विवाह भोज स्थल: समुद्रमा डुबेको तैरिरहने रेस्टुराँका यादहरू

किड र आइरीसले जम्बोमा विवाह भोज गरेका थिए
तस्बिरको क्याप्शन, किड र आइरीसले जम्बोमा विवाह भोज गरेका थिए
Published

"म खुसी छु कि मेरो विवाहको अवसरमा मेरा प्रियजनहरूले जम्बोमा एक अद्भुत साँझ बिताउन पाए," हङकङको तैरिरहने चर्चित रेस्टुराँ जम्बो डुब्नुअघि त्यहाँ विवाहको भोज गर्ने अन्तिम व्यक्तिमध्ये एक भएको कुरा विश्वास गर्न आइरीसलाई गाह्रो भइरहेको छ।

उनको विवाह समारोह आयोजना भएको केही महिनापछि विश्वका प्रसिद्ध चलचित्रहरूमा देखाइएको उक्त रेस्टुराँ सधैँको निम्ति बन्द भएको छ।

जम्बोको सञ्चालक कम्पनीका अनुसार त्यसलाई गत साता बन्दरगाहबाट बाहिर निकालिएको थियो। तर यात्रामा त्यो पल्टियो र साउथ चाइना सीमा डुब्यो। घटनामा परेर कसैको पनि मृत्यु नभएको जनाइएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त रोमाञ्चक जहाज 'समुद्रमुनिको दरबार' बन्ने भन्दै यससम्बन्धी थुप्रै सामग्रीहरू साझा गरेका छन्।

कतिपयले यसलाई हङकङबाट हटाउनुको कारण र त्यो कहाँ जाँदै थियो भन्ने प्रश्न गरिरहेका छन्। केहीले सन् १९७६ देखि स्थानीय बासिन्दा र पर्यटकहरूलाई सेवा दिएको रेस्टुराँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

जम्बो विवाह भोज

आइरीस र उनका श्रीमान् किडले सन् २०१९ को डिसेम्बर २२ मा जम्बोमा आफ्नो विवाह भोज आयोजना गरेका थिए।

"हाम्रो विवाहका लागि परम्परागत भाव झल्कने स्थाल चाहेका थियौँ। हामीले केही ठाउँहरू हेर्‍यौँ र अन्त्यमा जम्बो छनोट गर्‍यौँ।"

"जहाज निकै मनमोहक थियो र त्यसमा हाम्रो परिवारका सबै सदस्य, आफन्त र साथीहरू अट्ने ठाउँ थियो," ३२ वर्षीया आइरीसले सम्झिइन्।

यद्यपि उनीहरूको परिवारले उक्त स्थानको छनोट रुचाएन।

"जब हामीले जम्बोमा विवाहको भोज आयोजना गर्ने बतायौँ तब किडका अभिभावक त्यसबारे उत्सुक थिएनन्।“

आइरीस र किडले जम्बो डुबेको खबरले भावुक बनाएको बताएका छन्
तस्बिरको क्याप्शन, आइरीस र किडले जम्बो डुबेको खबरले भावुक बनाएको बताएका छन्

'पर्यटकका लागि आकर्षण मात्रै'

आफ्ना आमाबाबुले तैरिने रेस्टुराँ केवल एक पर्यटक आकर्षण भएको र त्यहाँ विवाह गर्ने योजना अचम्मको ठानेको उनले बताइन्।

तर जब अभिभावकहरूले जहाजमा खुट्टा राखे तब उनीहरूको मन परिवर्तन भयो।

"सन् १९७० र ८० को दशकको हङकङको झल्को दिने जहाजबाट उनीहरू तत्कालै प्रभावित भए। सजावट धेरै मन पराउने उनीहरूले हाम्रो छनोटमा सहमति जनाए।“

जम्बो

आर्थिक समस्या

हङकङ टापुको दक्षिण-पश्चिममा रहेको रेस्टुराँ जम्बोमा एक विशेष प्रकारको साना डुङ्गा प्रयोग गरेर मात्र पुग्न सकिन्थ्यो।

सन् २०२० मा कोभिड-१९ महामारी सुरु भएपछि रेस्टुराँ बन्द भयो। त्यसैले केही वर्षयता रेस्टुराँले आर्थिक सङ्कट बेहोरिरहेको थियो।

पल चान हङकङमा एक स्थानीय पर्यटन कम्पनी सञ्चालन गर्छन्। उनले जम्बोको अन्त्यलाई "आश्चर्यजनक र हृदयविदारक" भएको बताए।

"आर्थिक मन्दीको समयमा यो महत्त्वपूर्ण सांस्कृतिक स्थलको अस्तित्वलाई जोगाउने इच्छाको अभाव रह्यो। त्यसपछि महामारी सुरु भयो तर समस्या समाधानको निम्ति कोही पनि अघि सरेन। यो तैरिरहेको रेस्टुराँको अन्ततः एक दुखद अन्त्य भयो।"

सन् १९७६ देखि जम्बो हङकङको बन्दरगाहमा राखिएको थियो
तस्बिरको क्याप्शन, सन् १९७६ देखि जम्बो हङकङको बन्दरगाहमा राखिएको थियो

कोभिड क्वारन्टीन

हङ्कङकी पत्रकार एवं बहुभाषी समाचार माध्यम ट्रू रिपोर्ट्की संस्थापक हेरी लीका अनुसार कोरोनाभाइरस महामारीविरुद्ध कडा प्रावधानहरू उक्त रेस्टुराँ अन्त्यको एक प्रमुख कारण हो।

“चीनको शून्य कोभिड नीति अन्तर्गत हङकङ र चीनको सीमा बन्द रहनुले रेस्टुराँ बन्द हुनुमा प्रमुख योगदान पुर्‍यायो," हेरी भन्छन्।

“चीनबाट हङकङ आउने पर्यटकहरूले अनिवार्य १४ दिन क्वारन्टीन बस्नु पर्थ्यो र यहाँबाट फर्किएपछि चीनमा पनि त्यही कुरा दोहोरिन्थ्यो। त्यस्तो अवस्थामा को हङकङ आउन चाहन्छ र?”

गत महिना सञ्चालक मेल्को इन्टर्न्यास्नल डेभलपमेन्टले जम्बो सन् २०१३ देखि नाफामा नरहेको र ठूलो घाटा बेहोरिरहेको बताएको थियो।

"जम्बो जस्तो ठूलो जहाजको मर्मतसम्भार महँगो हुन्छ र कम्पनीले बिनाआम्दानी मर्मतका लागि ठूलो रकम तिर्नु सम्भव थिएन।"

जुन १३ मा जम्बोलाई समुद्रतर्फ लगिएको थियो
तस्बिरको क्याप्शन, जुन १३ मा जम्बोलाई समुद्रतर्फ लगिएको थियो

राम्रो व्यवहार भएका कर्मचारी

"हामीले भेटेका कर्मचारीहरू वर्षौँदेखि त्यहाँ कार्यरत थिए,” आइरीसले भनिन्।

“उनीहरूको व्यवहार मित्रवत् थियो। जम्बो त्यहाँको समुद्री खानाको लागि प्रख्यात थियो तर हामीले विशेष खाना रोजेका थियौँ।”

"केही मानिसहरूले रेस्टुराँ पर्यटकीय आकर्षणको केन्द्रमा परिणत भएको र त्यहाँका स्थानीय बासिन्दाहरूका लागि निकै महँगो भएको गुनासो गर्छन्।"

"म यो कुरा मान्दिनँ। हामीले हङकङका अन्य कुनै रेस्टुराँ वा होटलहरूमा समारोह आयोजना गरेको भए पनि लगभग उस्तै खर्च हुन्थ्यो।"

आर्थिक सङ्कटका कारण जम्बो रेस्टुराँ बन्द थियो
तस्बिरको क्याप्शन, आर्थिक सङ्कटका कारण जम्बो रेस्टुराँ बन्द थियो

'पर्यटनमा नयाँपन'

तर सबै आइरीस जस्तै जम्बोप्रति आसक्त छैनन्।

एक जना जापानी शिक्षक र भूतपूर्व पर्यटन ब्लगर जुन्को नाकाजिमा सन् १९९० को दशकको मध्यदेखि एक दशकसम्म त्यो रेस्टुराँ नजिक बस्थिन्।

उनले त्यसलाई पर्यटकहरूका लागि नौलो विषयको रूपमा हेरिन् तर त्यहाँको खानाको बारेमा उनको फरक धारणा छ।

"मलाई डुङ्गामा चढेर रेस्टुराँसम्म पुग्न मन पर्थ्‍योँ। तर त्यहाँको खाना निकै…,” उनी हात हल्लाउँदै बोलिन्।

जम्बो

सम्राटको पोसाक

"मलाई याद छ त्यहाँका कुर्सीमा सम्राटको कुर्सीमा जस्तै पोसाकहरू राखिएका थिए। हामीले त्यो लगाउन केही पैसा तिर्नुपरेको थियो।"

"मेरा केही साथीहरूले ती पोसाक लगाए र फोटो खिचे। तर त्यो दुर्गन्धित थियो। किनकि त्यसलाई धेरै मानिसहरूले लगाएका थिए र मलाई लाग्छ रेस्टुराँले त्यसलाई धोएन। त्यसैले मलाई त्यो लुगा लगाउन मन लागेन।"

तीन दशकअघिको घटना भएकाले ती पोसाक साँच्चै दुर्गन्धित थिए वा कति पटक धोइयो भनेर बीबीसीले प्रमाणित गर्न सकेन।

पर्यटनबारे ब्लग लेख्ने जुन्को नाकाजिमा पनि जम्बोमा गएकी थिइन्
तस्बिरको क्याप्शन, पर्यटनबारे ब्लग लेख्ने जुन्को नाकाजिमा पनि जम्बोमा गएकी थिइन्

'भावनात्मक' प्रतिक्रिया

जम्बो डुबेको खबर सुनेपछि आफू र आफ्नो पति निकै भावुक भएको आइरीस सुनाउँछिन्।

"धेरै साथीहरूले मलाई कुन दूरदर्शिताले मेरो विवाहको भोज त्यहाँ राखेको भन्दै सन्देश पठाए। उनीहरू र मैले फेरि त्यहाँ जाने योजना बनाएका थियौँ।“

"किड र मैले केवल दुई वर्षपछि जहाज यसरी डुब्छ भन्ने कल्पना समेत गरेका थिएनौँ। किड, म र मेरा धेरै साथीहरूका लागि त्यो नै जम्बोको पहिलो भ्रमण थियो। दुःखको कुरा के भने त्यो नै अन्तिम बन्यो।"

"जम्बोले पुरानो हङकङको प्रतिनिधित्व गर्थ्यो जुन मैले कहिल्यै देख्न र महसुस गर्न पाएको थिइनँ।“

जुन्कोले जम्बोबारे सन् २००९ मा ब्लगमा लेखेकी थिइन्
तस्बिरको क्याप्शन, जुन्कोले जम्बोबारे सन् २००९ मा ब्लगमा लेखेकी थिइन्

"सन् १९७० को दशकको एक हङकङ फक्रन थालेको थियो। पूरा सहरमा विचार र रचनात्मकता मौलाइ रहेको थियो। त्यस समय विकासको क्रम सुरु भएको थियो र जम्बो त्यस इतिहासको एक अंश थियो।“

"फोटोग्राफरको हैसियतमा जम्बोले मलाई त्यस समयको भित्री संरचनाहरू कस्ता थिए भनेर हेर्ने मौका दियो।"

"सन् २०१९ मा जहाजको वरपर धेरै समय व्यतीत गर्न नपाएकोमा चाहिँ मलाई पछुतो छ। हामी मुख्यतया मेरो विवाहको भोज भएको ठाउँमा बस्यौँ र जब कार्यक्रम सकिनासाथ त्यहाँबाट निस्कियौँ।“

जम्बो

समुद्रमुनिको दरबार

जुन्को नाकाजिमाका लागि जम्बो सधैँ हङकङ टापुको क्षितिजमा चम्किलो रत्नको रूपमा यादमा रहने छ।

"माथिल्लो भेगबाट बस चढ्दा मैले पहाडबाट जम्बो रेस्टुराँ देख्न सक्थे। पहाडबाट देखिने त्यस दृश्य मलाई निकै मन पर्थ्यो।"

"यसले मलाई दुःखी तुल्याउँछ। जम्बो रेस्टुराँ त्यहाँ थियो तर अब त्यो समुद्रमा डुबेको छ। यो पानीमा डुबेको दरबार जस्तै हुन सक्छ।"

जम्बो रेस्टुराँमा थुप्रै चलचित्रहरूको छायाङ्कन गरिएको थियो
तस्बिरको क्याप्शन, जम्बो रेस्टुराँमा थुप्रै चलचित्रहरूको छायाङ्कन गरिएको थियो