नेपाल बस दुर्घटनाः सङ्खुवासभाबाट झापा हिँडेको बस बाटोबाट २०० मिटर तल खस्यो, कम्तीमा १५ जनाको मृत्यु

सङ्खुवासभा बस दुर्घटना
तस्बिरको क्याप्शन, बस बाटोबाट २०० मिटर तल खसेको बताइएको छ
Published

पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा बिहीवार बिहान एउटा बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने, "त्यहाँनिर बाटो घुमाउरो र भिरालो भएकाले त्यो खतरायुक्त नै रहेको देखियो। आज गाडीधनीले नै गाडी चलाएका कुरा समेत सुनिएको छ।"

चालकको समेत मृत्यु भइसकेकाले दुर्घटनाको स्पष्ट कारण अझै आइनसकेको खतिवडाले बीबीसीलाई बताए।

यसअघि बिहानै उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि धरान र केहीलाई चैनपुर लगिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बीबीसीलाई बताएका थिए।

"तीन जनालाई धरानतर्फ र बाँकीलाई चैनपुर पठाइएको भन्ने छ," सुवेदीले थपे।

Map

'२०० मिटर तल खस्यो'

बसमा कति मानिस सवार थिए र दुर्घटना कसरी भयो भन्ने कुरा अहिले यकिन हुन नसकेको उनले बताए।

झापाको दमकतर्फ जाँदै गरेको बस सङ्खुवासभाको मादी नगरपालिकामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

सङ्खुवासभा बस दुर्घटना

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार बिहान साढे सात बजेतिर दुर्घटना भएको थियो।

"सङ्खुवासभाको मादी नगरपालिका-६ ओखरबोटेका गुडेको ना ४ ख ७३५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो," उनले भने।

घिमिरेका अनुसार बीच बाटोमा थप यात्रु चढे वा ओर्लेको बारेमा अझै यकिन हुन सकेको छैन।

"तर थप यात्रु चढेको सम्भावनालाई नकार्न सकिँदैन। त्यही भएर खोजी कार्य जारी राखिएको छ," उनले थपे।

Getty Images
सडक सुरक्षासम्बन्धी तथ्याङ्क

नेपालमा एक लाख जनाको मृत्यु हुँदा १६ जनाको मृत्यु सडक दुर्घटनाका कारण हुन्छ

  • १३ लाख मानिसको विश्वभरि सडक दुर्घटनामा परेर मृत्यु हुन्छ

  • ९३%घातक दुर्घटनाहरू निम्न र मध्यम आय भएका देश हुन्छन्

  • जीडीपीको ३% क्षति अधिकांश देशलाई सडक दुर्घटनाका कारण पुग्छ

  • ७३%सडक दुर्घटनासँग सम्बन्धित मृत्युमा २५ वर्षमुनिका पुरुष पर्छन्

स्रोतः WHO
  • बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या: साढे १३ लाख
  • विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
  • दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्या: ३७००
  • अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
  • न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
  • सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
  • नेपालमा प्रति १ लाखमा लगभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
  • सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति