अग्निपथ: जहाँ भारतीय युवाको सेना भर्तीको सपना जोडिन्छ र टुट्छ

पटना
तस्बिरको क्याप्शन, पटनामा दर्जनौँ प्रशिक्षण केन्द्रहरू छन्
Published

भारतका कैयौँ सहरमा सेनामा चार वर्षका लागि भर्ना गर्ने एउटा नयाँ योजनालाई लिएर व्यापक प्रदर्शन भइरहेका छन्।

साना नगर र गाउँका धेरै युवा भारतीयहरू सेनामा जागिरको तयारी गर्न निजी कोचिङ कक्षाहरूमा जान्छन्।

सेनाको रोजगारीले सम्मान, नियमित आम्दानी र गरिबीबाट बाहिर धकेल्ने धेरैको विश्वास पाइन्छ।

फोटोग्राफर रोन्नी सेनले पूर्वी विहारमा रहेका त्यस्तै एउटा तयारी कक्षा सञ्चालन गर्ने केन्द्रको भ्रमण गरेकी थिइन्।

अग्निपथ योजनालाई लिएर चर्को प्रदर्शन भएको बिहारको अस्तव्यस्त राजधानी पटनामा सेना र प्रहरीमा भर्ना हुन चाहने किशोरकिशोरीहरूलाई तयारी कक्षाको सेवा उपलब्ध गराउन दर्जनौँ निजी संस्थाहरू हालैका वर्षमा खुलेका छन्।

कुनै नियम अनुसार नखुलेका र त्यस्ता पदको पूर्वतयारीका लागि आवश्यक पूर्वाधारहरू समेत खासै नभएका यस्ता संस्थाहरूमा हजारौँको सङ्ख्यामा युवाहरू भर्ना हुने गर्छन्।

हालैका सातामा अग्निपथ योजना फिर्ता गरिनुपर्ने मागसहित युवा प्रदर्शनकारीहरूले सडक सङ्घर्ष चर्काएका छन्।

उनीहरूले सडक अवरुद्ध गर्नुका साथै रेल तथा सवारीसाधनमा आगजनी गरेका छन्।

पटना
तस्बिरको क्याप्शन, सरकारले प्रदर्शनहरू उक्साएको आरोप लगाएपछि कैयौँ प्रशिक्षण केन्द्रहरू अस्थायी रुपमा बन्द भएका छन्

पटनाका अधिकारीहरू धेरै संस्थाहरूले प्रदर्शनकारीहरूलाई 'उक्साएको' आरोप लगाउँछन्।

त्यसको फलस्वरूप कैयौँ तालिम केन्द्रहरूले अस्थायी रूपमा आफ्ना कक्षाहरू स्थगित गरेका छन् भने कतिपय अस्थायी रूपमा बन्द नै भएका छन्।

पूर्वतयारी कक्षाको वातावरण

अविनाश कुमारले छ वर्षयता एउटा सानो संस्था चलाउँदै आएका छन्।

सशस्त्र बल र स्थानीय प्रहरीमा रोजगारीको अपेक्षासहित उनको संस्थामा करिब ७० जनाले 'लिखित र शारीरिक' कक्षाहरू लिइरहेका छन्।

पटना

त्यसमा स्थानीय प्रहरीमा रोजगारीको अवसर खोजिरहेका १० महिला पनि छन्।

कुमारले छ महिनासम्म प्रतिहप्ता आठ जना शिक्षकले पाँच वटा कक्षा लिने तयारी कक्षाका लागि भारु ९,००० (नेरु १४,४००) लिने गरेका छन्।

तर ठूला संस्थाले त्यसको तीन गुणा वा त्योभन्दा बढी शुल्क असुल्छन्।

उनका कतिपय विद्यार्थीहरू ज्यादै गरिब छन् र उनीहरूले किस्ताबन्दीमा आफ्नो शुल्क तिर्ने गर्छन्।

उनले सञ्चालन गर्ने केन्द्रको एउटा कोठमा २५ जना विद्यार्थी अट्छन्।

"हामी उनीहरूलाई गणित, तर्क शक्ति, अङ्ग्रेजी र सामान्य ज्ञानबारे अध्यापन गराउँछौँ," कुमार भन्छन्।

खुल्ला स्थानको चरम अभाव रहेको सहरमा विद्यार्थीहरू शारीरिक परीक्षाका लागि अभ्यास गर्न एउटा भद्रगोल अवस्थामा रहेको मैदानमा आउँछन् जुन मेट्रो रेल निर्माण क्षेत्रले बिस्तारै अतिक्रमण गर्दै लगिरहेको छ।

यस्ता कोचिङ केन्द्रहरूलाई आफ्ना मैदान प्रयोग गर्न दिइरहेका विद्यालयहरूले हालैका दिनहरूमा प्रदर्शनहरू भड्कने चिन्ता व्यक्त गर्दै त्यसो गर्न अस्थायी रूपमा बन्द गरेका छन्।

आकाङ्क्षीहरू यसरी अभ्यासका लागि गेटभित्र प्रवेश गर्छन्
तस्बिरको क्याप्शन, मैदान प्रवेश गर्दै एक युवा

त्यसैले साधारण गेटले बन्द गरिएको मैदानमा तालिमका लागि आकाङ्क्षीहरूको भिड लाग्छ।

उनीहरू झिसमिसेमा नै उठ्छन् र सवारीसाधन पातलो हुँदा सडकमा अभ्यास गर्छन्।

एउटा ठूलो बरको रुखमुनि उनीहरू व्यायाम गर्छन्।

सैनिक बन्ने सपना पाल्ने युवाको कथा

त्यसमध्ये एक १९ वर्षका युवराज कुमार अवकाशप्राप्त सैनिकका छोरा हुन्।

उनी आफूले कलेजमा वाणिज्य सङ्कायमा अध्ययन गरिरहेको तर उनको पहिलो रोजाइ सैनिक बन्नु भएको बताउँछन्।

ठूलो बरको रुखमुनि शारीरिक अभ्यास गर्दै एक किशोर
तस्बिरको क्याप्शन, ठूलो बरको रुखमुनि शारीरिक अभ्यास गर्दै एक किशोर

"म सैनिक क्याम्पमा नै हुर्किए। त्यहाँको अनुशासन, एकरूपता र सुरक्षा मलाई मन पर्छ।"

उनले थपे, "मेरा बुवाले सेनामा काम गर्नुभयो। हामी अहिले जे छौँ, त्यो उहाँको रोजगारीले दिएको स्थिरताका कारण सम्भव भएको हो।"

कुमारले करारमा सैनिक नियुक्ति गर्ने निर्णयले आफूलाई 'निराश' बनाएको बताए।

उनी भन्छन्, "तर म त्यसका लागि एक पटक प्रयास गर्नेछु।"

नजिकै अर्को तालिम केन्द्रमा महिलाहरू बिहार प्रहरीको सबइन्स्पेक्टर पदको तयारीका लागि स्यान्ड ब्यागमाथि उफ्रिरहेका छन्।

आरक्षण प्रणाली अन्तर्गत बिहार प्रहरीमा एकतिहाइभन्दा बढी पद महिलाका लागि छुट्याइएको छ।

प्रान्तीय सरकारले बिहारमा २५,००० महिला प्रहरी रहेको दाबी गरेको छ जुन भारतको कुनै पनि राज्यभन्दा बढी हो।

स्थानीय प्रशिक्षक निखिलेश पासवानले आफ्ना विद्यार्थीहरूलाई दैनिक दुई घण्टाका लागि प्रशिक्षण दिने गरेको बताउँछन्।

उनले भने, "उनीहरूलाई हाई जम्प, लङ जम्प र सर्ट पुटजस्ता शारीरिक अभ्यासका लागि तालिम दिइन्छ।"

महिलाहरू पनि यस्ता प्रशिक्षणमा सहभागी हुन्छन्
तस्बिरको क्याप्शन, महिलाहरू पनि यस्ता प्रशिक्षणमा सहभागी हुन्छन्

भारतमा बेरोजगारी

व्यस्त मुसल्लहपुर क्षेत्रमा रक्षा र अरू क्षेत्रका रोजगारीसम्बन्धी तालिम केन्द्र यत्रतत्र छन्।

कक्षाहरू गोदामजस्ता देखिने घर र सानो क्षेत्रमा सञ्चालन गरिन्छन्।

यहाँ युवाहरू सरकारी प्रवेश परीक्षा उत्तीर्ण हुने सपनासाथ आउँछन्।

तर रोजगारी घटिरहेको छ।

 व्यस्त मुसल्लहपुर क्षेत्र पूर्व तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरूको भीड छ
तस्बिरको क्याप्शन,  व्यस्त मुसल्लहपुर क्षेत्र पूर्वतयारी कक्षा सञ्चालन गर्ने संस्थाहरूको भिड छ

एउटा स्वतन्त्र थिङ्क ट्याङ्क सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमी सीएमआईईका अनुसार भारतको बेरोजगारीको दर मे महिनामा सात प्रतिशतभन्दा बढी थियो।

सन् २०२० र सन् २०२१ को अधिकांश समयमा पनि त्यो आँकडा सात प्रतिशतभन्दा बढी थियो।

नियमित तलब आउने रोजगारी पनि घटिरहेको छ।

त्यसको आंशिक कारण महामारीको समयमा कतिपय फर्महरूले आफ्ना कर्मचारीहरू कटौती र खर्च कम गर्न चालेका कदम हुन्।

अजिम प्रेमजी विश्वविद्यालयले गरेको एउटा अध्ययनले १५ देखि २३ वर्षकाहरू सन् २०२० को लकडाउनमा सबैभन्दा धेरै प्रभावित भएको देखाउँछ।

उक्त सहरमा सानो कोचिङ सेन्टर सञ्चालन गर्ने नितिश कुमारले सरकारको योजनाले आफ्ना धेरै विद्यार्थीहरूलाई चिन्तित बनाएको बताए।

नयाँ योजना किन ल्याइयो?

अग्निपथ योजना साढे १७ देखि २१ वर्ष उमेरका मानिसहरूका लागि लक्षित छ।

उक्त योजनाले सफल हुने निवेदकहरूलाई चार वर्षसम्म सशस्त्र बलमा रोजगारी दिने र त्यसपछि एकचौथाइलाई मात्रै रोजगारीमा निरन्तरता दिने भनेको छ।

यो योजनाको उद्देश्य सेनाको तलब र निवृत्तिभरणसम्बन्धी बढ्दो खर्चलाई कटौती गर्नु हो। ती क्षेत्रमा हाल कूल बजेटको आधाभन्दा बढी खर्च हुन्छ।

नितिश कुमार (दायाँ) भन्छन् सेनामा जागिर पाउनु अब चिट्ठा जित्नु जस्तै हुनेछ
तस्बिरको क्याप्शन, नितिश कुमार (दायाँ) भन्छन् सेनामा जागिर पाउनु अब चिट्ठा जित्नु जस्तै हुनेछ

नयाँ योजना लागू भए त्यसबाट केही खर्च घट्ने र त्यो सेनाको आधुनिकिरणका लागि प्रयोग गर्न सकिने भनिएको छ।

"यहाँ यति धेरै बेरोजगारीको अवस्था छ। दुई वर्षसम्म कुनै पनि नयाँ भर्ती गरिएन।"

"विद्यार्थीहरूले आफ्ना अभिभावकले सङ्घर्ष गरेर कमाएको रकम पूर्वतयारी कक्षामा लगाएका छन्। तर अब उनीहरूले सेवा अवधिको कुनै सुरक्षा नभएको बताइरहेका छन्।"

"जेजस्तो भए पनि उनीहरू अघि बढ्छन् र परीक्षामा सरिक हुन्छन्। सबैभन्दा सुरक्षित काम अब चिट्ठा वा जुवा जित्नु जस्तै केही बन्न पुगेको छ।"