नेपाल बाघ: सङ्ख्या बढेसँगै हर्ष र त्रास

बाघ
तस्बिरको क्याप्शन, लोप हुन लागेको पाटे बाघको सङ्ख्या नेपालमा बढ्दो क्रममा छ
    • Author, अनबरसन इथिराजन र रेबेका हेन्स्की
    • Role, बीबीसी न्यूज नेपाल, बीबीसी विश्व सेवा
  • Published

नेपालले पछिल्लो १० वर्षमा बाघको सङ्ख्या दोबरभन्दा बढी पुर्‍याउने असाधारण उपलब्धि प्राप्त गर्दै बाघलाई लोप हुनबाट जोगाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ।

तर उक्त कार्यको मूल्य स्थानीय समुदायले बेहोरेका छन्। बाघबाट हुने आक्रमणको सङ्ख्या बढेको छ।

''बाघसँग जम्काभेट हुँदा तपाईँमा दुई फरक भाव उत्पन्न हुन्छ,'' बाघ संरक्षणका लागि गठन गरिएको एउटा एकाइका सदस्य क्याप्टेन आयुस जङ्गबहादुर राणा भने।

''ओहो कस्तो भव्य जीव। र अर्को हो म अब जीवित रहन्न कि?''

बर्दियामा सशस्त्र गस्तीमा निस्किँदा उनले कैयौँ पटक पाटे बाघ देख्छन्।

तराइ क्षेत्रमा रहेको बर्दियास्थित राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो र मानव गतिविधिबाट कम प्रभावित स्थान मानिन्छ।

चोरी सिकार रोक्न सेनालाई खटाइएको छ
तस्बिरको क्याप्शन, चोरी सिकार रोक्न सेनालाई खटाइएको छ

''बाघ संरक्षणको जिम्मा पाउनु सम्मानको कुरा हो। यति महत्त्वपूर्ण काममा सहभागी हुन पाउनु गर्वको विषय हो,'' राणा भन्छन्।

बाघको चोरी सिकारप्रति नेपालले अपनाएको नीतिले संरक्षणको पहललाई सफल बनाएको छ।

राष्ट्रिय निकुञ्ज अन्तर्गतका टोलीलाई सेनाले पनि साथ दिएको छ।

र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी सिकार जस्ता गतिविधिको अनुगमन सामुदायिक एकाइले गर्छ जसले गर्दा बाघहरू सुरक्षित रही खुला रूपमा घुम्न पाउँछन्।

बाघको बाटो

त्यस्तै एउटा मध्यवर्ती क्षेत्रसँगै रहेको खाता जैविक मार्गले बर्दिया राष्ट्रिय निकुञ्जलाई सीमा पार रहेको भारतको कतरनियाघाट वन्यजीव अभयारण्यसँग जोड्छ।

तर बाघको सङ्ख्या बढ्दै जानुले निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि ज्यानै गुमाउने खालका जोखिम उत्पन्न गरेको छ।

''पूरा समुदायले नै त्रासदीपूर्ण जीवन बिताइरहेको छ,'' संरक्षणवादी व्यवसायी मनोज गौतमले भने।

''बाघ, बाघले आहार बनाउने जनावर अनि मानवका लागि साझा क्षेत्र निकै साँघुरो छ। नेपालमा बाघको सङ्ख्या दोबर भएकोमा पूरा विश्वले मनाएको खुसीयालीको मूल्य समुदायले चुकाएको छ।''

नेपालमा पछिल्लो एक वर्षमा बाघले १६ जनालाई मारेको छ। त्यसअघिको पाँच वर्षमा जम्मा १० जनाले ज्यान गुमाएका थिए।

बाघ
तस्बिरको क्याप्शन, नेपालमा बाघ आक्रमण बढ्दो क्रममा छ

प्रायजसो गाउँलेहरू राष्ट्रिय निकुञ्ज जाँदा, मध्यवर्ती क्षेत्रमा गाईवस्तु चराउन, फलफूल र च्याउ टिप्न वा दाउरा खोज्न जाँदा बाघको आक्रमणमा पर्ने गरेका छन्।

निकुञ्जबाट जैविक मार्ग हुँदै गाउँसम्म बाघ पुगेका केही घटना पनि छन्।

वन्यजन्तु अनि मानव छुट्टिएर बसून् भन्नका लागि तार बारको व्यवस्था गरिएको छ तर वन्यजन्तुले सहजै त्यसलाई पार गर्न सक्ने अवस्था छ।

भदै थारु
तस्बिरको क्याप्शन, संरक्षणको कार्यमा लागिपरेका भदै थारुले बाघ आक्रमणका कारण एउटा आँखा गुमाएका छन्

संरक्षणमा सहयोगी भूमिका निर्वाह गरेका भदै थारुको शरीरमा बाघसँग भएको भिडन्तको दाग टडकारो छ।

सन् २००४मा आफ्नो गाउँ नजिकै रहेको सामुदायिक वनमा घाँस काट्दै गर्दा उनीमाथि बाघले आक्रमण गर्‍यो। उक्त घटनामा उनले एउटा आँखा गुमाए।

''ठूलो गर्जनसहित बाघले मेरो अनुहारमा झम्टियो,'' घटनाको दृश्य झल्कने गरी अभिनय गर्दै उनले भने।

''म केही पछि धकेलिएँ। त्यसपछि उफ्रिरहेको भकुन्डो जस्तै गरी बाघ मतिर फर्कियो। सके जति बल प्रयोग गरेर मैले मुड्की हाने र सहयोगका लागि बेसरी चिच्याएँ।''

उनले आफ्नो चस्मा विरलै फुकाल्छन्। चस्मा फुकाल्दा बाघ आक्रमणका कारण उनको मुहारमा रहेको गहिरो दाग देखिन्छ। घटनामा उनले गुमाएको एउटा आँखा पनि देख्न सकिन्छ।

''म रिसाएँ अनि दुखी पनि भएँ। संरक्षणवादीका हिसाबले मैले गलत के गरेँ?'' उनले स्मरण गरे।

''तर बाघ लोपोन्मुख जनावर हो। यसलाई जोगाउनु हाम्रो कर्तव्य हो।''

बाघहरूको पछिल्लो इतिहास त्यति राम्रो देखिँदैन।

एक शताब्दी अघि एशियामा बाघको सङ्ख्या झन्डै १००,००० थियो। सन् २०००को सुरुतिर त्यो सङ्ख्या चोरी सिकार र वासस्थानको अभाव जस्ता कारणले ९५ प्रतिशतले कम भएको पाइएको थियो। हाल जङ्गलमा ४,००० भन्दा कम बाघ छन्।

लोप हुन लागेका वन्यजन्तु संरक्षण गर्नका लागि सन् १९८८मा बर्दियामा ९६८ वर्ग किलोमिटर फैलिएको राष्ट्रिय निकुञ्ज स्थापना गरियो। त्यसअघि उक्त क्षेत्र शिकार आरक्ष थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको छ

सन् २०१०मा बाघको वासस्थानका रूपमा चिनिएका १३ देशले सन् २०२२ सम्ममा उक्त वन्यजन्तुको सङ्ख्या दोबर पार्ने प्रतिबद्धता जनाएका थिए।

ती देशमध्ये हालसम्म लक्ष प्राप्त गर्ने राष्ट्र नेपाल मात्रै हो।

नेपालमा सन् २००९मा १२१ रहेको बाघको सङ्ख्या १० वर्षमा बढेर ३५५ पुगेको छ। नेपालका मुख्य रूपमा पाँच राष्ट्रिय निकुञ्जमा बाघको वासस्थान रहेको पाइन्छ।

गैँडा, हात्ती र चितुवाको सङ्ख्या पनि बढेको छ।

बाघ
तस्बिरको क्याप्शन, कुनै समय सिकारका लागि प्रयोग हुने वनमा हाल संरक्षण कार्य अघि बढाइएको छ

जङ्गली बाघहरूको सङ्ख्या कायम राख्नका लागि निकुञ्जका अधिकारीहरूले थप घाँसे मैदानहरू सिर्जना गरेका छन्।

बाघको मुख्य आहार हरिणका लागि उचित वासस्थान बनाउन पानी पिउने स्थानको सङ्ख्या पनि बढाइएको छ।

तर बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वार्डन विष्णु श्रेष्ठ भने यस्ता मानवीय हस्तक्षेपका कारण बाघको सङ्ख्या बढेको कुरा अस्वीकार गर्छन्।

''निकुञ्जमा अहिले हामीसँग पर्याप्त स्थान अनि आहार घनत्व छ जस कारण हामीले दिगो रूपमा बाघको व्यवस्थापन गरिरहेका छौँ,'' उनले थपे।

बाघ गणना

बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै बसोबास गर्ने सर्वसाधारणले धेरै हदसम्म संरक्षणका पहलमा सहयोग गरेका छन्। तर बाघको सङ्ख्या बढेसँगै बढ्दो असहजता उत्पन्न भएको छ।

''पर्यटकहरू बाघ हेर्न आउँछन्। तर हामी उनीहरूसँगै बस्छौँ/बस्न बाध्य छौँ,'' गत वर्ष बाघले गरेको आक्रमणमा आफ्नी सासू गुमाएकी सम्झनाले भनिन्।

बाघले आक्रमण गर्दा उनकी सासू निकुञ्ज भित्र घाँस काटिरहेकी थिइन्।

''मैले उहाँलाई आफ्नै आमाभन्दा बढी माया गर्थे,'' आफूसँग भएको उनको एक मात्रै तस्बिर देखाउँदै सम्झनाले भनिन्।

आफ्नी सासू गुमाएकी सम्झना क्षतिपूर्तिका लागि लडिरहेकी छन्
तस्बिरको क्याप्शन, आफ्नी सासू गुमाएकी सम्झना क्षतिपूर्तिका लागि लडिरहेकी छन्

''अबका केही वर्षमा म जस्तै भोगाइ धेरै परिवारको हुनेछ र पीडितको सङ्ख्या बढ्ने छ,'' उनले भनिन्।

खेती गर्ने जमिनबाहेक बाघहरू आसपासका गाउँमा पनि पुगेका छन्।

यसै वर्ष मार्च महिनामा बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा रहेको सैनाबगर गाउँकी लिली चौधरी घर नजिकै सुँगुरलाई आहारा दिन गइन्।

गाउँलेहरूले पछि उनलाई गम्भीर अवस्थामा फेला पारे। उनी बाघ आक्रमणमा परेकी थिइन्। केही बेरमै उनको मृत्यु भयो।

''त्यो दिनदेखि सुँगुर वा अन्य घरपालुवा जनावरलाई आहारा दिनका लागि एक्लै जान हामी त्रस्त भएका छौँ,'' चौधरीकी बहिनी अस्मिता थारुले भनिन्।

बाघ

बाघको आक्रमण बढेसँगै स्थानीय बासिन्दाहरूले विरोध प्रदर्शन पनि गरेका छन्।

गत जून महिनाको ६ तारिखमा सामुदायिक वनमा बाघले एक व्यक्ति मारेको एक साता नबित्दै अस्मिता थारु र उनका श्रीमान्‌लाई चितुवाले आक्रमण गरेपछि सर्वसाधारणहरू आन्दोलित भएका थिए।

आफूहरूलाई सुरक्षित राख्न विभिन्न निकायले थप कामहरू गर्नुपर्ने माग राख्दै झन्डै ३०० मानिसहरू सडकमा उत्रिए।

त्यो भीडले सामुदायिक वन कार्यालयमा आगजनी समेत गरेको थियो। घटनास्थल पुगेको प्रहरी माथि ढुङ्गा मुढा गरियो।

त्यसपछि प्रहरीले गोली प्रहार गर्‍यो जसमा चितुवाले आक्रमण गरेको जोडीको भतिजीले ज्यान गुमाइन्।

घटना हुँदा उनका भाइ नवीन थारु उनीभन्दा केही मिटर मात्रै टाढा थिए।

''मैले उनको शव सडकबाट बाहिर निकाल्न चाहेको थिए। तर प्रहरीले मानिसहरूमाथि कुटपिट गरिरहेको थियो,'' उनले भने।

''मेरी बहिनीले के गलत गरेकी थिइन्? के सुरक्षाको माग गर्नु गलत हो? के सुरक्षित हुन पाउनुपर्ने माग गर्नु गलत हो?''

नवीन थारु
तस्बिरको क्याप्शन, १८ वर्षकी नबिना थारुको प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भयो

नेपाल सरकारले क्षतिपूर्ति बापत नविनाको परिवारलाई १६ हजार अमेरिकी डलर (२० लाख रुपैयाँ भन्दा बढी) दिने वाचा गरेको छ। त्यसबाहेक मृतकलाई शहीदको संज्ञा दिँदै उनको प्रतिमा पनि बनाउने वाचा गरिएको छ।

तर उनका परिवारले भने पूर्ण छानबिनको माग गरिरहेका छन्।

तनावपश्चात् स्थानीय समुदायसँग भएको सम्झौतामा सरकारी निकायहरूले थप पर्खाल बनाउने अनि तार बार पनि थपेर मानव र वन्यजन्तुलाई छुट्ट्याउने प्रतिबद्धता जनाएका छन्।

नेपालमा मानव मार्ने बाघको पहिचान गरी कैद गरिन्छ। हालसम्म मानव खाएको भनिएका सात वटा बाघ खोरमा छन्।

''बाघ संरक्षण हाम्रो उत्तरदायित्व हो। सँगसँगै मानव संरक्षण हाम्रो कर्तव्य हो,'' क्याप्टेन आयुस जङ्गबहादुर राणाले भने।

''बाघ अनि मानवको बढ्दो सङ्ख्याको अर्थ पक्कै पनि तनाव हुन्छ भन्ने हो। यी दुई प्रजातिबीच शान्ति कायम गर्ने कुरा चुनौतीपूर्ण हुनसक्छ।''

अधिकारीहरूले राष्ट्रिय निकुञ्ज पुगेर सरसामान जमा पार्ने वा घरपालुवा जनावर चराउनेहरूका लागि वैकल्पिक जीविकाको माध्यमतर्फ डोर्‍याउने सोचिरहेको छन्।

भदै थारु र उनकी आमा
तस्बिरको क्याप्शन, भदै थारुका अनुसार संरक्षणको महत्त्वबारे उनले आफ्नी आमाबाट (दायाँ) थाहा पाएका हुन्

उनीहरूले त्यस्ता व्यक्तिको सीप विकाश गरेर सानो व्यवसाय सुरु गर्न वा पर्यटन क्षेत्रमा काम गर्न प्रेरित गर्ने योजना बनाएका छन्।

भदै थारुले बाघ संरक्षणमा कार्यरत स्थानीय टोलीको बैठक बोलाउँछन्।

''एउटा असमझदारीले मानव अनि वन्यजन्तुलाई विभाजन गर्छ,'' उनले आफ्नो टोलीलाई भने।

''हाम्रो वन जङ्गल बाघको वासस्थान हो। हामी उनीहरूको घरमा घुसपैठ गरे, उनीहरू क्रुद्ध हुन्छन्। हामीले वनमा खसी चर्न छाडे उनीहरूले आक्रमण गर्छन्।''

उनको टोलीले घरपालुवा जनावरका लागि थप सुरक्षित गोठ बनाउने तयारी गरिरहेको छ। त्यस्तै बाघका लागि पर्याप्त हरिण उपलब्ध हुन भनेर सामुदायिक वनमा थप घाँसै मैदान बनाउने पनि उनीहरूको योजना छ।

उनीहरूले बाघहरूको पुनरागमनसँगै जीवन व्यतीत गर्नुपर्ने आगामी पुस्तालाई शिक्षा पनि दिइरहेका छन्।

बालबालिकालाई बाघको आनीबानी बारे बताइएको छ र एक्लै वनमा नजान भनिएको छ।

सबैभन्दा मन पर्ने जनावर के हो भनेर प्रश्न गर्दा अधिकांश बालबालिकाको जबाफ बाघ पाइन्छ।

''बाघको पनि यहाँ बस्ने अधिकार छ भन्ने कुरा बुझ्न म मानिसहरूलाई मद्दत गर्ने प्रयास गर्छु,'' भदैले भने।

''त्यो सुविधा मानवले मात्रै किन प्राप्त गर्ने?''

थप रिपोर्टिङ: रमा पराजुली, केभीन कीम, राजन पराजुली र सुरेन्द्र फुयाँल

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएका छन्।