चीन: जेलबाट भागेका उत्तर कोरियाली नागरिक ४० दिनको खोजीपछि पक्राउ

उत्तर कोरियाबाट भागेका नागरिक
Published

चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ परेका छन्।

चिनियाँ प्रहरीले जारी गरेको एउटा सङ्क्षिप्त विज्ञप्तिमा चिनियाँ नाम जू श्यान्जिएन उल्लेख गरिएका ती ३९ वर्षीय पुरुष आइतवार पक्राउ परेका जनाइएको छ।

उनी सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन गएका थिए। उनलाई अवैधानिक रूपमा चीन प्रवेश गरेको र चोरी तथा लुटपाट गरेको अभियोगमा एउटा अदालतले दोषी ठहर गरेको थियो।

जिलिनस्थित एउटा जेलबाट भागेपछि उनलाई पक्राउ गर्न सूचना उपलब्ध गराउने व्यक्तिलाई ठूलो पुरस्कार दिने घोषणा गरिएको थियो।

सरकारले सञ्चालन गरेको बेङ्जिङ न्यूजले सार्वजनिक गरेको फुटेजमा अक्टोबर १९ को राति उनी जेलको छतमा गएको र उफ्रेर विद्युतीय बार नाघेको देख्न सकिन्छ।

भिडिओमा जेलका सुरक्षार्थ खटिएका अधिकारीहरूले उनलाई पछ्याउन खोजेको देख्न सकिन्छ। उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो।

सरकारी निकायहरूले ती भागेका व्यक्तिसम्म पुग्न सकिने सूचना दिनेका लागि पुरस्कार राशि बढाएर १,०९,००० अमेरिकी डलर दिने घोषणा गरेका थिए।

जूलाई सुरुमा गैरकानुनी रूपमा चीनमा प्रवेश गरेको र उत्तर कोरियाबाट भागेपछि चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा जेल सजाय गरिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाबाट भागेपछि ‘सेलिब्रिटी’ बनेकी नारा

अदालतको दस्ताबेजअनुसार सन् २०१३ मा उनी उत्तर कोरिया र चीनलाई छुट्ट्याउने नदी तरेका थिए र नजिकैका गाउँबाट पैसा, मोबाइल फोन र कपडा चोरेका थिए।

उनलाई चिन्ने एक वृद्धालाई जूले चक्कु प्रहार गरेका थिए। प्रहरीले पक्राउ गर्नुअघि उनले ट्याक्सी चढेर भाग्ने प्रयत्न गरेका थिए।

जूले नौ वर्ष लामो जेल सजाय काटिसकेका थिए। उनको सजाय पूरा हुन दुई वर्ष मात्र बाँकी थियो।

जेल सजाय पूरा भएपछि उनलाई स्वदेश फिर्ता गराउने चीनको योजना छ। आफू उत्तर कोरिया फर्कनु नपरोस् भनेर उनी भागेको कतिपयको अनुमान छ।

सन् १९५१ को शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय महासन्धिको एउटा पक्ष भए पनि चीनले उत्तर कोरियालीहरूलाई जबरजस्ती सुपुर्दगी गर्ने गरेको छ।

महासन्धिले शरणार्थीहरूलाई दुःख वा यातना दिइने सम्भावना रहे उनीहरूलाई फिर्ता नपठाउन बाध्य पार्छ।

चीनले देश छोड्नेहरूलाई शरणार्थी नभई अवैध आप्रवासीको रूपमा हेर्छ जसले त्यस्ता व्यक्तिहरूलाई अपराधीका रूपमा हेर्ने बाटो खुला गरिदिन्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, शत्रुलाई सन्देश दिन उत्तर कोरियाली सैनिकले यसरी युद्धकला देखाए