एलिजाबेथ द्वितीया: नेपालमा तीन दिन शोक मनाउने सरकारको निर्णय

नेपाल भ्रमणका बेला एलिजाबेथ
तस्बिरको क्याप्शन, दशकौँअघि नेपाल भ्रमणका बेला एलिजाबेथ
Published

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने नेपालको मन्त्रिपरिषद्ले निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

उनका अनुसार सरकारले तीनदिने बिदा दिने निर्णय भने गरेको छैन।

तर निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय भएको उनले बताए।

नेपालको पुरानो दौत्य सम्बन्ध रहेको देशकी महारानीको निधन भएकोले सम्मानमा उक्त निर्णय लिइएको उनले बताए।

यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीवार राति बाल्मोरलमा निधन भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महारानी एलिजाबेथ द्वितीयाको निधन

उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। महारानी एलिजाबेथले गद्दीमा रहेकै बेला विसं २०१७ र २०४२ सालमा दुई पटक नेपालको भ्रमण गरेकी थिइन्।

राष्ट्रपति-प्रधानमन्त्रीद्वारा शोक व्यक्त

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का अनुसार शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डूस्थित ब्रिटिश दूतावासमै पुगेर शोक व्यक्त गरेकी छन्।

उनले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेको राससले जनाएको छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानीको निधनमा "गहिरो दु:ख" व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, "महारानी एलिजाबेथ द्वितीयाले कर्तव्य, सम्मान र सेवाका साथ आफूलाई सम्मानित बनाएकी थिइन्।"

उनले महारानीले गरेका दुईवटा नेपाल भ्रमणको स्मरण समेत गरेका छन्।

देउवाले नेपालीहरूले उनलाई प्रेमपूर्वक स्मरण गर्ने भन्दै नेपालले "देश र जनताको एक महान् प्रशंसक गुमाएको" उल्लेख गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, "म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्छु।"

त्यस्तै नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि महारानी एलिजाबेथको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

पूर्वराजाका सम्वाद सचिव फणीराज पाठकले शुक्रवार जारी गरेको वक्तव्यमा शाहले नेपाल र ब्रिटेनको दौत्य सम्बन्ध र महारानीको नेपाल भ्रमणको स्मरण पनि गरेको उल्लेख छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बकिङ्गम प्यालेसमा महारानी एलिजाबेथ द्वितीयाको मृत्युको घोषणा