इरान: बिहे गर्नुअघि जहाँ महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्छ

महिलामाथि चिच्याइरहेको पुरुष
    • Author, फिरौजेह अक्बरीयन र सोफिया बेट्टिजा
    • Role, बीबीसी विश्वसेवा
  • Published

इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्।

ग्रे लाइन

"तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।"

पहिलो पटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन।

उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे।

इरानमा यस्तो घटना नौलो होइन। विवाहको कुरो छिनेपछि धेरै महिला चिकित्सककहाँ जान्छन् र एक किसिमको परीक्षण गराउँछन् जसले उनीहरूले कहिल्यै यौन सम्पर्क नराखेको प्रमाणित गर्छ।

यद्यपि डब्ल्यूएचओका अनुसार कुमारीत्व परीक्षणको कुनै वैज्ञानिक आधार छैन।

मरियमको प्रमाणपत्रमा उनको हाइमन (कुमारी झिल्ली) "इलास्टिक" अर्थात् तन्किने प्रकृतिको भएको जनाइएको छ। त्यसको अर्थ मैथुन गर्दा उनको यौनाङ्गबाट रगत ननिस्किन पनि सक्छ।

"यसले मेरो आत्मसम्मानमा चोट पुर्‍यायो। मैले कुनै गल्ती गरेकी थिइनँ तर मेरा पतिले सधैँ मेरो अपमान गरिरहे," उनले भनिन्। "मैले सहनै सकिनँ। त्यसैले केही औषधि खाएर मैले आत्महत्या गर्ने प्रयास गरेँ।"

त्यतिबेला तत्काल अस्पताल पुर्‍याइएको कारण उनी बाँचिन्।

"म ती पीडादायी दिनहरू कहिले पनि भुल्न सक्दिनँ। त्यतिबेला मेरो जीउ २० किलो घटेको थियो।"

कौमार्य जाँच अन्त्य हुनुपर्ने माग

मरियमको जस्तै कथा अरू इरानी महिलाहरूको पनि छ। विवाहअघि शारीरिक सम्बन्ध नराख्नु अझै पनि धेरै महिला र तिनको परिवारको निम्ति महत्त्वपूर्ण विषय हो। इरानको रूढिवादी समाजमा यो मान्यता बलियोसँग बसेको छ।

तर केही समययता परिवर्तन देखा पर्न थालेको छ। देशभरिका महिला तथा पुरुषहरूले कौमार्य जाँचविरुद्ध अभियान सञ्चालन गरिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म इरान पुगेँ भने श्रीमान्‌ले मारिदिन्छन्'

उक्त अभियानअन्तर्गत गत नोभेम्बरमा सञ्चालित एउटा अनलाइन याचिकामा एक महिनाभित्र २५,००० जनाले हस्ताक्षर गरेका थिए। त्यतिबेला इरानमा कुमारीत्व परीक्षणलाई पहिलो पटक धेरै मानिसले सार्वजनिक चुनौती दिएको थियो।

"त्यसो गर्नु गोपनीयता भङ्ग गर्नु हो र यो निकै अपमानजनक कार्य हो," नेडाले भनिन्।

उनले १७ वर्षको उमेरमा तेहरानमा पढ्दै गर्दा आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राखेकी थिइन्।

"म आत्तिएकी थिएँ। परिवारले थाहा पायो भने के होला भनेर डराएकी थिएँ।"

त्यसैले नेडाले आफ्नो हाइमन फेरि मर्मत गर्ने निर्णय गरिन्।

हाइमेन मर्मत गर्न आफ्नो सामग्री बेचिरहेकी युवती

त्यसको उपचारविधि अवैधानिक हैन। तर यसको सामाजिक प्रभाव निकै डरलाग्दो हुने भएकाले कुनै अस्पताल पनि शल्यक्रिया गरेर हाइमन मिलाउने काम गर्न तयार हुँदैनन्।

नेडाले धेरै पैसा तिरेर त्यस्तो उपचार गरिदिने निजी क्लिनिकबारे थाहा पाइन्।

"मैले आफूसँग भएको सबै पैसा खर्च गरेँ। ल्यापटप, फोन र सुनका गरगहना सबै बेचेँ," उनले भनिन्।

उपचारका क्रममा केही अप्रिय घटना भए त्यसको सबै जिम्मेवारी आफ्नो हुने सर्तमा नेडाले हस्ताक्षर गरिन्। त्यसपछि एक सुँडिनीले उपचारविधि थालिन्। त्यस कार्यको लागि करिब ४० मिनेट लाग्यो।

तर नेडालाई पूरा निको हुन धेरै साता लाग्यो।

"म निकै पीडामा थिएँ। म खुट्टा चलाउन सक्ने अवस्थामा पनि थिइनँ," उनले भनिन्। उनले यो सबै कुरा परिवारबाट लुकाइन्।

"मलाई निकै एक्लो महसुस भयो। अरूले सबै कुरा थाहा पाउलान् भन्ने डरले गर्दा नै मैले त्यो पीडा लुकाउन सकेकी हुँला।"

एक वर्षपछि उनले आफूलाई मन पराउने र बिहे गर्न चाहने पुरुष भेटिन्। उनीसँग शारीरिक सम्पर्क गर्दा नेडालाई रक्तस्राव भएन।

नेडाले यसअघि भोगेको सबै दुःख व्यर्थ भयो।

"मेरो प्रेमीले मलाई उससँग विवाह गर्नका निम्ति छल गरेको आरोप लगायो। ढाँटेको भन्दै उसले मलाई छोड्यो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, बन्दी महिलाको जबरजस्ती 'कौमार्य परीक्षण'

पारिवारिक दबाव

डब्ल्यूएचओले कुमारीत्व परीक्षणलाई अनैतिक र वैज्ञानिक आधार नभएको ठहर गरे पनि इन्डोनेशिया, इराक र टर्कीसहित धेरै देशमा अझै पनि यो प्रचलनमा छ।

इरानी मेडिकल सङ्गठनले मुद्दा पर्दा र बलात्कारको घटनाजस्ता विशेष परिस्थितिमा मात्र कुमारीत्व परीक्षण गर्न सकिने जनाएको छ।

यद्यपि कुमारी भएको प्रमाणपत्र लिने खोज्नेमध्ये अधिकांश विवाह गर्न लागेका जोडी छन्। त्यसैले उनीहरू निजी क्लिनिकमा जान्छन्। उनीहरूसँग प्रायः आमाहरू पनि जान्छन्।

स्त्रीरोग विशेषज्ञ वा सुँडिनीले परीक्षण गर्छन् र कुनै युवती कुमारी भएको प्रमाणीकरण गर्छन्। उक्त प्रमाणपत्रमा युवतीको पूरा नाम, उनको बुवाको नाम, राष्ट्रिय परिचयपत्र र कहिलेकाहीँ तस्बिर पनि हुन्छ।

त्यसमा उनको हाइमनको अवस्थाबारे उल्लेख गरिएको हुन्छ र लेखिएको हुन्छ: "यी युवती कुमारी भएको देखिन्छ। "

हाइमेनोप्लास्टी नामक शल्यक्रिया

रूढिवादी परिवारहरूमा उक्त प्रमाणपत्र प्रायः आमाहरूसहित दुई जनाले हस्ताक्षर गर्छन्।

डा. फरिबाले वर्षौँदेखि यस्तो प्रमाणीकरण गर्दै आएकी छन्। यो अपमानजनक अभ्यास भएको स्वीकार गरे पनि उनी व्यवहारमा आफूले धेरै महिलाहरूलाई सहयोग पुर्‍याइरहेको विश्वास गर्छिन्।

"उनीहरू अधिक पारिवारिक दबावमा हुन्छन्। कहिलेकाहीँ मैले केही जोडीका लागि झूटो बोल्नुपर्छ। यदि उनीहरूले शारीरिक सम्बन्ध राखेका छन् र विवाह गर्न चाहन्छन् भने म उनीहरूको परिवारका अगाडि युवती कुमारी नै भएको बताइदिन्छु।"

तर धेरै पुरुषहरूका निम्ति बिहे गर्न लागेकी महिला कुमारी रहनु सबैभन्दा ठूलो विषय हो।

"यदि महिलाले विवाहअघि कौमार्य गुमाइन् भने उनी विश्वास गर्न योग्य मानिन्नन्। उनले परपुरुषको लागि आफ्नो श्रीमान् छोड्न सक्छिन्," शिराजस्थित ३४ वर्षीय अलिले भने।

उनले १० जना महिलासँग आफूले यौन सम्बन्ध राखेको बताए। "मैले नाइँ भन्नै सकिनँ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानमा लुकीलुकी हेभी मेटल सङ्गीतमा लागेका छन् केही महिला

अलि इरानी समाजमा विरोधाभास भएको स्वीकार गर्छन् तर त्यस्तो परम्परा छोड्नुपर्ने कुनै कारण नदेखेको बताउँछन्।

"सामाजिक मूल्य मान्यतामा महिलाको तुलनामा पुरुष बढी स्वतन्त्र भएको स्वीकार्य छ।"

इरानको निकै ग्रामीण र रूढिवादी क्षेत्रमा अलिको जस्तै दृष्टिकोण भएका धेरै मानिसहरू भेटिन्छन्।

कुमारीत्व परीक्षणविरुद्ध ऐक्यबद्धता देखाउन प्रदर्शन भए पनि सरकार र सांसदहरूले यसलाई हटाउन केही गर्लान् भन्ने कुरामा धेरैको संशय छ। इरानी समाजमा यो प्रथा गढेर बसेको हुनाले धेरैलाई यो तत्काल हट्छ जस्तो लाग्दैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानमा फुटबलप्रेमी महिला

कस्तो परिवर्तन होला

आत्महत्या गर्ने प्रयास र हिंसात्मक पतिसँग चार वर्ष बसेपछि मरियमले सम्बन्धविच्छेद गरिन्।

उनी केही साताअघि मात्र छुट्टिएकी हुन्।

"कुनै पुरुषलाई पुनः विश्वास गर्नु निकै कठिन हुनेछ," उनले भनिन्। "म निकट भविष्यमा विवाह गर्ने कुरा कल्पना पनि गर्न सक्दिनँ।"

अन्य हजारौँ महिलासँगै उनले पनि कौमार्य प्रमाणीकरणसम्बन्धी अनलाइन याचिकामा हस्ताक्षर गरिन्।

उनलाई तत्काल वा आफ्नो जीवनकालभरि परिवर्तन हुन्छ जस्तो लाग्दैन।

तर कुनै दिन आफ्नो देशमा महिलाहरूले समानता पाउँछन् कि भन्ने उनको आशा छ।

"यो कुनै दिन हुनेछ। म आशा गर्छु भविष्यमा कुनै पनि महिलाले मैले जस्तो परिस्थिति भोग्नुपर्ने छैन।"

यो सामग्रीमा अन्तर्वार्ता लिइएका सबै व्यक्तिको नाम गोपनीयता कायम गर्नका लागि परिवर्तन गरिएको छ।

ग्रे लाइन

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीका लागि शरीर बेच्न बाध्य केन्याका महिलाहरू
भिडिओ क्याप्शन सुरु हुँदैछ, यौनबारे धेरै सोच्दा मानिसले किन झुटो बोल्छन्