रुस-युक्रेन युद्ध: के अब विश्वव्यापी आर्थिक मन्दी निम्तिन सक्छ?

सेअर बजार हङ्कङ
    • Author, पाब्लो ओचा
    • Role, बीबीसी विश्व सेवा
  • Published

युक्रेन युद्धका बावजुद विज्ञहरू अहिले पनि यो वर्ष विश्वको अर्थतन्त्रमा वृद्धि हुनेमा विश्वस्त छन्। तर उक्त युद्धको असर विश्वभरि पर्नेछ।

युद्ध कति लम्बिन्छ भन्ने कुराले अर्थतन्त्रमा कति दुष्प्रभाव पर्छ भन्ने निर्धारण गर्नेछ।

त्यसले बजारमा हाल देखिएको उथलपुथल अस्थायी हो वा केही त्योभन्दा स्थायी हुनेछ भन्नेलाई पनि प्रभाव पार्नेछ।

यहाँ हामीले युद्धले कसरी विश्व अर्थतन्त्रलाई प्रभाव पार्छ र के त्यसले आर्थिक मन्दी निम्त्याउँछ भन्नेबारे चर्चा गरेका छौँ।

तपाईँ कहाँ बस्नुहुन्छ भन्ने कुराले फरक असर पार्न सक्छ

युक्रेनबाट पोल्यान्ड आइपुगेका मानिसहरू
तस्बिरको क्याप्शन, युक्रेनको छिमेकी पोल्यान्डले धेरै आर्थिक असरहरूको अनुभव गर्नसक्छ

यूकेस्थित अक्सफर्ड इकनमिक्सका अनुसार रुस र युक्रेनमा युद्धको आर्थिक असर "नाटकीय" हुनेछ।

तर विश्वका अन्य हरेक क्षेत्रमा देखिने असर फरक खालको हुनेछ।

उदाहरणका लागि, पोल्यान्ड र टर्कीको रुससँग महत्त्वपूर्ण व्यापारिक सम्बन्ध छ। त्यसले ती देशको अर्थतन्त्रलाई अरुको तुलनामा बढी असुरक्षित बनाउन सक्छ।

पोल्यान्डले उसलाई आवश्यक पर्नेमध्ये आधा इन्धन रुसबाट आयात गर्छ भने टर्कीले एकतिहाइभन्दा बढी आयात गर्छ।

तर अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको ०.५ प्रतिशत व्यापार मात्र रुससँग हुने गरेको छ। चीनका हकमा भने त्यस्तो हिस्सा २.५ प्रतिशत छ।

त्यसैले गर्दा ती देशहरूमा पर्ने प्रभाव अझ सीमित हुनेछ।

अक्सफर्ड इकनमिक्सको ग्लोबल म्याक्रो रिसर्चका निर्देशक बेन मेले युद्धले यस वर्षको विश्वव्यापी आर्थिक वृद्धिलाई ०.२ प्रतिशतले कम गर्ने प्रक्षेपण गरिएको बताए।

यो वर्षको वृद्धिदर ४ प्रतिशत हुने ठानिएकोमा अब ३.८ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ।

उनले भने, "तर त्यो द्वन्द्व लामो नहुने सर्तमा हो। यदि हामीले धेरै लामो द्वन्द्व भोग्यौँ भने प्रभाव धेरै खराब हुनेछन्।"

मुद्रास्फीति र तेलको मूल्य

पेट्रोलका लागि गाडीको लाइन
तस्बिरको क्याप्शन, टर्कीको अर्थतन्त्रमा पनि युद्धको असर धेरै देखिनसक्छ

युद्धको ठूलो प्रभाव पर्ने अर्को क्षेत्र भनेको तेलको मूल्य हो। तेलको मूल्य अहिले नै उच्च दरमा बढिसकेको छ।

यूएस एनर्जी इन्फर्मेशन एड्मिनिस्ट्रेशनका अनुसार रुस अमेरिका र साउदी अरबपछि तेलको तेस्रो ठूलो उत्पादक हो।

रुसले सन् २०२० मा प्रतिदिन एक करोड ५० लाख ब्यारल तेल निकालेको थियो। त्यसमध्ये ५० देखि ६० लाख ब्यारल तेल निर्यात गरेको थियो।

निर्यात भएको तेलमध्ये आधाजति युरोपमा पठाइएको थियो।

पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाउने कुरा गरेपछि मार्च ७ मा कच्चा तेलको मूल्य करिबकरिब हालसम्मकै उच्चबिन्दुमा पुगेको थियो।

प्रतिब्यारल १४० डलरसम्म पुगेको तेलको भाउ अलिकति कम भएको अवस्था छ।

अमेरिकाले रुसी तेल आयातलाई प्रतिबन्ध लगाएको छ भने यूकेले सन् २०२२ भित्र त्यस्तै गर्ने बताइसकेको छ।

थन्डर शेड एनर्जीका अनुसन्धान प्रमुख रोब वेस्टले फाइनान्शल टाइम्सलाई भनेका छन्, "अवरोधले तेलको मूल्यलाई प्रतिब्यारल २०० डलरसम्म पुर्‍याउन सक्छ।"

मार्च ८ मा रुसका उपप्रधानमन्त्रीले त तेलको भाउ प्रतिब्यारल ३०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

तेलको भाउ बढेपछि इन्धनको मात्र होइन प्राय: सबै कुराको मूल्य बढ्छ। इन्धन र ऊर्जा उत्पादन तथा ढुवानीका आधारभूत कुरा भएकाले खानेकुराको भाउ पनि उच्च हुन्छ।

त्यसले मुद्रास्फीति गराउने कतिपय अर्थशास्त्रीले बताइसकेका छन्।

खानेकुराको मूल्यवृद्धि

कायरोमा ब्रेड बिक्रेता
तस्बिरको क्याप्शन, खानेकुराको भाउ उच्च हुने चिन्ता व्याप्त छ

रुस र युक्रेन दुवै ठूला खाद्यान्न उत्पादक भएकाले युद्धका कारण खानेकुराको भाउ उच्च हुनसक्छ।

रुस र युक्रेन विश्वभरि उत्पादन हुने गहुँमध्ये १४ प्रतिशत उत्पादन गर्छन् र विश्वव्यापी निर्यातको २९ प्रतिशत हिस्सा ओगट्छन्।

यो विवरण जेपी मोर्गन र स्टेलनबोर्श विश्वविद्यालयका एक अध्ययनकर्ताका भनाइमा आधारित छ।

त्यस्तै दुवै देशहरू मकै र सूर्यमुखी तेलका ठूला उत्पादक पनि हुन्।

रुस मल र अन्नको मुख्य निर्यातकर्तामध्ये एक हो
तस्बिरको क्याप्शन, रुस मल र अन्नको मुख्य निर्यातकर्तामध्ये एक हो

अन्नको आपूर्तिमा हुने अवरोधले मध्यपूर्व, अफ्रिका र टर्कीका खरिदकर्ताहरूलाई असर पर्नेछ।

लेबननले उसलाई आवश्यक पर्ने अधिकांश गहुँ रुस वा युक्रेनबाट किन्छ भने इजिप्ट र टर्कीले पनि त्यस्तै गर्छन्।

सुडान, नाइजिरिया, तान्जानिया, अल्जिरिया, केन्या र दक्षिण अफ्रिका पनि रुसी वा युक्रेनी अन्नमा निर्भर छन्।

त्यस्तै ग्यासको मूल्यमा भएको वृद्धिका कारण विश्वव्यापी रूपमै मलको भाउ उच्च भइसकेको छ।

विश्वभरि खाद्यान्न उत्पादनमा मलको प्रयोग हुने भएकाले त्यसको प्रत्यक्ष प्रभाव धेरैतिर पर्छ।

ब्याजदरमा वृद्धि

ब्रजिल

क्यापिटल इकनमिक्समा ग्लोबल इकनमिक्स सर्भिसकी प्रमुख जेनिफर म्याक्वेनका अनुसार ऊर्जा र खाद्यको उच्च मूल्यले आर्थिक रूपमा उदीयमान देशहरूमा मुद्रास्फीति १ प्रतिशत बिन्दुसम्म बढाउने अपेक्षा गरिएको छ।

मुद्रास्फीतिसँग सङ्घर्ष गरिरहेका विशेषगरी मध्ययुरोप र ल्याटिन अमेरिकाका केही देशमा केन्द्रीय ब्याङ्कहरूले ब्याजदर बढाएर मुद्रास्फीतिसँग लड्ने प्रयास गरिरहेका छन्।

"यसले ती अर्थतन्त्रलाई थप भार पार्नेछ," म्याक्वेनले बीबीसीसँग भनिन्।

यसै बेला रुसी ग्यासमा धेरै अति निर्भर पूर्वी युरोप, जर्मनी र टर्कीमा जीवनयापन खर्च महँगो हुनेछ।

उपभोक्ता माग

एसियाली बजार

विश्वव्यापी उपभोक्ता क्रयशक्तिमा पर्ने चापले एशियाली अर्थतन्त्रलाई पनि प्रभावित गर्न सक्ने म्याक्वेन बताउँछिन्।

उनका अनुसार एशियामा मुख्य असर उपभोक्ताको माग र उनीहरूको निर्यातको मागका माध्यमबाट पर्नेछ।

उदाहरणका लागि युरोजोनमा युद्धका कारण तेलको मूल्यमा ठूलो वृद्धि हुँदा त्यसको असर एशियाली निर्यातमा महत्त्वपूर्ण ढङ्गले पर्ने उनको तर्क छ।

आर्थिक वृद्धि

पाकिस्तान सेअर बजार

अर्थतन्त्र महामारीअघिको लयमा फर्किन थालेकाले यो वर्ष एउटा राम्रो आर्थिक वृद्धि हुने विश्लेषकहरूले अझै पनि प्रक्षेपण गरिरहेका छन्।

मेका भनाइमा अर्थतन्त्र पुरानै रूपमा फर्किँदा सामान्यतया त्यसले "अप्रत्याशित" आर्थिक वृद्धि उत्पन्न गर्न सक्छ।

हालसम्म युद्धले केही वृद्धिलाई खतरामा पारेका छन् तर त्यसको प्रभाव युद्ध कति लामो समयसम्म जान्छ र कति खराब कुराहरू हुन्छन् भन्नेमा निर्भर गर्छ।

मे भन्छन्, "यो त्यस्तो कुरा होइन, जसले विश्व अर्थतन्त्रलाई मन्दीतर्फ धकेलिरहेको छ वा भनौँ यो त्यस्तो होइन।"

तर उनी यो अवस्थालाई स्वीकार्छन् र भन्छन्, "यसले सामान्यतया अनिश्चितता उत्पन्न गर्छ।"

"अनि यो सबै कतिसम्म माथि पुग्छ भन्ने थाहा छैन।"