युक्रेन युद्ध: डुबेको रुसी युद्धपोतमा सवार सैनिकको खोजी गर्दै आमाहरू

जल्दै गरेको जहाज
    • Author, आनास्तासिया प्लतोनोभा
    • Role, बीबीसी न्यूज रसियन
  • Published

रुसी सैन्य पानीजहाज 'मस्क्भा' डुब्दा भएको हताहतबारे आधिकारिक सूचनाहरू सार्वजनिक गरिएन।

बीबीसी न्यूज रसियनले रुसले गाभेको क्राइमियाका दुई जना आमासँग कुराकानी गरेको छ जसका छोराहरू मस्क्भा पानीजहाजमा कार्यरत थिए।

उनीहरूलाई आफ्ना छोराहरूको अवस्था अझैसम्म थाहा छैन।

युक्रेनले अप्रिल १३ मा आफ्नै देशमा बनेका नेप्च्युन क्षेप्यास्त्र रुसी युद्धपोत मस्क्भामा प्रहार गरेको बताएको थियो।

नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीले युक्रेनको दाबी विश्वसनीय रहेको जानकारी अमेरिकी सञ्चारमाध्यमलाई दिए।

तर रुसले भने पानीजहाजमा विस्फोटपछि क्षति पुगेको र "समुद्रमा आएको आँधी"का कारण डुबेको बताइरहेको छ।

'सबैको उद्धार'

पानीजहाज डुब्नुअघि रुसको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गर्दै "उक्त पानीजहाज गम्भीर रूपमा क्षतिग्रस्त भएको र चालक दलका सबै सदस्यहरूको उद्धार भएको" बताएको थियो।

यो दाबी पुष्टि गर्न बीबीसी सफल भएको छैन।

रुसको मन्त्रालयले मस्क्भाका चालक दलका सदस्यहरूले क्राइमियाको बन्दरगाह सहर सेभास्टोपोलमा परेड खेल्दै गरेको दाबी गर्दै दृश्यहरू समेत सार्वजनिक गरेको छ।

तर बीबीसीले कुरा गरेका दुई जना महिला युलिया र अलेसाले पानीजहाजमा काम गर्ने आफ्ना छोराहरूको खबर धेरै दिनदेखि पाउन नसकेको बताएका छन्।

अनिवार्य सेनामा भर्ती भएका एन्ड्री

युलियाले आफ्ना १९ वर्षीय छोरा एन्ड्रीले गत वर्षायाममा सेनामा अनिवार्य सेवा सुरु गरेपछि मस्क्भामा कार्यरत रहेको बीबीसीलाई बताएकी छिन्।

उनले आफ्ना छोराको नाम उक्त कारबाहीमा बेपत्ता हुनेहरूको सूचीमा भेट्टाएकी छिन्।

मस्क्भा जहाज

युलियाले छोराको अवस्था बुझ्न स्थानीय कार्यालयमा टेलिफोन गर्दा कुनै चिन्ता नलिन भनिएको थियो।

तर युलियालाई यो आश्वासनले काम गरेको छैन।

उनका अनुसार छोराको अनिवार्य सेवामा काम गर्नुपर्ने अवधि अबको एक-दुई महिनामा सकिन लागेको थियो।

उनले अनुमान गरे अनुसार उनका छोरा सैन्य अभ्यासमा सहभागी थिए।

जब रुसले युक्रेनमा आक्रमण सुरु गर्‍यो युलियालाई गहिरो चिन्ता सुरु भयो।

बन्दरगाहमा सेभास्टोपोल फिर्ता

मार्चको सुरुमै मस्क्भा सेभास्टोपोल बन्दरगाहमा फिर्ता भएको थियो। युलियाले त्यही समय छोरासँग केही पटक कुरा गर्ने मौका पाएकी थिइन्।

"मैले उनलाई सोधिरहेँ ,'तिमी किन त्यहाँ (युक्रेनमा) जानुपर्छ?' उनले भने, 'मलाई थाहा छैन'।"

मस्क्भा डुबेको खबर थाहा पाउने बित्तिकै चिन्तित बनेकी युलिया नौसेनाका अधिकारीहरूसँग जवाफ खोज्दै सेभास्टोपोल पुगिन्।

उनका अरू आफन्तहरू पनि कार्यालय बाहिर प्रतीक्षारत थिए।

उनका अनुसार एक जना अघिकारीले कारबाहीमा हराइरहेकाहरूको सूची भन्दै धेरै नामहरू समेटिएको कागज लिएर आए। जसमा उनका छोराको नाम पनि थियो।

"धेरै समय बितिसक्यो तर उनीहरूले जीवित रहेकाहरूको खोजी भइरहेको मात्रै दोहोर्‍याइरहेका छन्," आफ्नो कठिन अनुभव सुनाउँदै युलियाले भनिन्।

उनले मस्कोका उच्च सैन्य अधिकारीहरूलाई टेलिफोनको प्रयास गरे पनि जवाफ नपाएको बताएकी छन्।

सूचनाको आग्रह

यस्तो समस्यामा युलिया एक्लै छैनन्।

बीबीसी न्यूज रसियनले मस्क्भामा सवार आफ्ना प्रियजनको अवस्थाबारे जानकारी खोज्दै परिवारले राखेका सूचनाका कैयौँ आग्रहहरू सामाजिक सञ्जालमा देखेको छ।

नेकिता

हामीले कुरा गरेकी क्राइमियाकी अर्की महिला हुन्, अलेसा। उनका २० वर्षीय छोरा नेकिता पनि अनिवार्य सैनिक सेवामा कार्यरत थिए।

उनले सामाजिक सञ्जालमा मस्क्भा युद्धपोतमा आगलागी भएको देखिन्।

पानीजहाजमा सवार सबैको उद्धार गरिएको अधिकारीहरूको भनाइमा भर पर्दै उनले आफ्ना छोराबारे चिन्ता लिएकी थिइनन्।

तर जब हताहतबारे समाचार फैलन थाले, उनले जवाफ खोज्दै यताउता टेलिफोन गर्न सुरु गरिन्। तर उनले कतैबाट जवाफ पाउन सकिनन्।

मस्क्भा जहाज

आफ्ना छोरा घाइतेहरूमा परेको आशङ्का गर्दै अलेसाले सेभास्टोपोलका धेरै अस्पतालहरूमा पनि टेलिफोन गरिन्।

तर कसैले पनि उनका छोराबारे बताउन सकेन। एउटा अस्पतालबाट खराब स्थितिको पनि सामना गर्न परे तयार रहन उनलाई भनियो।

"'यसको मतलब के हो' मैले उनीहरूलाई सोधेँ। 'तिमीहरूलाई थाहा छ उनलाई के भयो'?"

"'तिमीलाई के हुनसक्छ जस्तो लाग्छ?' उनीहरूले भने। 'समुद्रको अहिलेको तापक्रम जीवनका लागि उपयुक्त छैन'।"

'खराब सूचनाका लागि तयार हुनुहोस्'

उनी सेभास्टोपोलस्थित सैनिक अस्पतालमा पुगेर मस्क्भामा घाइते भएका सैनिकहरूको नाम मागिन्।

उनले आफ्नो छोराकै नामबाट सुरु हुने नामबाट खोज्दा दर्जनौँ नाम भेटेको तर आफ्नो छोराको नाम नभेटिएको उनले बताइन्।

अलेसाका श्रीमान्‌ले आफन्तहरूका लागि राखिएको सिधा सम्पर्क हुने टेलिफोनमा फोन गर्दा उनलाई फोन नगर्न भनियो।

"उनीहरूले आफूहरू व्यस्त रहेको र नेकिता भेटिए सम्पर्क गर्ने बताए।"

युलियाजस्तै अलेसाले पनि आफ्ना छोराको खबर मध्य मार्च महिनामा पाएकी थिइन्।

"उसले मलाई नम्बर नदेखिने फोनबाट सम्पर्क गरेर भन्यो, 'आमा म बोल्दै छु। उनीहरूले हामी भएको ठाउँबारे नभन्न भनेका छन्। म एउटा सैनिक पानीजहाजमा छु,'" उनले सुनाइन्।

कारबाहीमा हराइरहेकाको सूची

बीबीसी न्यूज रसियनले रुसको रक्षा मन्त्रालयलाई कारबाहीमा हराइरहेका सैनिकहरूको सूचीको सूचनाबारे प्रतिक्रिया मागेको थियो।

स्नेक आइल्याण्ड

मस्क्भामा सवार सैनिकहरू एन्ड्री र नेकिताको अवस्थाबारे पनि जिज्ञासा राखिएको थियो।

तर यो समाचार प्रकाशन गर्दासम्म रुसको रक्षा मन्त्रालयले कुनै जवाफ दिएको छैन।

स्नेक आइल्यान्ड

यसअघि युद्ध जारी रहँदा स्नेक आइल्यान्डमा रहेका युक्रेनी सीमा दललाई आत्मसमर्पण गर्न चेतावनी दिएपछि मस्क्भा कुख्यात भएको थियो।

तर युक्रेनीहरूले रेडियो सन्देशमार्फत आत्मसमर्पण गर्न अस्वीकार गर्दै "नर्कमा जाऊ" भनेका थिए।

सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त पानीजहाज सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मारिऊपोलमा पुगेको क्षति देखाउने भिडिओ