युक्रेन-रुस युद्ध: युक्रेनी बालबालिकालाई गलत इतिहास पढाउने रुसी प्रयास

युक्रेन
    • Author, केलिन डेभ्लिन र मरिआ कोरिनिक
    • Role, बीबीसी न्यूज
  • Published

रुसले कब्जा परेको युक्रेनी क्षेत्रमा सेप्टेम्बर १ मा बालबालिकाहरू विद्यालय फर्कँदा इतिहासका पाठ निकै भिन्न तरिकाले पढाइने छ।

बीबीसीले थाहा पाए अनुसार युक्रेनी शिक्षकहरूलाई रुसी पाठ्यक्रम अन्तर्गत रहेर पढाउन दबाव दिइएको छ। जसको अर्थ क्रेमलिनको दृष्टिबाट संसारको अध्ययन गर्नु हो। 

यस रिपोर्टमा धेरैजसो नामहरू परिवर्तन गरिएका छन्। 

युक्रेनको दक्षिणमा पर्ने रुस अधीनस्थ क्षेत्रमा विद्यालय सहितका प्रशासनिक र शैक्षिक भवनहरूमा रुसी झन्डा राखिएका छन्। 

रुस नियन्त्रित मारीऊपोलमा इर्यानाकी १३ वर्षीय सन्तान कक्षा आठ सुरु गर्ने तयारीमा रहँदा उनी चिन्तित बनेकी छन्। 

"[रुसी पाठ्यक्रमबारे] मलाई साँच्चिकै चिन्तित पार्ने कुरा भनेको इतिहासबारे उनीहरूले पढाउने कुरा हो। त्यो 'अर्को दृष्टिकोणबाट' पढाइने छ," उनले भनिन्।

पाठहरू युक्रेनी भाषामा नभई रुसी भाषामा हुने कुराप्रति उनी क्रुद्ध छिन्। 

"यो उनीहरूको परम्परा र संस्कृति लाद्ने कुरा हो। म बालबालिकाहरू त्यस अवस्थाको बन्धक भएको हेर्न चाहन्न," उनले भनिन्। 

अधीनस्थ भागमा युक्रेनी इतिहासलाई मेटाउने प्रयासबारे रुस पक्षधर सामाजिक सञ्जालमा सगर्व चर्चा गरिएको छ। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य

रुसी फौजले पुस्तकालयहरूबाट युक्रेनी इतिहासका पुस्तकहरू हटाइरहेका दृश्य बारम्बार देख्ने गरिन्छ। 

रुसको पुनर्जागरण मन्त्रालय भनिने निकायले अधीनस्थ युक्रेनी क्षेत्रमा रुसी पाठ्यपुस्तक उपलब्ध गराउने वाचा गरेको छ। 

बीबीसीले उक्त मन्त्रालयले स्वीकृत गरेका विद्यालयका मुख्य पाठ्यक्रमहरू र तिनका युद्धअघि सन् २०१६ मा प्रकाशित र २०२२ संस्करणहरूको समीक्षा गरेको छ। 

तिनमा युक्रेन र किएभका धेरै सन्दर्भहरू हटाइएका छन्। 

मध्यकालीन पूर्वी युरोपेली राज्य 'क्याभिन रस' र उसको राजधानी किएभलाई विस्थापित गर्दै रस वा सीर्फ 'पुरानो रस' लेखिएको छ।

ती किताबहरूले गलत कुराहरू राखेका छन्। जसमा सन् २०१४ मा रुसले क्राइमियालाई गाभ्ने समयको व्याख्या गर्ने क्रममा पश्चिमा सहयोगमा [किएभमा] कट्टर राष्ट्रवादीहरू शक्तिमा आएपछि मानिसहरू "आफ्ना अधिकार बचाउन" प्रदर्शन गरेको लेखिएको छ। 

त्यसैगरी पाठ्यपुस्तकका पछिल्ला संस्करणमा भ्लादिमिर पुटिनसँगका सन्दर्भ र उनका उपलब्धिहरू थपिएको छ। 

युक्रेन
तस्बिरको क्याप्शन, रुसी पाठ्यपुस्तकमा क्राइमियालाई गाभिएको कुरा "रुससँगको पुर्नएकता" भनेर व्याख्या गरिएको छ भने युक्रेन "उग्र राष्ट्रवादी"बाट शासित देश भनिएको छ

बीबीसीले सो मन्त्रालयसँग सम्पर्क गर्दा जबाफ प्राप्त हुन सकेन।

इर्याना युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा जाने कि भनेर समेत सोचिन् तर उनले आफ्नो घर छाड्न चाहिनन्।

रुसी पाठ्यक्रम अन्तर्गत रहेर आफ्ना सन्तान पढून् भन्ने उनले कत्ति पनि चाहेकी छैनन् तर घरमै राखेर पढाउनेबारे सोचेर समेत चिन्तित छन्।

सैद्धान्तिक रूपमा बालबालिकाले युक्रेनी पाठ्यक्रम अनलाइनमा पढ्न सक्छन् तर त्यसका दुष्परिणामबारे भने उनी चिन्तित छन्।

उनी भन्छिन्, "यदि कसैले हाम्रोबारे नयाँ [रुसले राखेका] अधिकारीहरूसमक्ष भनिदिए वा रुसी शिक्षा नपढाएकोबारे उनीहरूले मलाई र मेरो सन्तानलाई सोधपुछ गर्न थाले भने?"

अगस्ट १९ मा सामाजिक सञ्जाल टेलिग्राममा एक स्थानीय युक्रेन पक्षधरले सञ्चारमाध्यमले पोस्ट राख्यो।

जुन मारीऊपोल सहरभन्दा केहीबाहिर पर्ने विद्यालयका एक जना रुस पक्षधर शिक्षकले अभिभावकहरूलाई पठाइएको ठानिएको थियो। जसमा "हाम्रो स्वतन्त्र भूभागमा अब दूरशिक्षा नहुने" लेखिएको थियो।

अधीनस्थ क्षेत्रलाई क्रेमलिनले "स्वतन्त्र भूभाग" भन्ने गर्छ।

प्रत्यक्ष रूपमा पढ्न नपठाउने अभिभावकले यदि बारम्बार त्यसो गरे भने "उनीहरूको अधिकार छिनिने" लेखिएको थियो।

दबावमा शिक्षक

यस युद्धमा युक्रेन पक्षधर शिक्षकहरू सबैभन्दा ठूलो मारमा परेका छन्।

कोही लुकेर बस्नु परेको छ भने केहीलाई 'पुनः तालिम'मा पठाइएको छ र केहीलाई अन्यत्र पठाइने भन्दै त्रसित पारिएको छ।

अतिक्रमणअघि मेलिटोपोलका एकजना प्रधानाध्यापक दिमित्रोले ५०० भन्दा धेरै विद्यार्थी भएको निकै व्यस्त विद्यालय हेर्थे। 

रुसी अधिकारीकारीले खोजेपछि अहिले उनी लुकेर बसेका छन्। 

त्यसरी लुक्नुको कारण उनले विद्यार्थीहरू जम्मा पारेर युक्रेनी पाठ्यक्रममा अनलाइनमा पढाउनु हो।  

उनले रुसी अधिकारीहरूसँग सल्लाहमा वा जबरजस्ती क्रेमलिनका दर्शनसँग मिल्नेगरी पढाउन पुन: तालिमका लागि क्राइमिया वा रुस पठाइएका शिक्षकहरूलाई चिनेका छन्। 

"उनीहरूलाई "हामी रुस हौँ, हामी एकैखाले मानिस हौँ, हामी एक रहनपर्छ" भनिएको छ र त्यही धारणा विद्यार्थीसम्म पुर्‍याइनुपर्छ भनिएको छ," उनी भन्छन्। 

दिमित्रो रुस नियन्त्रित क्षेत्रमा बसिरहे तापनि धेरै शिक्षकहरूले आफ्ना ठाउँ छाड्ने निर्णय गरेका छन्। 

युक्रेन

खेर्शन क्षेत्रकी एकजना शिक्षक मरिनाले जुलाई महिनाको अन्त्यतिर आफ्नो ठाउँ छाडेकी थिइन्।

रुसी सेना र रुसले नियुक्त गरेका शिक्षाप्रमुखले उनको विद्यालयका प्रधानाध्यापकले आफूहरूसँग सहकार्य गर्न नमानेका कारण त्यसलाई बन्द गरिदिने निर्णय गरेको भनेपछि त्यस्तो निर्णय गरेकी हुन्।

जसले गर्दा नोभा कखोभा भन्ने उक्त ठाउँमा शिक्षकहरूको अभाव हुनुका साथै एउटै शिक्षकले धेरै विषयहरू पढाउनुपरेको छ।

रुसी शिक्षाले बालबालिकालाई पहिचानका बारेमा हानिकारक चेत विकास गर्ने भन्दै उनी चिन्ता व्यक्त गर्छिन्।

ऐतिहासिक संशोधनवाद

रुसी लेखक लियोनिड कट्सभाले मस्कोमा विद्यार्थीहरूलाई ४२ वर्ष इतिहास पढाएका छन्।

उनले रुसी पाठ्यपुस्तकहरूमा इतिहास कसरी अपव्याख्या भएको छ भन्ने देखेका छन्।

युक्रेन

सन् २०१४ मा क्राइमिया रुसमा गाभिएको अवस्था व्याख्या गर्ने क्रममा "उक्त प्रायद्वीपमा रुसी फौजका गतिविधिबारे कुनै उल्लेख नगरिएको" उनी बताउँछन्। 

नयाँ शैक्षिक सत्रमा पुस्तकहरूमा पश्चिमा गतिविधिहरूको कडा समीक्षाहरू समेटिनसक्ने उनी ठान्छन्। 

उनी भन्छन्, "निर्मम ढङ्गले परिष्कृत गरिएका पाठ्यपुस्तकहरू अहिले पुरै च्यानल वान (रुसी सरकारी टिभी) लाई पछ्याउनेछन्।" 

"विद्यालय शिक्षालाई कसरी क्रेमलिनले प्रोपागान्डा अस्त्रको रूपमा प्रयोग गरिरहेको छ भन्ने यो स्पष्ट उदाहरण हो", मेलिटोपोलका शिक्षक दिमित्रो भन्छन्। 

थप रिपोर्टिङ याना लुस्निभस्काया