बिहार: अस्पतालले छोराको शव नदिएपछि पैसा जुटाउन भीख माग्दै गरेको भिडिओ भाइरल

भारतमा भिक्षा माग्दै
Published
पढ्ने समय: १ मिनेट

अस्पतालबाट छोराको शव लिनका लागि पैसा जुटाउन भारतमा एक दम्पतीले भिक्षा माग्दै गरेको भिडिओका कारण भारतमा चर्को आक्रोश उत्पन्न भएको छ।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा ती शोकाकुल महिला र पुरुष ढोकाढोका चहारेर अरूसँग सहयोग माग्दै गरेको देखिन्छ।

अस्पतालका कर्मचारीहरूले आफ्ना छोराको शव दिन ठूलो रकम मागेको उनीहरूले भनाइ छ। छोराको शव पाउनकै लागि आफूहरू भीख माग्न बाध्य भएको उनीहरूले बताएका छन्।

अस्पतालले भने घुस मागेका भनिएका कर्मचारीमाथि कारबाही गरिने जनाएको छ।

यो जोडीको हताश अवस्थाले अस्पतालमा दुर्व्यवहार खेपिरहेका र आफ्नो काम लिनका लागि घुस खुवाउन बाध्य हजारौँ गरिब भारतीय परिवारहरूको पीडा प्रतिबिम्बित गर्छ।

बाबुआमालाई मृत्युको कारण थाहा छैन

महेश ठाकुर र उनकी पत्नीले एएनआई समाचारसंस्थालाई बताएअनुसार उनीहरूका छोरा केही दिनअघि बेपत्ता भएका थिए।

तर यसै साताको सुरुमा महेशलाई एक व्यक्तिले फोन गरेर उनका छोराको मृत्यु भएको जानकारी दिए।

छोराको मृत्युको कारण थाहा हुन बाँकी नै रहेको र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी उनलाई दिइयो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अस्पताल पुग्दा एक जना कर्मचारीले शव दिनका लागि ५०,००० भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ।

त्यसपछि निस्सहाय ठाकुर दम्पतीले सहयोगका लागि भीख माग्ने निर्णय गरे।

"हामी गरिब मान्छेले कसरी यति ठूलो पैसा तिर्ने?" छोराको अन्तिम संस्कार गर्न पाउने आशा गर्दै ठाकुरले एएनआई समाचारसंस्थासँग भने।

'लज्जाको विषय'

यो दम्पतीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले आक्रोश व्यक्त गरेका छन्।

उक्त अस्पतालका चिकित्सक एसके चौधरीले घटनाबारे आफूले बुझिरहेको बताएका छन्।

"यसमा जिम्मेवार पाइएका व्यक्तिलाई त्यसै छोडिने छैन," एनडीटीभी समाचार च्यानलले उनलाई उद्धृत गरेको छ।

"यो मानवताका लागि नै लज्जा हो।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतमा भाइरल कङ्गारूका भिडिओ