इराक आँधीः धुलोका कारण आकाश रङ्गीन देखिँदा हवाई उडान स्थगित, जनजीवन प्रभावित

गत महिना पनि धुलोयुक्त आँधीका कारण बाग्दादमा विमानहरूको उडान प्रभावित भएको थियो
तस्बिरको क्याप्शन, गत महिना पनि धुलोयुक्त आँधीका कारण बाग्दादमा विमानहरूको उडान प्रभावित भएको थियो
Published

इराकका धेरै ठाउँमा धुलोसहितको आँधी आउँदा आकाश सुन्तला रङ्गको देखिएको छ।

धुलोका कारण नजिकैको दूरीसम्म पनि राम्ररी नदेखिने भएपछि बग्दाद र नाजाफस्थित विमानस्थलबाट हुने उडानहरू बन्द भए। जनजीवन पनि प्रभावित भएको छ।

सोमवारसम्म अवस्था उस्तै हुने पूर्वानुमान मौसवविद्हरूको छ।

मध्यपूर्वमा धुलोको आँधी आउने क्रम बढ्न थालेको छ। विज्ञहरूले जलवायु परिवर्तन तथा भूमि र जलको अव्यवस्थापनलाई त्यसको कारक मानेका छन्।

शनिवार इराकका केही स्थानमा भिजिबिलिटी अर्थात् दृश्यात्मकता ५०० मिटरभन्दा कम थियो।

गत महिना पनि इराकमा धुलोको आँधीका कारण मानिसहरू बिरामी परेका थिए।

दर्जनौँ मानिसलाई श्वासप्रश्वासम्बन्धी समस्याको उपचार गर्न अस्पताल भर्ना गर्नुपरेको थियो।

सुक्खा, बढ्दो मरुभूमीकरण र कम वर्षाका कारण इराकमा धुलोयुक्त आँधी आउने क्रम बढ्न सक्ने देशको मौसम कार्यालयले समाचारसंस्था एएफपीलाई यसअघि बताएको थियो।

सहरी भेगमा हरित क्षेत्र नहुँदा पनि त्यस्तो समस्या बढ्छ।

सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (यूनेप) ले सन् २०२६ सम्ममा प्रत्येक वर्ष ३०० वटा त्यस्ता आँधी आउन सक्ने पूर्वानुमान गरेको थियो।

बाग्दादमा एक प्रहरी
तस्बिरको क्याप्शन, इराकको सडकमा सवारीसाधनलाई सङ्केत गर्दै एक प्रहरी
बाग्दादमा एक कामदार
तस्बिरको क्याप्शन, केही वर्षदेखि इराकमा कम वर्षा हुन थालेको छ भने तापक्रम बढिरहेको छ
बाग्दादमा सवारीसाधन
तस्बिरको क्याप्शन, गत नोभेम्बरमा विश्व ब्याङ्कले सन् २०५० सम्ममा इराकमा जलस्रोत २० प्रतिशतले घट्ने बताएको थियो
बाग्दादमा सवारीसाधन
तस्बिरको क्याप्शन, विश्व स्वास्थ्य सङ्गठनका अनुसार धुलोयुक्त आँधीले श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या हुन सक्छ
ड्रोनबाट खिचिएको दक्षिणी सहर नाजाफको दृश्य
तस्बिरको क्याप्शन, ड्रोनबाट खिचिएको दक्षिणी सहर नाजाफको दृश्य

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित