभई म्यान्मारसँग परामर्श गरेर दुई देशबीचको सीमामा छेकबार लगाउँदा कम तनाव हुने छ," उनले भने।

वास्तवमा भारतीय गृहमन्त्री अमित शाहको घोषणाले भारतीय सीमामा विद्यमान सुरक्षा चुनौती कस्तो छ भन्ने झल्को दिन्छ।

राजनीतिक तनाव, सीमा विवाद, युद्ध, आतङ्कवाद वा यिनको संयोजनका कारण भारतले पाकिस्तान र चीनसँगको सीमामा पनि तनाव बेहोर्नुपरेको छ। भारतले एक्षिण एशियामा चीनसँग प्रतिस्पर्धा पनि गर्नुपरेको छ।

भारतसँग भन्दा म्यान्मारको आर्थिक सम्बन्ध चीनसँग बलियो छ।

"भारत छिमेकीहरूसँगको सम्बन्ध बलियो बनाउन प्रयास गरिरहेको छ अनि बेइजिङको बढ्दो चुनौती हटाउन पनि खोजिरहेको छ। यस्तो बेला सीमामा विद्यमान चुनौतीहरू भारतका लागि अप्रिय कुरा हुन्। तर तिनलाई सर्लक्क हटाउन पनि सकिँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।