युक्रेन युद्धः मारिऊपोलमा रुसले रासायनिक अस्त्र प्रहार गरेको विवरणपछि पश्चिमा राष्ट्रले के भने

आजोभ्स्ताल प्लान्ट
तस्बिरको क्याप्शन, युक्रेनी सैनिकहरू लुकेर बसेको भन्ठानिएको आजोभ्स्ताल धातु कारखानामा रुसी सैनिकहरूले रासायनिक आक्रमण गरेको बताइएको छ
Published

संयुक्त राज्य अमेरिका र ब्रिटेनले युक्रेनको मारिऊपोलमा रुसी सेनाले रासायनिक अस्त्र प्रयोग गरेको विवरण आएपछि त्यसबारे अनुसन्धान गरिरहेको बताएका छन्।

युक्रेनको आजोभ रेजिमेन्टका अनुसार सोमवार भएको एउटा आक्रमणमा "विषालु पदार्थ"का कारण तीन सैनिक घाइते भएका छन्।

यूकेकी विदेशमन्त्री लिज ट्रसले त्यसबारे अधिकारीहरूले "तत्काल" अनुसन्धान गर्न काम थालेको बताएकी छन्।

अमेरिकाको रक्षा मन्त्रालयले रासायनिक अस्त्रको सम्भावित प्रयोगलाई "गम्भीर चिन्ता"को विषय मानेको छ।

पश्चिमा राष्ट्रहरूले रासायनिक अस्त्र प्रयोगबाट द्वन्द्व डरलाग्दो रूपमा चर्किने चेतावनी दिँदै रुसले यदि रासायनिक आक्रमण गरेमा दह्रो कारबाही गर्ने बताएका छन्।

युक्रेनका उपरक्षामन्त्री हान्ना मालियारका अनुसार रासायनिक आक्रमण भएको आरोपबारे युक्रेन सरकारले छानबिन गरिरहेको छ।

फस्फोरसयुक्त अस्त्र प्रहार भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताइन्।

दोनेत्स्कमा रुसलाई समर्थन गर्ने पृथक्तावादी फौजले रासायनिक आक्रमण गरेको आरोपको मङ्गलवार खण्डन गरेको छ।

'रासायनिक फौज'

मारिऊपोलस्थित आजोभ्स्ताल धातु कारखानामा गरिएको एउटा ड्रोन आक्रमणमा "अज्ञात विषालु पदार्थ" खसालिएको दाबी गर्दै आजोभ बटालियनले टेलिग्राममा लेखेको छ।

उक्त सहरमा भएका सङ्घर्षहरूमा सहभागी भएको सो सैन्य समूहको सम्बन्ध चरम दक्षिणपन्थीहरूसँग छ।

आफ्ना लडाकुहरू सामान्य घाइते भएका र उनीहरूमा सास फेर्न गाह्रो हुने समस्या देखा परेको उसको दाबी छ।

घाइतेमध्ये एक जनाले विस्फोटनपछि धातु कारखानाको एउटा भागमा "गुलियो स्वाद भएको" सेतो धुवाँ फैलिएको बताए।

अर्का घाइतेले सास फेर्न नसकेको र गोडा गलेर आफू ढलेको बताए।

उक्त घटनाको बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

यद्यपि रुसी समर्थनप्राप्त दोनेत्स्क जनगणतन्त्रका एक प्रवक्ताले मारिऊपोलमा रासायनिक फौज पठाउन मस्कोलाई आग्रह गरेको केही घण्टापछि उक्त घटना भएको बताइएको छ।

एदुआर्द बासुरिनले रुसी सरकारी टीभीलाई युक्रेनी सैनिकहरू आजोभ्स्ताल धातु कारखानाको इलाकामा सुरुङ खनेर बसेका र रुसी सेनाले उक्त स्थानलाई घेरा हाल्नुपर्ने अनि तिनलाई "धुवाँ लगाएर बाहिर निकाल्नुपर्ने" बताएका थिए।

आजोभ्स्ताल प्लान्ट

अस्त्र दिन आह्वान

सोमवार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रासायनिक अस्त्रको जस्तोसुकै प्रयोग "युक्रेनविरुद्ध आतङ्कको नयाँ चरण" हुने टिप्पणी गरे।

उनले पश्चिमा राष्ट्रहरूलाई युक्रेनी सेनालाई आफ्नो देशको प्रतिरक्षा गर्न अस्त्र दिन आह्वान पनि गरे।

"दुर्भाग्यवश यो युद्धलाई चाँडो अन्त्य गर्न हामीलाई आवश्यक परे जति हामीले पाइरहेका छैनौँ," जेलेन्स्कीले भने।

"हामीलाई चाहिने सबै कुरा हामीले पाउँछौँ भन्नेमा म ढुक्क छु। तर समय खेर गइरहेको छ। युक्रेनीहरूको जीवन गइरहेको छ — ती मानिसको ज्यान फेरि फिर्ता आउँदैन।"

प्रतिक्रिया

रासायनिक आक्रमण भएको विवरणबारे यूकेका रक्षामन्त्री जेम्स हीपीले पनि टिप्पणी गरेका छन्।

"केही कुराहरू अस्वीकार्य हुन्छन् अनि रासायनिक अस्त्रको प्रयोगले प्रतिक्रिया पाउँछ," उनले भने, "त्यो प्रतिक्रिया के हुन्छ भन्नेबारे विचार गरिनेछ।"

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गरे "नेटोले प्रतिक्रिया दिने" बताएका थिए।

"प्रतिक्रियाको प्रकृति प्रयोगको प्रकृतिमा भर पर्नेछ," उनले भनेका थिए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभ फर्कँदै मानिसहरू
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: विश्वको सबैभन्दा ठूलो विमानको भग्नावशेष