चीन कोभिड: वृद्ध जनसङ्ख्यालाई खोप लगाउन चीन किन सङ्घर्षरत छ?

खोप केन्द्र
    • Author, रियालिटी चेक टिम
    • Role, बीबीसी न्यूज
  • Published

कोभिड प्रतिबन्धहरूविरुद्ध विगतमा कहिल्यै नदेखिएका प्रदर्शनहरूको सामना गरेका चिनियाँ निकायहरूले जेष्ठ उमेर समूहका मानिसहरूमाझ कोभिड खोप अभियान वृद्धि गर्ने बताएका छन्।

चीनको शून्य कोभिड रणनीतिका लागि मुख्य बाधा भनेकै वृद्धहरूलाई लगाइएको कोभिडविरुद्धको खोपको दर तुलनात्मक रूपमा कम हुनु हो।

चीनले वृद्धहरूमा लगाइएको खोपको दर कम रहेको कुरा स्वीकार गरेको छ।

युवा उमेर समूहभन्दा वृद्धाहरू कोभिडबाट बिरामी हुने र उनीहरूको मृत्यु हुने सम्भावना बढी रहन्छ। 

कति मानिसहरूलाई खोप लगाइएको छ?

यो वर्ष एप्रिलमा सार्वजनिक आधिकारिक तथ्याङ्कले दुवै मात्रा खोप र बुस्टर लगाउने ८० वर्षभन्दा माथिका बिरामीको सङ्ख्या करिब २० प्रतिशत मात्रै रहेको देखिएको थियो। 

चिनियाँ अधिकारीहरूले दिएका पछिल्लो तथ्याङ्कका अनुसार कोभिड प्रतिबन्धलाई लिएर देशैभरि प्रदर्शन भइरहँदा पछिल्लो समय बुस्टरसहित खोप लगाउने ८० वर्षमाथिकाहरूको सङ्ख्या करिब ४० प्रतिशत पुगेको छ।

वृद्धहरूलाई दिइएका यी खोप दरहरू अमेरिका र यूकेमा भन्दा उल्लेख्य मात्रामा कम हो।

गत नोभेम्बरमा यूकेबाट आएका तथ्याङ्कले ८० वा त्योभन्दा माथि उमेरका करिब ८० प्रतिशत मानिसहरूलाई विगत तीन महिनामा बुस्टर खोप लगाएको देखाएको छ।

चीनमा खोप लगाइँदै

चीनले आफ्ना वृद्ध नागरिकलाई लगाइने खोपको दर वृद्धि गर्ने योजना घोषणा गरेको छ।

चीनले ज्यानुअरीको अन्त्यसम्ममा ८० वर्ष उमेर माथिका मानिसहरू ९० प्रतिशतलाई प्रारम्भिक दुई मात्रा खोप वा बुस्टर खोप दिने लक्ष्य राखेको छ।

किन धेरै वृद्ध मानिसहरूले खोप लगाएका छैनन्?

चीनको कोभिड विज्ञ टोलीका प्रमुख प्राध्यापक लियाङ वनियनले बीबीसीसँग बोल्दै वृद्ध वृद्धाहरू कोभिडविरुद्धको खोप लगाउन इच्छुक नरहनु एउटा कारण भएको बताए। 

"धेरै वृद्ध मानिसहरूमा पहिले नै थप रोगहरू छन्। उनीहरू खोप लगाउनु सुरक्षित हो भन्ने ठान्दैनन्। तर खासमा यो सुरक्षित हो," उनले भने। 

अन्य देशमा जस्तो खोप लगाउँदा वृद्ध वृद्धालाई चीनले पहिलो प्राथमिकतामा राखेन। सन् २०२० को अन्त्यमा खोप लगाउन सुरु गर्दा चीनले काम गर्ने उमेरका जनसङ्ख्यालाई प्राथमिकता दियो।

बेइजिङको आवासीय क्षेत्रबाहिर कामदारहरू
तस्बिरको क्याप्शन, बेइजिङमा लकडाउन: प्रतिबन्ध बढ्दो रूपमा अलोकप्रिय बन्दै गएको छ

चीनले आफ्नो देशबाहिर पनि खोपको परीक्षण गर्‍यो र त्यहाँ युवा जनसङ्ख्यामाझ उसले परीक्षण गर्‍यो।

उक्त खोप वृद्धाहरूमा कति प्रभावकारी हुन्छ भन्नेमा पर्याप्त तथ्याङ्क नरहेको पनि जनायो। स्थानीय रूपमा बनेका खोपप्रतिको विश्वास हालैका वर्षमा देखिएका शृङ्खलाबद्ध प्रकरणहरूका कारण कमजोर बन्दै गएको छ।

टिटानस, रेबिजजस्ता खोपको उत्पादन मापदण्ड र सुरक्षाका विषय यसअघि उठेका थिए। 

चीनमा बनेका खोपहरू प्रभावकारी छन्?

चीनले आफ्नै खोप उत्पादन र विकास गर्‍यो जसले भाइरसविरुद्ध लड्न निष्क्रीय अवस्थामा रहने भाइरसलाई तालिम दिन्छ। 

सिनोफार्म

प्रभावकारी भए पनि विश्वका अन्य भागमा प्रयोग गरिएका एमआरएनए खोपजति यी खोप राम्रा होइनन्। 

अनुसन्धानहरूका अनुसार फाइजर/बायोएनटेक जस्ता एमआरएनए खोपको दुई मात्राले गम्भीर बिमारी वा मृत्युसँग ९० प्रतिशत सुरक्षा दिन्छ। तर चीनमा व्यापक रूपमा प्रयोग भएको मध्येको एक सिनोभ्याकको दई मात्राले ७० प्रतिशत मात्रै सुरक्षा दिन्छ।

चीनमा लामो समयको लकडाउन हुनुको अर्थ मानिसहरूको एक अर्कासँग कमै मात्रै सम्पर्कमा आएका छन्। 

यसको अर्थ जो मानिस खोप लगाए उनीहरू पनि भाइरससँग सम्पर्कमा आउन पाएनन् यसले "हाइब्रिड इम्युनिटी" का लागि कम फाइदा भयो।

"यो त्यस्तो सुरक्षा कवज हो जुन खोपको प्रभावकारिता र प्राकृतिक एक्सपोजरबाट बन्छ जुन परिस्थितिसँग बाँकी विश्व बाँच्न चाहिरहेको छ," बीबीसीकी स्वास्थ्य र दुष्प्रचारबारेकी संवाददाता रेचल श्रेअरले भनिन्।

त्योसँगै जोड्दा ओमिक्रोनको नयाँ भेरिअन्ट देखा परेको छ जुन खोप लगाएकाहरू माझ फैलिएको छ र भाइरस निर्मूल हुने सम्भावना झनै कम भएको छ। 

शाङ्घाइमा रहेको खोप उत्पादन केन्द्र
तस्बिरको क्याप्शन, शाङ्घाइमा रहेको खोप उत्पादन केन्द्र

चीनले किन पश्चिमा खोप प्रयोग गर्दैन?

विश्वव्यापी महामारीको प्रारम्भिक चरणमा चीनले आफ्नो उत्पादन प्रयासलाई निकै बढाइचढाइ गर्‍यो।

गत वर्ष, विश्वमा विद्यमान कोभिड खोपको भण्डारणको आधा बनाएको दाबी गर्‍यो।

त्यसैले अन्यत्र बनेका खोपको प्रयोग गर्न उ अनिच्छुक छ भन्ने कुरा अचम्म लाग्दो होइन।

जर्मनीले चीनलाई पश्चिमा देशले बनाएको एमआरएनए खोप प्रयोग गर्न आह्वान गरेको थियो। यी खोप चीनमा पाउन कठिन छ र विदेशी नागरिकलाई मात्रै उपलब्ध छ।

एमआरएनए खोप प्रविधि प्रयोग गरेर चीनले आफ्नै खोप विकास गर्ने ठानिएको थियो तर त्यो कहिलेसम्म उपलब्ध हुन्छ भन्ने स्पष्ट छैन।

थप रिपोर्टिङ वानयुवान सङबाट।