मङ्कीपक्स: नेपालमा यो रोगविरुद्ध खोप उपलब्ध छ कि छैन

मङ्कीपक्स
तस्बिरको क्याप्शन, मङ्कीपक्स बिफरजस्तै रोग हो
Published

विश्वका विभिन्न देशहरूमा देखिएको मङ्कीपक्स भाइरसको सङ्क्रमण नेपालमा नदेखिएको भए पनि सतर्कता भने अपनाइनुपर्ने अधिकारीहरूले बताएका छन्।

प्रायः मध्य तथा पश्चिम अफ्रिकामा पाइने मङ्कीपक्स अहिले सामान्यतया देखा नपर्ने पश्चिमा मुलुकहरूमा फैलिन थालेको पाइएको छ।

नेपाल सरकारले अपनाउनुपर्ने आवश्यक तयारीबारे आफूहरूले विश्व स्वास्थ्य सङ्गठन लगायतका निकायहरूसँग छलफल गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरस सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणहरूले आवश्यक सतर्कता अपनाएको अवस्थामा यो भाइरसबाट सुरक्षित रहन सकिने अधिकारीहरू बताउँछन्।

विभिन्न मुलुकहरूमा यो भाइरस देखा परेसँगै यसलाई नियन्त्रण गर्न खोप उपलब्धताबारे पनि चासो बढ्न थालेको छ।

मङ्कीपक्स कसरी सर्छ?

मङ्कीपक्स भाइरसबाट सङ्क्रमित मुसा र बाँदरजस्ता जनावर र सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिबाट यो भाइरस फैलिने चिकित्सकहरू बताउँछन्।

विगतमा यो अफ्रिकाका दुर्गम भेगहरूमा सीमित थियो। तर पछिल्लो समयमा यूके अनि अमेरिकासहित विभिन्न देशहरूमा यो पुगिसकेको छ।

मङ्कीपक्सले उत्पन्न गराउने डाबर १४ देखि २१ दिनसम्म रहने र सामान्यतया धेरै मानिस 'उपचारबिना आफैँ निको हुने' स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मङ्कीपक्सको सङ्कर्मण हुँदा विभिन्न लक्षणहरू देखिन्छन्
तस्बिरको क्याप्शन, ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन्

नवजात शिशु र रोग प्रतिरक्षा प्रणाली कमजोर हुने व्यक्ति यसको उच्च जोखिममा रहेको अधिकारीहरू बताउँछन्।

हालसम्म नेपालमा यो भाइरस फेला परेको पुष्टि भएको छैन।

यद्यपि अफ्रिकी क्षेत्रमा फेला पर्ने उक्त भाइरस अन्यत्र पनि देखा परेको अनि विभिन्न देशका यात्रुहरूको आवागमन पनि बाक्लिँदै गएका कारण यसबारे चनाखो हुन आवश्यक देखिएको चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयले पनि विदेशबाट आउने नेपालीलाई अनिवार्य दुई हप्ता एकान्तवासमा बस्न आग्रह गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार मङ्कीपक्सबाट जोगिन सङ्क्रमितको थुकको छिटा नाक, मुख, आँखा वा खुला छालामा नपरोस् भनेर सतर्क रहनुपर्छ।

फुटेको छाला र श्वासनलीबाट पनि यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।

"पछिल्लो समयमा युरोपमा देखिएको लहरले एउटा अर्को छुट्टै सर्ने माध्यम … जुन पहिले ठोस पुष्टि भएको थिएन [देखिएको छ]। त्यो भनेको पुरुषबाट पुरुषमा यौन सम्पर्कबाट सर्ने भन्ने कुरा छ। यो विषयबारे अनुसन्धान भइरहेको छ," पुनले भने।

मङ्कीपक्स भाइरस
तस्बिरको क्याप्शन, बिफरविरुद्ध प्रयोग हुने खोपले मङ्कीपक्स रोकथाम गर्न सक्ने विज्ञहरूको भनाइ छ

के खोप उपलब्ध छ?

अधिकारीहरूका अनुसार मङ्कीपक्स कोभिडजस्तो नयाँ सङ्क्रमण होइन। यसको अर्थ यो रोगका लक्षणदेखि रोकथामको विधिबारे विज्ञहरूसँग ज्ञान र अनुभव छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विगतमा मङ्कीपक्सविरुद्ध खोप उक्त भाइरसको जोखिम भएको देशमा यात्रा गर्ने मानिसले लगाएर जाने गरेको आफ्नो जानकारीमा रहेको बताए।

"हामीमध्ये कतिपयले (खोप) लगाएका पनि छौँ र यो खोप विश्वमा अरू देशहरूमा पनि त्यसरी लगाउने गरिएको छ," उनले थपे।

"तर सबैले लगाउने गरी ठूलो परिमाणमा (खोप) उपलब्ध भएको छैन।"

अहिलेसम्म ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि नभएकाले आम अभियानका रूपमा अघि बढाउनुपर्ने नदेखिएको र त्यस्तो सिफारिस पनि नभएकाले सरकारले खोप आपूर्तिको प्रक्रिया अघि नबढाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

नेपालमा मङ्कीपक्सविरुद्ध खोप नियमित खोप कार्यक्रममा विगतमा पनि समावेश नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

"मङ्कीपक्स हामीले जनस्वास्थ्यको समस्याका रूपमा भोगेका थिएनौँ," उनले भने।

तर नेपालमा विगतमा बिफरका लागि भने खोप अभियान सञ्चालन भएको थियो।

मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ। यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।

यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको र अझै पनि त्यसको प्रयोग गर्ने गरिएको बताइन्छ।

ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन्
डाबर

तर बिफर उन्मूलन भइसकेका कारण नेपाल सरकारको भण्डारमा उक्त खोप छैन।

सरकार हाल खोप भन्दा पनि सङ्क्रमण छिर्न नदिने विषयमै केन्द्रित रहेको अधिकारीले जानकारी दिए।

लक्षणहरू के हुन्?

चिकित्सकहरूका अनुसार मङ्कीपक्स सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्।

एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।

त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुन सक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ।

मङ्कीपक्स भाइरस

प्रायशः यस भाइरसले मध्यम खालका असरहरू गर्छ।

कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ।

यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी बन्यो भाइरसविरुद्ध पहिलो खोप