कोभिडः महामारीको त्रास बढेको बेला युरोपका विभिन्न देशमा किन फैलियो दङ्गा

दङ्गा फैलिएको सडकमा प्रहरी
तस्बिरको क्याप्शन, गत सप्ताहान्त युरोपका केही सहरमा प्रदर्शनकारीहरूले सवारीसाधनमा आगो लगाइदिए
Published

केही महिनाअघि युरोपमा कोभिड महामारी सुरु भएयता सङ्क्रमणको सङ्ख्या सबैभन्दा न्यून बिन्दुमा पुगेको थियो।

तर साता युरोपका विभिन्न देशका सहरहरूमा दङ्गाहरू भए।

महामारी व्यवस्थापनप्रति असन्तुष्ट प्रदर्शनकारीहरूले सवारीसाधनमा आगो लगाइदिए भने उनीहरूलाई रोक्न दङ्गा प्रहरी परिचालन गरियो।

युरोपमा फैलिएको आक्रोशको कारण यस्तो छ।

युरोपमा के भएको हो?

दङ्गाका बेला नेदरल्यान्ड्समा प्रहरीमाथि पटाका र ढुङ्गा प्रहार भयो
तस्बिरको क्याप्शन, दङ्गाका बेला नेदरल्यान्ड्समा प्रहरीमाथि पटाका र ढुङ्गा प्रहार भयो

गत सप्ताहान्तमा युरोपका कैयौँ देशका सडकमा हिंसात्मक प्रदर्शनहरू भएका थिए।

नेदरल्यान्ड्समा प्रदर्शनकारीहरूको प्रहरीसँग झडप भएको थियो।

उनीहरूले प्रहरीमाथि आगो र पटाका प्रहार गरेका थिए र सवारीसाधनहरू पनि जलाइदिएका थिए।

उनीहरूलाई रोक्न प्रहरीले घोडा, लट्ठी, पानीको फोहोरा र हवाईफायर प्रयोग गरेको थियो।

डच प्रधानमन्त्री मार्क रुटले बारम्बार रातको समयमा अस्थिरता भएपछि त्यसलाई "हिंसा" को सङ्ज्ञा दिएका छन्।

बेल्जियममा पनि ठूलो स्तरमा भएको विरोधर्‍याली हिंसात्मक झडपमा परिणत भयो। प्रहरीको गाडी तोडफोड गरेपछि प्रदर्शनकारीहरू माथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरिएको थियो।

शनिवार अस्ट्रियाको राजधानी भियनामा ४०,००० मानिसहरू विरोधर्‍यालीमा सहभागी भएका थिए।

इटली, डेनमार्क र क्रोएशियामा पनि प्रदर्शनहरू भएका छन्।

बेल्जियमामा दङ्गा प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो
तस्बिरको क्याप्शन, बेल्जियमामा दङ्गा प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो

मानिसहरू किन आक्रोशित छन्?

छोटकरीमा भन्नुपर्दा कोभिड-१९ विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाका कारण मानिसहरू रिसाएका छन्।

कोभिडका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागु गरेको छ।

त्यहाँ बार र रेस्टुराँहरू चाँडै बन्द गर्नुपर्ने हुन्छ र खेलकुद कार्यक्रम हुने स्थलमा भिडलाई निषेध गरिएको छ।

बेल्जियममा मास्क लगाउनुपर्ने नियमलाई कडा बनाइएको छ।

कोभिड पास अनिवार्य गरिएको रेस्टुराँजस्ता स्थानमा समेत मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ।

त्यस्तै डिसेम्बरको मध्यसम्म अधिकांश मानिसहरूले हप्ताको चार दिन घरबाटै काम गर्नुपर्नेछ।

जर्मनी, ग्रीस अनि चेक रिपब्लिकमा पनि यस्तै किसिमका व्यवस्थाहरू लागु भइसकेको वा हुने क्रममा छन्।

सबैभन्दा कडा व्यवस्था अस्ट्रियामा लागु भएको छ।

‍अस्ट्रियामा खोप अनिवार्य बनाइएको छ
तस्बिरको क्याप्शन, ‍अस्ट्रियामा कोभिड खोपलाई अनिवार्य बनाइएको छ

देशव्यापी लकडाउनबाहेक कोभिड-१९ विरुद्धको खोपलाई अनिवार्य कानुनी प्रावधानका रूपमा अघि सार्ने अस्ट्रिया पहिलो मुलुक बनेको छ।

उक्त कानुन फेब्रुअरी महिनाबाट कार्यान्वयनमा आउनेछ।

चरम विरोध भएको भए पनि अस्ट्रियाका चान्सलर एलेक्जान्डर स्यालेन्बर्गले यी व्यवस्था आवश्यक भएको टिप्पणी गरेका छन्।

"खोपका कट्टर विरोधी अनि मिथ्या समाचारका कारण हामीमध्ये धेरैले खोप लगाएका छैनौँ," उनले भने।

"त्यसको नतिजा सघन उपचार कक्षहरूमा बिरामीको भिड अनि व्यापक कष्ट हो।"

युरोपमा कोभिड

अहिले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिनुको कारण के हो?

उक्त क्षेत्रमा कोभिड सङ्क्रमणमा व्यापक वृद्धि देखिएसँगै नयाँ व्यवस्थाहरूको सार्वजनिक गरिएको हो।

विश्वका अन्य क्षेत्रहरूको तुलनामा खोपको पूर्ण मात्रा लगाएका मानिसको सङ्ख्या उच्च रहे पनि केही सातामा कोभिड पुष्टि भएका मानिसको सङ्ख्यामा वृद्धि देखिएको छ।

साप्ताहिक तथ्याङ्क हेर्दा जर्मनी र नेदरल्यान्ड्समा चारगुना वृद्धि देखिएको छ भने गत महिनायता अस्ट्रियामा कोभिड पुष्टि हुने दर पाँचगुना बढेको छ।

विश्व स्वास्थ्य सङ्गठनका युरोप क्षेत्रका निर्देशक डा. हान्स क्लुगले तत्काल कदम नचाले मार्च महिनासम्ममा थप पाँच लाख जनाको मृत्यु हुन सक्ने बीबीसीलाई बताएका छन्।

उनले आफू "निकै चिन्तित" रहेको पनि बताए।

युरोपेली राष्ट्रहरूले लागु गरेका अधिकांश व्यवस्थाप्रति उनले समर्थन व्यक्त गरेका छन्।

केही देशमा खोप पास प्रयोग गर्न थालिएको छ
तस्बिरको क्याप्शन, केही देशमा खोप पास प्रयोग गर्न थालिएको छ

तर अस्ट्रियामा जस्तो अनिवार्य खोपको व्यवस्थालाई भने "अन्तिम उपाय"' का रूपमा हेरिनुपर्ने उनको भनाइ छ।

त्यस विषयमा "कानुनी अनि सामाजिक बहस" होस् भन्ने उनको इच्छा छ।

डा. क्लुगले मास्क लगाउने अनि कोभिड पासको व्यवस्थाको वकालत गरेका छन्।

सङ्क्रमण व्यापक रूपमा बढ्नुको कारण के हो?

विभिन्न देशमा यसका विभिन्न कारण छन्।

डा. क्लुगका अनुसार जाडो मौसम, खोप भण्डारण गर्ने कम क्षमता अनि बढी सङ्क्रामक रहेको भनिएको कोभिड-१९ को डेल्टा भेरिअन्टको यो क्षेत्रमा देखिएको प्रभाव यसका कारण हुन्।

त्यस्तै सङ्क्रमण दर घटेको र खोप लगाउने मानिसको सङ्ख्या बढेको अवस्थामा कैयौँ युरोपेली राष्ट्रहरूले सामाजिक दूरी र मास्कसम्बन्धी नियमहरू खुकुलो पारिदिएका थिए।

तर खोप लगाएका मानिसमा पनि डेल्टा भेरिअन्ट तीव्र गतिमा सर्न सक्ने देखिएको छ।

कोभिडका बिरामीको उपचार गर्दै
तस्बिरको क्याप्शन, खोपले मानिसको ज्यान जोगाइरहेको देखिन्छ

के कोभिडबाट मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको छ?

यो सन्दर्भमा भने अवस्था केही सुखद छ।

खोपले मानिसहरू गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान गुमाउनेको सङ्ख्या केही हदसम्म रोकेको देखिन्छ।

महामारी फैलिएका बेला यसअघि कोभिड पुष्टि हुने मानिसको सङ्ख्या बढ्दा मृत्युदर पनि बढेको थियो।

तर खोप वितरण भएसँगै सङ्क्रमित हुनेको सङ्ख्याको तुलनामा निकै कम मानिसहरूको यो भाइरसका कारण मृत्यु भएको छ।