युक्रेन युद्ध: क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो, रुसी सेनाको प्रतिष्ठामा ‘ठूलो धक्का’

मस्क्भा
Published

बुधवार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो।

रुसी सेनाको 'शक्तिको प्रतीक'

रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक नै थियो।

५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो।

किएभले उसका नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो।

रुसले भने कुनै हमला भएको बताएको छैन।

बरु आगलागी र विस्फोटनले मस्क्भामा क्षति पुगेको उसले बताएको थियो।

पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको उसले बताएको थियो।

बिहीवार खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लगिँदै गर्दा डुबेको रुसको रक्षामन्त्रालयले बताएको छ।

रुसी सैनिक पानीजहाज

'ठूलो धक्का'

मस्कोस्थित सम्वाददाता स्टिभ रोजेनबर्ग भन्छन्, "मस्क्भा रुसी सैन्य क्षमताको एक प्रतीक जस्तो थियो। त्यो प्रतीक ध्वस्त भएको र डुबेको विषय रुसी सेनाको प्रतिष्ठामा ठूलै धक्का हो।"

"राष्ट्रपति पुटिनको युक्रेनमा उनको सैन्य कारबाही योजना अनुरूप नै अघि बढिरहेको भन्ने भनाइलाई पनि यसले खण्डन गर्छ।"

मस्क्भा ध्वस्त हुनु रुसी नौसेनाको निम्ति गम्भीर धक्का भएको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ।

१२ हजार टन तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: विश्वको सबैभन्दा ठूलो विमानको भग्नावशेष

गएको फेब्रुअरी महिनामा एक युक्रेनी टापुको रक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न माग गरेका कारण पनि सो पानीजहाज कुख्यात बनेको थियो।

कस्तो थियो मस्क्भा?

मस्क्भा क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो।

युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।

एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो।

सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मस्क्भा नाम दिइएको थियो।

युद्धमा प्रयोग गरिने यो पानीजहाजमा जहाजप्रतिरोधी क्षेप्यास्त्रसहितका अस्त्रहरू छन्।

सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो।

पुटिन

सीआइएको विश्लेषणमा रुस

यसबीच अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक विलियम बर्न्सले रुसलाई एक खतरनाक तर खस्किरहेको विश्व शक्तिको रूपमा व्याख्या गरेका छन्।

उक्त देशको नेता गुनासा, महत्त्वाकांक्षा अनि असुरक्षामा जेलिएको पनि उनले बताए।

युक्रेन युद्ध सुरु भएयता उनले गरेको सबभन्दा विस्तृत सार्वजनिक टिप्पणीमा बर्न्सले रुसका प्रभावक्षेत्र पुनर्स्थापित गर्नु नै आफ्नो भाग्य भएको पुटिनमा अटल विश्वास रहेको बताएका छन्।

उनले आगामी दिनमा झगडालु रुस झनै हतास हुने चेतावनी दिए।

पुटिनलाई उनको युक्रेन अतिक्रमण योजनाबारे अमेरिकामा रहेको चिन्ताको स्तर बताउन गत नोभेम्बरमा राष्ट्रपति बाइडनले आफूलाई मस्को पठाएको उनले बताएका छन्।

साथै, उनले युक्रेनी फौजलाई दिइएका अमेरिकी खुफिया जानकारी जारी द्वन्द्वमा निकै महत्त्वपूर्ण भइरहेको पनि बताए।